महिला ‘बेच्ने’ राज्य
समाजशास्त्री डा. मीना पौडेलद्वारा लिखित ‘साहस : महिला बेचबिखन, बहिष्कार र प्रतिकार’ बेचबिखनमा परेका सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक/कानुनी रूपमा बहिष्कार गरिएका महिलाहरूले गरेको प्रतिरोध बुझ्न सकिने महत्त्वपूर्ण पुस्तक हो।
मानव बेचबिखनका आयाम, सामाजिक बहिष्कारलाई संस्थागत गर्ने सैद्धान्तिक आधारहरू, सामाजिक बहिष्कारको अर्थ, सामाजिक वञ्चितीकरण र सामाजिक बहिष्कारको प्रतिरोध, हिंसामा परेर बेचिएका महिलाहरूप्रति समाजको छिःछिः र दूरदूर अनि नागरिकतासमेत नदिने परिवार र सहजीकरण नगरिदिने राज्यको कुरूप पक्षसमेत यस पुस्तकमा समावेश छन्।
मानव हुनुको अर्थ नै नामेट पार्ने राज्यसंयन्त्रलाई चुनौती दिँदै ‘बाँचेर’ देखाएका महिलाहरूको भोगाइ मात्रै होइन, त्यसको सैद्धान्तीकरणसमेत पुस्तकले गरेको छ।
निष्कर्षबाहेक पुस्तक ६ अध्यायमा विभाजित छ। पहिलो अध्यायले किताबको स्वरूप, मानव बेचबिखनका आयाम, मानव बेचबिखनलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नीतिगत खाका र राष्ट्रिय नीतिको प्रभावको जानकारी दिन्छ। बेचबिखनमा परेका २८ जना महिलाहरूसँग घण्टौँ लामो अन्तर्वार्ता गरेर त्यसैलाई सैद्धान्तीकरणमा ढालिएको छ।
पहिलो अध्याय ‘परिचय’ले मानव बेचबिखनको पहिलो चरण महिलाकेन्द्रित रहेको र त्यसमा पनि यौन शोषणका लागि हुने गरेको भन्ने बुझाइले साँघुरो घेरामा रहेको तर बिस्तारै आन्तरिक र बाह्य श्रम आप्रवासन पनि जोडिएको पुस्तकमा उल्लेख छ।
यौन दासत्वको बुझाइ राख्नेले महिला हिंसाभित्रको सीमित घेराभित्र राख्न खोजेको तर अर्को दृष्टिकोणले बेचबिखनलाई अपराध र मानव अधिकारको गम्भीर हनन मान्छ, जसलाई बृहत् श्रम शोषणको रूपमा अर्थ्याउन खोजिएको लेखकले तर्क गरेकी छन्।
पुस्तकको दोस्रो अध्याय ‘सन्दर्भ सामग्रीको विश्लेषण’ शीर्षकमा छ। लेखकको पुस्तक विश्वविद्यालयको अनुशासनमा बसेर लेखिएको हुँदा अन्तर्वार्ता गरिएकाहरूको भोगाइलाई सैद्धान्तीकरण गरिएको छ।
नेपाली समाजमा व्याप्त लैङ्गिक विभेद, महिलाविरोधी सांस्कृतिक मूल्यमान्यता एवं सामाजिक सोच र अवधारणाहरू लैङ्गिक हिसाबले पूर्वाग्रही छन्। त्यस्ता सोच र अवधारणाहरू व्यक्तिको व्यक्तित्व, पहिचान, क्षमता, नैसर्गिक अधिकार र मानवीय अस्तित्वमा होइन कि महिलाको यौनिकताको आधारमा बनाइएको लेखकको विश्लेषण छ।
बेचबिखनमा परेका महिलाहरूलाई खास अर्थै नबुझी यौनकर्मी, खराब, परिवार र कुलको इज्जत जोगाउन नसकेको भनेर परिवारले सदस्य नै नठान्ने र बहिष्कार गर्ने, छिःछिः र दूरदूर गर्ने अनि श्रमबजारले रोजगारी दिन हिचकिचाउने र राज्यले नागरिक नै नमानेको लेखकको दाबी छ।
बेचिएका महिलाहरूले ल्याएको पैसा स्वीकार्ने तर पैसा सिद्धिएपछि परिवारको सदस्य नै नठान्ने गरेको लेखकले तर्क गरेकी छन्।
१५ मुलुक र विश्वका सबैजसो भूगोलका प्राज्ञिक र गैरप्राज्ञिक अनुसन्धानका निष्कर्षहरू विश्लेषण गर्दा बेचिएका र जटिल आप्रवासनबाट उद्धार गरिएका महिलाहरूले सबैभन्दा बढी लज्जाबोध र बहिष्करणको अनुभूति सँगालेको देखिन्छ, जसले गर्दा उनीहरूले परिवारलाई पैसा वा विप्रेषण पठाए खुसीसाथ लिने तर उद्धार गरिएको खण्डमा उनीहरूलाई अस्वीकार गर्ने गरिएको दाबी गरिएको छ।
पुस्तकको तेस्रो अध्यायमा अनुसन्धानको विधिबारे उल्लेख छ। लेखकका अनुसार महिलावादी अनुसन्धानले अनुसन्धानको स्रोतव्यक्तिलाई अनुसन्धान प्रक्रियाको केन्द्रमा राख्छ, जसको उद्देश्य ज्ञानको स्थानीयकरण र पूर्वाग्रहरहित सूचना सङ्कलन रहेको उल्लेख गरेकी छन्।
शक्ति समूहमार्फत पीडित महिलासमक्ष पुगेकी लेखकले माओवादी आन्दोलनका बेला अनुसन्धान गर्न निकै कष्ट भोगेको वृत्तान्त उल्लेख गरेकी छन्। अन्तर्वार्तामा आधारित र गुणात्मक विधि अपनाइएको यस अध्ययनमा उनले पीडित महिलाहरूको बाल्यकाल, बेचबिखनमा पर्दाको अनुभव, नेपाल फर्केपछिको अवस्था, पाएको साथ र सहयोग अनि सामाजिक बहिष्कारको बुझाइ र भोगाइबारे केन्द्रित भएर अनुसन्धान गरेको उल्लेख गरेकी छन्।
अध्याय चारमा लेखकले सामाजिक बहिष्कारको अर्थ र निर्माण प्रक्रियालाई मिहिन ढङ्गले केलाएकी छन्। हिन्दू, बौद्ध, जनजाति या ब्राह्मण वा क्षेत्री जुनसुकै परिवारमा जन्मिए तापनि बेचिएर आएपछि परिवारले गर्ने अपहेलना र राज्यले गर्ने व्यवहार उस्तै भेटिएको उनले तर्क गरेकी छन्। यो मात्रै होइन, सीमापारका देशहरूमा समेत महिलाहरूको भोगाइ उस्तै रहेको उल्लेख गरेकी छन्। जब्बर पितृसत्ताले फरक धर्म, जात र सीमा केही नभन्ने लेखकको दाबी छ।
बेचबिखनमा परेका महिलाहरूलाई जुनसुकै धर्म मान्नेले पनि बहिष्कार गर्ने, समाजमा भित्रिनै नदिने, नजिक नबस्ने वा बस्न नचाहने, घरमा फिर्ता ल्याउन नचाहने, सार्वजनिक धारा–इनारबाट पानी ल्याउन प्रतिबन्ध लगाउने, विद्यालयमा फर्कन स्वागत नगर्ने, बेचिएर फर्केका महिलाले छोएको नखाने, अस्पतालजस्तो संवेदनशील निकायमा समेत अपमानजनक व्यवहार गर्ने, न्यायालयले समेत अनुदार व्यवहार गर्ने र राजनीतिक दलहरूले समेत यसलाई राष्ट्रिय मुद्दा नबनाउने जस्ता तथ्यको चिरफार गरेकी छन्।
अध्याय पाँच ‘सामाजिक बहिष्कारका प्रभाव र परिणाम’मा लेखकले बेचबिखनमा परेका महिलाहरूको पक्षमा काम गर्ने भनिएका संस्थाहरूले नै महिलाहरूलाई अपमान गर्ने गरेको उल्लेख गरेकी छन्। त्यस्तै महिलाकै हकहितमा काम गर्ने भनी पैसा ल्याउने गैरसरकारी संस्था र कर लिएर पनि समान व्यवहार नगर्ने राज्यसंस्थामाथि गम्भीर प्रश्न उठाएकी छन्।
अध्याय छ मा सामाजिक बहिष्कारको प्रतिरोधमा सामाजिक बहिष्कारमा परेका महिलाहरूले विवाह गर्नैपरेको बाध्यतालाई आर्थिक कारण, नागरिकता प्राप्ति, सामाजिक सम्मानको पुनर्प्राप्ति र आवासको निश्चितताका कारण ढाँटेर विवाह गर्ने गरेको उल्लेख छ। यस अध्यायले तत्कालीन समयमा राज्यसंयन्त्रले पैतृक सम्पत्तिबाट बेदखल गरेको हुँदा खान-लाउनै अप्ठ्यारो स्थितिमा महिलाहरू रहेकाले पहिचान नै ढाँट्न बाध्य भएको देखाएको छ।
त्यस्तै नागरिक भएर जन्मिसकेपछि बाबु या श्रीमान्बाट मात्रै नागरिकता निकाल्न सकिने व्यवस्थाले महिलालाई कसरी “परजीवी” बनाएको छ भन्ने पुष्टि हुन्छ। अहिले पनि सन्तानलाई आमाको नामबाट नागरिकता दिँदा पिताको अवस्था खुलाउनुपर्ने बाध्यताले महिलालाई दोस्रो दर्जाकै नागरिकको रूपमा राज्यले हेरेको अनुभूति हुनु स्वाभाविक नै हो।
अध्याय सात ‘निष्कर्ष’मा महिलाहरू किन बेचिए भन्ने सन्दर्भलाई पाँच तरिकाले हेरिएको छ। पहिलो, महिलाहरूले बालविवाह, शिक्षाबाट वञ्चितीकरण जस्ता हिंसा भोगे; दोस्रो, रोजगारीका लागि घर छाडी हिँड्दा गलत सूचना र झुटा आश्वासन पाए; तेस्रो, उनीहरूलाई जबरजस्ती यौनकार्यमा लगाइयो; चौथो, बेचबिखनमा पर्दा उनीहरू राज्यका विभिन्न निकायबाट अपहेलनामा परे; र पाँचौँ, फर्केर आउँदा गैरसरकारी संस्था, समाज, परिवार र सञ्चारमाध्यमले उनीहरूलाई अपमानजनक उपनामले सम्बोधन गरे, जसले गर्दा सामाजिक बहिष्कार हुने स्थिति उत्पन्न भयो।
लेखकले सुरुमै २०४५ सालमा आफू सिन्धुपाल्चोक जाँदा राणा थरका एक पञ्च राजनीतिज्ञको समन्वयमा त्यहाँका महिलाहरूलाई हेलिकप्टरमा राखेर ‘छिटो गर’ भनी लगिएको प्रसंग उल्लेख गरेकी छन्। राजपरिवारसँग घनिष्ठ सम्बन्ध राख्ने उक्त राणा थरका राजनीतिज्ञको आदेशमा त्यो काम गरिएको खुल्न गयो।
काठमाडौं फर्केपछि पत्रिकामार्फत ‘ती महिलाहरू कहाँ लगियो?’ भनी लेखकले निरन्तर लेख्न थालिन्। उनको टाउकाको मूल्य ५० हजार तोकियो। लेखक राजनीतिक कार्यक्रममा सहभागी भएर राजतन्त्र किन अन्त्य हुन जरुरी छ भनी बोलिन्। शासनविरुद्ध बोलेको भन्दै उनलाई पञ्च सरकारले थुनेको कुरा उल्लेख छ।
यस पुस्तकले संकेत गरेअनुसार पञ्चायतकालमा पनि महिलाहरू बेचिन्थे, यो क्रम बहुदलकालमा समेत रोकिएन। अहिले गणतन्त्रकालमा समेत राष्ट्रिय मानव अधिकार आयोगले प्रकाशित गरेको प्रतिवेदनअनुसार कुल बेचबिखनमा परेकाहरूमध्ये ५४.८ प्रतिशत वयस्क महिला र ३७.१ प्रतिशत बालिकाहरू छन्। अर्थात् करिब ९२ प्रतिशत महिला र बालिका मात्र छन्।
लेखकले पुस्तकमा भने झैँ आर्थिक, शैक्षिक, सामाजिक र संरचनागत विभेदका कारण अझै पनि महिलाहरू बेचिन बाध्य छन्। राज्यले समेत यसलाई अनदेखा गर्ने र बेचिएर नेपाल फर्केको अवस्थामा सन्तान लिएर आए भने सञ्चारमाध्यमले बेइज्जती गरिदिने गरेका छन्।
त्यस्तै सन्तानलाई नागरिकता प्रदान गर्न बाबुको पत्ता नलागेको उल्लेख गर्नुपर्ने जस्ता अपमानजनक शब्दावली ऐनमै राखिएका छन्। नेपालको नागरिकतासम्बन्धी ऐनमा महिलालाई पुरुषबिना असहाय अबला प्राणीको रूपमा अहिले पनि चित्रित गरिएको छ। त्यति मात्रै होइन, लेखकको किताब पढ्दै जाँदा नेपाली राज्य महिलाहरूप्रति कति निर्मम र अपराधी थियो भन्ने कुरा थप पुष्टि हुन्छ।
कुरा जङ्गबहादुर राणाको पालाको। ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुक्त’का अनुसार, जङ्गबहादुर राणाले नैनशोभा नाम गरेकी युवतीलाई तिब्बतमा बिक्री गर्न पठाएका थिए। पुस्तकमा उल्लेख छ, ‘वि.सं. १९२४ को हिउँदमा श्री ३ महाराज जङ्गबहादुरले थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू भन्ने आदेश दिई दुई सिपाही साथ लाएर भोट पठाएका थिए। केटीलाई कुतीमा पुर्याएपछि त्यहाँका ढेवा झुम्पनहरूले बिना भोट सरकारको अनुमति हामी आइमाईलाई ल्हासा जान दिँदैनौँ भनी केटी र सिपाहीलाई रोके र यो खबर ल्हासाका चार काजीकहाँ लेखे।
चार काजीले पनि यो कस्ती केटी हो? किन ल्हासा पठाइएकी हो? भनी नेपालमा सोधनीपत्र पठाए। यताबाट थापाथली दरबारकी केटी हो भन्ने साँचो कुरा नभनी ‘वकिलकी कमारी हो, उनलाई काम गर्न हर्जा भयो भनी सिपाही लाएर पठाइदिएको हो’ भनी ढाँटेर लेखियो। र, सो कुराको सूचना वकिल जितमानसिंहलाई पनि दिइयो। वकिलले पनि भोटे काजीलाई ‘मेरा दाजुले मेरो लागि मेरै कमारी चिफसाहेबलाई सोधेर पठाइदिनुभएको रहेछ, सानो कुरा भनेर यहाँ सरकारलाई नलेखेको हो, कुतीका ढेवाले रोकेछन्, त्यो कमारी र दुई सिपाहीलाई त्यहाँ नरोक्नू, सरासर ल्हासा पठाइदिनू भन्ने आदेश पठाइदिनुहोस्’ भने।
सोही बेहोराको पत्र काजीले पठाएपछि नैनशोभा ल्हासा पुर्याइएकी थिइन्। त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउँमा यति रुपैयाँमा बिक्री भई भन्ने खबर लेख्नू, नबिकुञ्जेल आफ्नै साथमा राख्नू, कतै भागी-नासी जान नपाओस् भन्ने आदेश पनि यताबाट चिफसाहेब रणोद्दीपसिंहद्वारा वकिल जितमानसिंहकहाँ पठाइयो। तर पछि १९२५ कात्तिकसम्म पनि केटी बिकेकी थिइनन्। पछिका पत्रमा पनि यसको चर्चा गरिएको पाइन्छ। दरबारकी केटी श्री ३ को आदेशले किन बिक्री गर्न भोट ल्हासा पठाइएको हो अझै स्पष्ट हुन सकेको छैन।’
नेपालको पुस्तकमा उल्लेख भएअनुसार महिलालाई देशबाहिर जानसमेत अनुमति नभएको त्यो अवस्थामा तत्कालीन सरकारप्रमुखबाटै बेचिने गरेको पुष्टि हुन्छ।
समग्रमा यो पुस्तकमा १८ जिल्लाका प्रतिनिधि पात्रहरू छनोट गरी अनुसन्धान गरिएको छ। यस किताबले आर्थिक रूपमा कमजोर भएका, शैक्षिक स्तर कमजोर भएका महिलाको बेचबिखन भएको उल्लेख गरेको छ।
बेचबिखन यौन श्रमसँग मात्रै नजोडिएर श्रमसँग जोडिएको बृहत् अर्थमा बेचबिखन भएको विश्लेषण गरिएको छ। यस अनुसन्धानले सत्ता जुनसुकै आए पनि राज्यले महिलालाई फगत यौनका लागि मात्रै बुझ्छ भन्ने प्रमाणित हुन्छ। महिला बेचबिखन हुँदा यौनको दृष्टिकोणले मात्रै हेर्नु, श्रम आप्रवासनको दृष्टिले नहेर्नुले यो कुराको पुष्टि गर्छ।
अर्कोतिर महिलाका सन्तानको ‘बाबु को हो?’ भनेर खोज्ने राज्य छ। केही पहिलेसम्म बेचिएकी छोरीलाई नागरिकता नै नदिएर परिवारले अनागरिक बनाउँथ्यो। राज्यका निकायले पनि आफ्ना सन्तानलाई अनिवार्य रूपमा नागरिकता नदिए कारबाही गर्ने गरेका थिएनन्।
सन्तान जन्माउने महिला नेपाली नै भए पनि बाबुको पत्ता नलागेको स्वघोषणा गर्नुपर्ने व्यवस्था अद्यापि छ। सन्तानलाई नागरिकता दिने समान अधिकार महिलालाई छैन। गणतन्त्रकालको पितृसत्ता नागरिकतामा अडेको छ। यस पुस्तकले नागरिकताविहीन बनाइएका महिलाहरूको अवस्था चित्रित गरेको छ।
त्यस्तै जुनसुकै धर्म, जात होस्; बेचिएका, हिंसामा परेका महिलाहरू राजनीतिक, आर्थिक र न्यायिक दृष्टिकोणबाट पीडित छन्। कुनै पनि राजनीतिक दल वा राज्यका संयन्त्रको सहयोगबिना महिलाहरू बेचिँदैनन् भन्ने कुरा यस किताबले देखाउन खोजेको छ।
प्राज्ञिक अनुसन्धानका लागि लेखिएको पुस्तक भएकाले हुन सक्छ, सैद्धान्तीकरण धेरै भएको छ। किताब पूरै प्राज्ञिक बन्दा जुन समुदाय छनोट गरेर लेखकले किताब लेखेकी छन्, उनीहरूले आफ्नो कथा भनिएको हो भन्ने महसुस गर्न सकस पर्छ।
तर प्राज्ञिक र सैद्धान्तिक ज्ञानसमेत प्राप्त गर्न चाहने पाठकका लागि भने यो किताबमा महिलाको शरीरलाई गरिएको वस्तुकरण, अनागरिक बनाउने राज्यको रवैया र छोरीसँग धन भए ‘इज्जत’ नखोज्ने नेपाली समाजको असली चरित्रको तार्किक ढङ्गले चिरफार गरिएको छ।
कात्तिक ३, २०८३ मंगलबार २०:०२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।