इन्टरनेट मर्मतमा लापरबाही गरेको क्लासिक टेकले ग्राहकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने

इन्टरनेट मर्मतमा लापरबाही गरेको क्लासिक टेकले ग्राहकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ४१ दिनसम्म सेवा अवरुद्ध हुँदा पनि मर्मत नगरेर उपभोक्तालाई सास्ती दिएको ठहर गर्दै उपभोक्ता अदालतले पीडित ग्राहकको पक्षमा फैसला सुनाएको छ।

अदालतले कम्पनीबाट ग्राहकलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।

उपभोक्ता अदालतका न्यायाधीशद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा आंशिक दाबी पुग्ने फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी होमनाथ कँडेलले पीडित ग्राहक शिवप्रसाद पौड्याल (शिव प्रकाश) लाई कम्पनीबाट अढाई लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय भएको जानकारी दिए।

फैसलाको पूर्णपाठ आउन तीन साता लाग्ने र संक्षिप्त विवरण भने शुक्रबार नै सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

यसअघि गत भदौ ५ गते सोही इजलासले दुवै पक्षबीच मेलमिलापका लागि पठाउने आदेश दिएको थियो। तर, क्लासिक टेकले क्षतिपूर्ति नदिने र त्यसको साटो एक वर्षको इन्टरनेट सेवा मात्र उपलब्ध गराउने अडान राखेपछि मेलमिलाप हुन सकेको थिएन।

‘मैले अर्कै कम्पनीबाट इन्टरनेट जोडिसकेको थिएँ, त्यसैले क्षतिपूर्ति नदिई एक वर्षको इन्टरनेट मात्र दिने कम्पनीको प्रस्ताव मलाई स्वीकार्य भएन’, पीडित पौड्यालले उकेरासँग भने।

के थियो घटना?
अदालतमा दर्ता भएको फिरादपत्रअनुसार सन्तोष पौडेलको नाममा १४ अप्रिल २०२३ मा एक वर्षका लागि ६ हजार ३९८ रुपैयाँ तिरेर क्लासिक टेकको इन्टरनेट जडान गरिएको थियो।

त्यसपछि १४ अप्रिल २०२४ मा पुनः ५ हजार ९७८ रुपैयाँ भुक्तानी गरी अर्को एक वर्षका लागि सेवा नवीकरण गरियो । तर, नवीकरण भएको केही दिनमै अर्थात् २२ अप्रिलदेखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भयो।

इन्टरनेट बिग्रिएपछि मर्मतका लागि पटक-पटक ताकेता गर्दा पनि कम्पनीले चरम लापरबाही र गैरजिम्मेवार व्यवहार देखाएको आरोप फिरादपत्रमा लगाइएको छ।

मर्मत टोलीले कहिले बिजुलीको पोल सारेको त कहिले अर्को कम्पनीले तार काटेको बहाना बनाउँदै पन्छिने गरेको, कर्मचारीले फोन होल्डमा राखेर काटिदिने गरेको तथा ह्वाट्सएपमा झुटो सूचना दिने गरेको उल्लेख छ।

यसबाहेक, कम्पनीका कर्मचारीहरू सीमा केसी र कृशल खड्गीले व्यक्तिगत क्युआर कोड प्रयोग गरी भुक्तानी लिएको विवरणसमेत प्रमाणका रूपमा पेस गरिएको थियो। यस्तै समस्या सन्तोषका भाइ फणिन्द्रप्रसाद पौड्यालले पनि भोग्नुपरेको र ११ हजार भुक्तानी गर्दा पनि सेवा नदिइएको फिरादमा उल्लेख थियो।

समस्या समाधानका लागि पीडित पौड्यालले क्लासिक टेकलाई पचासौं पटक फोन र म्यासेज गर्दा पनि सुनुवाइ नभएपछि विभिन्न निकायको ढोका ढक्ढकाएका थिए। उनले प्रहरी, जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल दूरसञ्चार प्राधिकरण, हेलो सरकार, सञ्चार मन्त्रालय र सांसदहरूसम्म पुगेर आफ्नो गुनासो राखेका थिए।

गत वैशाख १७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँदा मन्त्रीबाट आश्वासन पाए पनि कम्पनीले अटेरी गरेको थियो । उता ‘हेलो सरकार’मा दिइएको उजुरीमा भने सम्बन्धित निकायले ‘समस्या समाधान भइसक्यो’ भनी झुटो रिपोर्ट पठाएको पौड्यालको आरोप छ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको रोहबरमा वैशाख २५ गते भएको छलफलमा सेवा अवरुद्ध हुँदा मोबाइल डेटा चलाउनुपरेको खर्च र मानसिक तनावबापत १० हजार रुपैयाँ मात्र क्षतिपूर्ति माग्दा पनि क्लासिक टेकका प्रतिनिधि सुशीलसिंह थापाले अस्वीकार गरेका थिए।

कम्पनीको नीतिमा क्षतिपूर्ति दिने प्रावधान नभएको भन्दै उनले पन्छिन खोजेका थिए।

सम्बन्धित सबै निकायमा अधिकार र जिम्मेवारी हुँदाहुँदै पनि उनीहरू निरीह देखिएपछि पौड्यालले रिफन्डको पर्खाइमा ४० दिन बिताए। ४१ औं दिनमा उनले 'उपभोक्ता हित संरक्षण मञ्च'मार्फत उपभोक्ता अदालतमा १० लाख क्षतिपूर्ति माग गर्दै फिरादपत्र दर्ता गराएका थिए।

अदालतको फैसलापछि प्रतिक्रिया दिँदै पौड्यालले यो कानुनी लडाइँ पैसा वा व्यक्तिगत क्षतिका लागि मात्र नभई उपभोक्ता अधिकार स्थापित गर्न र चेतना फैलाउनका लागि भएको बताए।

‘कहिलेकाहीँ एउटा व्यक्तिको आवाज व्यक्तिगत गुनासोमा सीमित हुँदैन, त्यो धेरै मानिसको साझा आवाज बन्न सक्छ,’ उनले भने, ‘मेरो यो प्रयास पनि त्यही विश्वासबाट प्रेरित छ।’

असोज २, २०८३ शुक्रबार १२:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।