दुई करोडको स्रोत नखुलेपछि वरिष्ठ स्वास्थ्य प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : स्वास्थ्य सेवा विभागका तत्कालीन दशौं तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक पदको दुरुपयोग गरी करिब दुई करोड चार लाख स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएपछि डा. सापकोटा र उनकी श्रीमती निरजा पण्डितलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको अख्तियारले जनाएको हो।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका आकर्षक कार्यालयहरूमा कार्यरत रहँदा डा. सापकोटाले काठमाडौंलगायतका प्रमुख शहरहरूमा महँगा घडेरी, भव्य घर तथा सवारी साधन खरिद गरी पदीय हैसियतभन्दा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
उनी सेवा प्रवेश गरेको मिति २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको अवधिलाई ‘जाँच अवधि’ कायम गरी उनको र एकासगोल परिवारको वैध आय तथा खर्चको तुलनात्मक विश्लेषण गरेको अख्तियारले जनाएको छ।
उक्त अवधिमा उनले पारिश्रमिक/तलब बचत, बैठक, प्रोत्साहन तथा दैनिक भ्रमण भत्ता बचत, सवारी साधन, जग्गा तथा सेयर बिक्री, घरबहाल, ऋण, कृषि, बिरामी जाँच, छात्रवृत्ति, एकासगोल आय, सेवा पूर्व आय र नगद लाभांशसमेत गरी कुल तीन करोड ३५ लाख रुपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिन्छ।
सोही अवधिमा उनको परिवारले जग्गा खरिद, घर निर्माण तथा खरिद, सेयर तथा सवारी साधन खरिद, कर्जा तथा बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सुन तथा विद्युतीय उपकरण खरिद, आमाको हेरचाह, निजी प्रयोजनको विदेश भ्रमण, पहिलो श्रीमतीलाई दिएको खर्च, नगद तथा बैंक मौज्दात गरी कुल पाँच करोड ३९ लाख बढी रकम खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ।
कुल आयभन्दा कुल खर्च तथा लगानी बढी भई स्रोत पुष्टि हुन नसकेको दुई करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएको आरोप पत्रमा उल्लेख छ। उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा जरिवाना, कैद र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग गरिएको छ।
साथै, वास्तविक सम्पत्तिको विवरण नलुकाई वा नछिपाई पेस गर्नुपर्नेमा झुट्टा विवरण पेस गरी सम्पत्ति लुकाएको समेत पुष्टि भएको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम थप कैद, जरिवाना तथा लुकाइएको सम्पत्ति जफतको मागदाबी गरेको छ।
डा. सापकोटाले सार्वजनिक सेवामा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती निरजाको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई प्रतिवादी कायम गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
असोज २, २०८३ शुक्रबार १९:४४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।