चाडबाडको मुखैमा आकाशियो महँगी, रायो साग किलोको २७० पुग्यो, चिनी १७०

चाडबाडको मुखैमा आकाशियो महँगी, रायो साग किलोको २७० पुग्यो, चिनी १७०

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले तरकारी, खाद्यान्न, मासु, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण मारमा परेको बताइन्।

उनले बजारमा रायोसाग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु करिब ५०० रुपैयाँ तथा खसी–बोकाको मासु १ हजार ७०० रुपैयाँभन्दा बढी पुगेको उल्लेख गरिन्।

उनले भनिन्, "आज तरकारी किन्न जाँदा रायोसाग प्रतिकेजी २७० पुगेछ। चिनी प्रतिकेजी १७०, आलु, प्याज, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन आकाशिएको छ। कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ।"

मूल्यवृद्धिबारे प्रश्न गर्दा सरकार र सरकार निकट व्यक्तिबाट विगत ३५ वर्षमा के गरियो भन्ने जवाफ आउने गरेको भन्दै उनले पछिल्लो समय मध्यपूर्वको युद्ध तथा सडक अवरोधजस्ता बाह्य कारण देखाएर सरकार पन्छिन नमिल्ने बताइन्। उनले चाडपर्वका बेला ग्यासको हाहाकार कायमै रहेको भन्दै बजार अनुगमन र सहजीकरण गर्न सरकारसँग माग गरिन्।

सांसद शर्माले कालोबजारी र मूल्य नियन्त्रण गर्न राज्यका संयन्त्रहरू असफल भएको आरोप लगाइन्।

उनले भनिन्, "किन यति महँगो भनेर सोध्यो भने सरकार र सरकारनिकट व्यक्तिहरूको डाइरेक्ट जवाफ आउँछ, ३५ वर्ष के गर्यौं? अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर बाहिरी कारणले हो नि, सरकारको हो र भनिन्छ। ग्यासको हाहाकार त यथावत् नै छ। दसैं, तिहार र छठजस्ता चाडपर्वको मुखमा मूल्य निरन्तर उकालो लागेको छ। कालोबजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुको सहजीकरण गर्नुपर्दैन र?"

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले केही दिन थप वर्षा र बाढीपहिरोको जोखिम औँल्याएको सन्दर्भमा सांसद शर्माले सरकारको विपद् पूर्वतयारीमाथि पनि प्रश्न उठाइन्। विगतमा भोटेकोशी क्षेत्रमा जस्तै जनताले क्षति भोग्न नपरोस् भन्दै उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह गरिन्।

असोज ७, २०८३ बुधबार १३:२२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।