त्रिशूलीमा तुइन तर्न ५ घण्टाको सास्ती, उज्यालो नहुँदै टोकनको लाइन लाग्छन् स्थानीय!
नुवाकोट : भदौ १० गतेको बाढीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीका पुलहरू बगाएको २४ दिन बितिसक्दा पनि सरकारले आवतजावतको विकल्प नदिएपछि नुवाकोटका त्रिशूलीवासी आन्दोदित भएका छन्।
नदी वारिपारि गर्न नागरिकले सास्ती भोग्नुपरेको र बजारमा कालोबजारी चरम उत्कर्षमा पुगेको भन्दै स्थानीयले शनिबार सरकारविरुद्ध दबाबमूलक र्याली निकालेका हुन्।
बाढीले त्रिशूली बजारमा रहेको मुख्य पक्की पुलसहित नदीका रहेका करिब ४० वटा पक्की र झोलुङ्गे पुल बगाएको थियो। पुल चुँडिएसँगै त्रिशूली नदीको वारि र पारिको सम्बन्धविच्छेद भएको छ।
२४ दिनसम्म पनि सरकारले अस्थायी संरचना (बेलिब्रिज) बनाउने सुरसार नै नगरेपछि बाध्य भएर सडकमा आउनुपरेको स्थानीय अगुवा रमेश श्रेष्ठले बताए।

‘यो विरोध मात्र होइन, सरकारलाई झक्झकाउने दबाबमूलक कार्यक्रम हो,’ र्यालीमा सहभागी विदुर-९ का श्रेष्ठले भने, ‘हामीलाई अहिले मान्छे मात्र तर्ने तुइन होइन, सवारीसाधन नै वारिपारि गर्न सक्ने बेलिब्रिज चाहिएको छ। त्यसपछि तत्काल पक्की पुल निर्माणको प्रक्रिया थालियोस्।’
तुइन तर्न ५ घण्टाको लाइन, आफैँले तान्नुपर्ने सास्ती
पुल बगेपछि स्थानीय प्रशासनको पहलमा त्रिशूली नदीमा दुईवटा अस्थायी तुइन सञ्चालनमा ल्याइएको छ।
तर, हजारौं नागरिकको चापका कारण तुइन तर्नु ‘युद्ध जिते’ सरह भएको छ। स्थानीयले एउटा तुइनबाट पारि तर्न कम्तीमा ४ देखि ५ घण्टा लाइन बस्नुपर्ने बाध्यात्मक अवस्था छ।
स्थानीय शिक्षक बैकुण्ठराज रिजालले शनिबार बिहान भोगेको सास्ती सुनाउँदै भने, ‘हामी बिहान साढे ५ बजे नै टोकन लिएर लाइनमा बस्यौँ। मेरो पालो ६६ नम्बरमा थियो। बिहान साढे ५ बजे लाइन बसेको मान्छेले साढे १० बजेपछि मात्र पारि तर्न पायौँ।’
सुरुवाती दिनमा नेपाली सेना र प्रहरीले तुइन तान्न सहयोग गरे पनि अहिले सुरक्षाकर्मीको उपस्थिति कम हुँदा लाइन बस्ने सर्वसाधारण आफैँले पाखुरा बजारेर तुइन तान्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।

बिहानै टोकन लिएर बेच्ने ‘बिचौलिया’
संकटको यस्तो घडीमा तुइनको पालो (टोकन)मै विकृति सुरु गरेका छन्। ५ घण्टासम्म लाइन बस्नुपर्ने बाध्यताको फाइदा उठाउँदै केही व्यक्तिहरू बिहान ४ बजे नै पुगेर अगाडिको टोकन लिने र पछि आउने यात्रुहरूलाई बेच्ने गरेको पाइएको छ।
‘यस्तो विपद्मा पनि मान्छेले कमाउधन्दा चलाएका छन्,’ स्थानीय श्रेष्ठले भने, ‘बिहानै ४ बजे पुगेर अगाडिको टोकन हात पार्ने र त्यो टोकन हतार भएकाहरूलाई बेच्ने विकृति समेत बढेको छ।’
विपद्मा नागरिकले भोगेको अमानवीय सास्तीमाथि बिचौलियाले खेलबाड गर्दासमेत स्थानीय प्रशासन मुकदर्शक बनेको पीडितहरूको गुनासो छ।

पुल नहुँदा स्वास्थ्य सेवामा गम्भीर असर परेको छ। विदुरतर्फ रहेका नागरिकहरू पारिपट्टि रहेको त्रिशूली अस्पतालसम्म पुग्न सकेका छैनन्। यस्तै, त्रिशूली अस्पतालले गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौं रिफर गर्दा एम्बुलेन्सले सिधै जान पाउँदैनन्।
पहिला दुई घण्टामा काठमाडौं पुग्ने बिरामीलाई अहिले धादिङको गल्छी हुँदै घुमाउरो बाटो लैजाँदा ७ देखि ८ घण्टा लाग्ने गरेको छ। समयमै अस्पताल पुर्याउन नसक्दा बिरामीको ज्यानै जाने जोखिम बढेको छ।
ग्यास र पेट्रोलमा कालोबजारी, २० प्रतिशतसम्म महँगी
सवारीसाधनको आवागमन ठप्प हुँदा त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको छ। स्थानीय रमेश श्रेष्ठका अनुसार अहिले त्रिशूलीपारिको क्षेत्र पूर्ण रूपमा नाकाबन्दी जस्तै अवस्थामा छ।
‘ढुवानी हुन नसकेको बहानामा बजारमा कालोबजारी सुरु भइसकेको छ। ग्यास र पेट्रोलियम पदार्थमा डिलरहरूले मनपरी मूल्य लिइरहेका छन्,’ श्रेष्ठले भने, ‘दैनिक उपभोग्य वस्तुहरूमा २० प्रतिशतभन्दा बढी महँगी बढिसक्यो। किसानले उत्पादन गरेको तरकारी र दूध बजारसम्म पुर्याउन नपाएर कुहिन थालेको छ। जनता चौतर्फी मारमा पर्दा पनि सरकारले हाम्रो आँसु देखेन।’
शनिबार नदी किनारमा भेला भएका सयौं स्थानीयले प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले ‘बन्धक भएर कति दिन बस्ने त्रिशूलीवासी ?’, ‘कृषकको उत्पादन बजारसम्म पुर्याइदेऊ’, ‘२४ दिनदेखि पुलविहीन जनता, अब ढिलाइ स्वीकार्य छैन’, ‘विद्यार्थीलाई विद्यालय जाने बाटो देऊ’, ‘स्वास्थ्य सेवाबाट वञ्चित नगर’ र ‘तत्काल अस्थायी आवतजावतको व्यवस्था गर’ लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका थिए।
राज्यले त्रिशूलीपारिका नागरिकलाई बेवास्ता गरेर दुर्गमको जस्तो व्यवहार गरेको उनीहरूको आरोप छ। सरोकारवाला निकायले तत्काल बेलिब्रिज जडान गरी सवारीसाधन सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ।
बेलिब्रिज निर्माण अध्ययनमा मात्रै सीमित
त्रिशूली वारीपारी गर्नका लागि विदुर नगरपालिकाले अस्थायी संरचना बनाउने भने पनि अहिलेसम्म कागजमै सीमित भएको छ। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले अध्ययनको काम भइरहेको भन्दै भिडियो सार्वजनिक गरेकी छन्।
उनले हालै फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा अध्ययन भइरहेको दाबी गर्दै पहिला २० मिनेटमा पुगिने बाटो अहिले चार घण्टा लगाएर यात्रा गर्न सुझाएकी छन्।
उनले भनिन्, ‘विदुर-७, तुप्चेबाट विदुर तीन घण्टामा पुग्न सकिने रहेछ। अहिले तत्काललाई त्यही बाटो प्रयोग गरिरहेको छु मैले। विकल्पका बाटाहरू छन् तर सहज भने छैन।’
त्रिशूली नदीमा बेलिब्रिजबारे अध्ययन भइरहेको र प्राविधिक रूपमा जटिल रहेको विषय अध्ययन टोलीले आफूलाई सुनाएको उनको भनाइ छ।
असोज ३, २०८३ शनिबार १२:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।