चालु आर्थिक वर्षको दुई महिनामा सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

चालु आर्थिक वर्षको दुई महिनामा सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको कुल आम्दानीभन्दा खर्च करिब नौ अर्ब ७२ करोडले बढी देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा सरकारले एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख अर्थात वार्षिक लक्ष्यको ९.४१ प्रतिशत खर्च गर्दा कुल राजस्व भने एक खर्ब ९० अर्ब १० करोड ७९ लाख अर्थात वार्षिक लक्ष्यको ११.५८ प्रतिशत मात्र सङ्कलन भएको छ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको हो ।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत अर्थात् सात अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ।

वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख बराबर खर्च भएको देखिएको हो।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ। भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ।

पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब नौ अर्ब ७२ करोडले बढी रहेको छ। कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल  १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख उठेको छ। चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ।

असोज १, २०८३ बिहीबार ११:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।