वसन्तपुरमा लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्वीरहरू)

वसन्तपुरमा लिङ्गो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं : काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा बुधबारबाट सुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी मनाइने यो पर्व आगामी आठ दिनसम्म मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन बिहान धार्मिक विधिपूर्वक काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि इन्द्रध्वजासहितको यःसी (लिङ्गो) ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा सुरु भएको छ।

यःसी ठड्याएपछि आठ दिनसम्म उपत्यकाका विभिन्न स्थानमा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ। नेवार समुदायमा 'येँया' भनेर चिनिने यो पर्वलाई इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा समेत लिइन्छ।

जात्रामा यःसी ठड्याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा ठड्याउन थालिएको विश्वाश गरिन्छ। त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअघि यसरी नै यःसी ठड्याइन्थ्यो भन्ने भनाइ छ। यःसीलाई उल्लास, विजय र उत्सवका रूपमा हेर्ने गरिन्छ।

इन्द्रजात्राको मुख्य रथयात्रा असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ। त्यस दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ। सोही दिन कुमारी, गणेश र भैरवलाई रथारोहण गराएर पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा समेत गराइन्छ।

असोज ७, २०८३ बुधबार १४:३९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।