भिर कोतरेर टर्‍यो त कृष्णभिरको संकट !

नेपालको अर्थतन्त्र नै ठप्प पार्न सक्ने क्षमता राख्ने पृथ्वी राजमार्गको कृष्णभिर खसेर राजमार्ग १६ दिनदेखि ढप्प छ। यो भिरमा तलमाथि केही भयो कि केन्द्र सरकारै हल्लिन्छ। यस पटकको पहिरोले उद्योग मन्त्रीको पद गयो। सरकारको कुर्सी हल्लियो।

भदौ १० को बाढीको विपद्सँगै भदौ १४ मा भासिएको सडक मार्गको विकल्पमा सरकारले पहिरो गएको भन्दा केही माथि नयाँ ट्रयाक खोलेको छ। प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार बिहीबारबाट यहाँबाट नियमित सवारी साधन चल्न दिने तयारी छ।

अति जोखिममा रहेको भिर चिरेर नयाँ ट्रयाक त बन्यो तर के यो ट्रयाकले सुरक्षित यात्रालाई स्थायी बनाउन सक्छ या केही समय संकट टार्ने विकल्प मात्र हो? 

संवेदनशील पहिरो क्षेत्रको भित्ता कोतरेर बनाइएको ट्रयाक कृष्णभिरको संकट समाधान गर्ने स्थायी उपाय हो? वा यो केवल फेरि अर्को विपद्लाई निम्त्याउने टाइम बम !

OOO

कृष्णभिरमा हलचल आउँदा काठमाडौं उपत्यकावासीको दैनिक जीवनमा त्यसको सिधै प्रभाव पर्छ। उपत्यकामा हुने खाना पकाउने ग्याँसको अभावदेखि दैनिक खाध्यन्ननको उच्च मूल्यबृद्धीको घटनाक्रम यही भिरसँग जोडिन्छ। 

राजधानीमा अभाव भएपछि सरकारको कार्यक्षमतामा त्यसको प्रभाव परिहाल्छ। एक खालले सरकारै हल्लिन्छ, अहिले वालेन्द्र शाह नेतृत्वको रास्वपाको सरकार हल्लिए जस्तै।

कृष्णभिरमा गएको पहिरो।तर यो भिरले दिइरहेको यो दुःख आज मात्र होइन, यसको इतिहास नेपालको यातायात र भू-गर्भ विज्ञानमा एउटा ठूलो पाठ पनि हो अनि अर्थतन्त्र र नागरिकको दैनिक जीवनयापनमा ठूलो घाउ पनि।

विक्रम संवत् २०४० को दशकको अन्त्य र २०५० को दशकको सुरुवातदेखि नै कृष्णभिरमा साना-तिना पहिरो जान सुरु भएको थियो। तर २०५७ सालमा यहाँ जुन ऐतिहासिक र महा-विपद्कारी पहिरो खस्यो, त्यसले सिङ्गो देशलाई नै स्तब्ध बनाइदियो। लगातार ११ दिनसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा ठप्प भयो।

वर्षायाम सुरु हुनासाथ महिनौँसम्म कृष्णभिरमा पहिरो खस्ने, यात्रुहरू हप्तौँसम्म बाटोमै भोकै अलपत्र पर्ने र काठमाडौँमा इन्धन तथा खाद्यान्नको हाहाकार मच्चिने यो दैनिक उपक्रम जस्तै बनेको थियो। 

लगातारको यो सास्ती र आर्थिक नोक्सानीले राज्यलाई भिर थाम्ने उपाय खोज्न बाध्य बनायो। त्यसपछि, सडक विभाग, नेपाली भूगर्भविद् तथा इन्जिनियरहरूको टोलीले नयाँ उपाय खोज्यो- बायो-इन्जिनियरिङ।

सिभिल इन्जिनियरिङका संरचनाहरू जस्तै पक्की पर्खाल र ग्याबिन जालीको प्रयोग सँगसँगै, भीरको कमजोर माटोलाई बलियोसँग समातेर राख्ने विशेष प्रजातिको अम्रिसो लगायतका घाँस र रूखहरू रोपियो। 

२०६० सालमा करिब साढे तीन करोड रुपैयाँको लागतमा कृष्णभिर नियन्त्रण गर्न सकिने संरचना तयार भयो। र, त्यसपछि झन्डै दुई दशक-अर्थात् २० वर्षसम्म कृष्णभिरमा कुनै ठूलो पहिरो गएन। 

पहिरो माथिको भिर कोतरेर बनाएको ट्रयाक खोल्न तयार गरिँदै।तर, हरेक कृत्रिम वा भौतिक संरचनाको एउटा निश्चित प्राविधिक आयु हुन्छ। विज्ञहरूका अनुसार, २०६० सालमा तयार गरिएको त्यो बायो-इन्जिनियरिङ संरचनाको आयु २० वर्ष थियो जुन समाप्त भइसकेको थियो।

ठिक यही समयमा-भदौ १० मा रसुवाहुँदै भोटेकोशीमा आएको भीषण बाढीले त्रिशूली किनारबाटै सडकको जग बगायो। जग कमजोर भएपछि तल्लो भागमा पहिरो गयो र २ सय मिटरभन्दा बढी सडक सखाप भयो।

एकातिर बाढीको विपद्, त्यसमा कृष्णभिरले ल्याएको संकट, सरकारले तत्काल राजमार्ग खोल्ने विकल्पमा अर्को जोखिमपूर्ण निर्णय गर्यो त्यही भिर कोतरेर वैकल्पिक ट्र्याक बनाउने। अनि निरन्तर १६ दिनको मिहेनतले करिब ३ सय मिटर लामो नयाँ ट्र्याक तयार पनि भयो। 

के यो स्थायी उपाय हो त?

कृष्णभिरको नयाँ ट्रयाकले दशैंको मुखमा सरकारले संकट त टार्यो तर यो स्थायी विकल्प भने देखिएन। यो केवल देशको मुख्य लाइफलाइनलाई तत्काल जोडेर दैनिक आवतजावतको चाप धान्न अपनाइएको आपत्कालीन र अस्थायी विकल्प मात्र देखियो।

प्राविधिकहरूले नै यसमा अझैँ गम्भीर प्राविधिक जोखिमहरू रहेको औँल्याइरहेका छन्।

पहिलो, सक्रिय पहिरो क्षेत्र : कृष्णभिरको माथिल्लो भाग कोतरेर सडक चौडा गर्दा पहाडको प्राकृतिक सन्तुलन बिग्रन्छ। त्यहाँ थोरै मात्र पानी पर्दा पनि भीर जुनसुकै बेला खस्न सक्ने जोखिम कायमै देखियो।

किनकि त्यहाँ नयाँ ट्रयाक खोल्न भिर कोतर्दा नै माथिल्लो भागमा चिरा परेको देखियो। त्यो चिरामा पानी पस्यो भने जुनसुकै बेलामा पहिरो खसेर ट्याक पुन बन्न हुनसक्ने जोखिम कायमै छ।

दोस्रो, नदी कटानको नसुल्झिएको समस्या: त्रिशूली नदीको कटान नियन्त्रण नगरी माथि मात्र बाटो खन्नु बालुवामा घर बनाउनु जस्तै देखियो। अर्थात् झट्ट हेर्दा त गजब देखिन्छ तर कतिखेर ढल्ने हो पत्तै हुन्न। कृष्णभिरमा अहिले यही जोखिम देखियो।

त्यसो भए, यसको स्थायी र वैज्ञानिक समाधान के त?

नेपालका पूर्वाधारविद् र सडक विज्ञहरूले स्पष्ट रूपमा अब नदी किनारका जोखिमपूर्ण भित्ताहरू सधैँ कोतरेर मात्र समस्या समाधान नहुने बताइरहेका छन्। उनीहरूले यसका लागि दीर्घकालीन र आधुनिक विकल्पहरूमा जान सरकारलाई सुझाव दिइरहेका छन्।

यसमा पहिलो विकल्प भनेको त्रिशूली पारिको वैकल्पिक मार्ग नै देखियो।

कृष्णभिरको पहिरो छल्न अपनाउन सकिने वैकल्पिक बाटो।कृष्णभिरको ठिक विपरीत नदीको अर्को किनारमा बाटो छ। त्यहाँको करिब १२ किलोमिटर बाटोलाई स्थायी रूपमा स्तरोन्नति गरेर कृष्णभिर माथि पुल बनाएर जोखिमपूर्ण कृष्णभिर कटाएर पुन पुलमार्फत वारी ल्याउनु नै प्रभावकारी हुने देखियो।

यसका लागि थप गर्नु पर्ने पूर्वाधार भनेको दुई पुल अनि केही बाटो पिच गर्ने देखियो।

अर्को हो फ्लाइओभर वा भायडक्ट। जोखिमपूर्ण पहाड कोतर्नु भन्दा त्यसलाई छुँदै नछोई, नदीको किनारै-किनार पिलरहरू उठाएर आकाशे पक्की सडक निर्माण गर्ने अर्को विकल्प देखियो।

तेस्रो विकल्प सुरुङ मार्ग। पहिरो जाने यो जोखिमपूर्ण क्षेत्रलाई पूर्ण रूपमा छल्न छोटो दुरीको सुरुङमार्ग निर्माण गर्ने, जसले माथिको पहिरो र तलको बाढी दुवैको जोखिमबाट सधैंका लागि मुक्ति दिन सक्छ।

OOO

१६ दिनमै कृष्णभिरमा अस्थायी ट्रयाक खुलेर यातायात सञ्चालनमा ल्याउनु राहतै हो। तर, यो केवल रोगको लक्षण लुकाउने प्रयास मात्र हो, स्थायी उपचार होइन। 

जबसम्म राज्यले दूरगामी सोचसहितको बलियो भौगर्भिक योजना र स्थायी संरचना बनाउँदैन, तबसम्म कृष्णभिरको यो धरापले हामीलाई हरेक वर्ष वर्षायाममा यसरी नै तर्साइरहनेछ।

भदौ ३१, २०८३ बुधबार २२:१६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।