पत्रकार अर्यालको पुस्तक ‘नेपाल-जापान खेल सम्बन्ध’ जापानमा विमोचन
काठमाडौं : खेल पत्रकार नवीन अर्यालद्वारा लिखित पुस्तक ‘नेपाल-जापान खेल सम्बन्ध’ जापानको नागोयामा विमोचन गरिएको छ।
जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पुस्तकको विमोचन गरेका हुन्।
पुस्तकमा नेपाल र जापानबीच ७५ वर्षअघि सुरू भएको खेलकुद सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र तथ्यहरूलाई समेटिएको छ।
विमोचन कार्यक्रममा कार्यवाहक राजदूत पौडेलले दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्षअघि नै खेलकुदका माध्यमबाट नेपाल र जापान जोडिएको रोचक तथ्य पुस्तकबाट थाहा पाएको बताए।
उनले यो पुस्तक द्विपक्षीय सम्बन्धका लागि ‘कोसेढुङ्गा’ साबित हुने धारणा राखे।
समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद गौचनले खेलकुदको माध्यमबाट दुई देशको ऐतिहासिक मित्रता उजागर गरेको भन्दै पुस्तक दुवै देशका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनयविक्रम शाह, किकबक्सिङका विश्व च्याम्पियन अविरल घिमिरे, पूर्वकराते खेलाडी देव घिमिरे, एनआरएनए अभियन्ता तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
असोज ३, २०८३ शनिबार १२:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।