कोही, किन, कसैको यति साह्रो भक्त हुन सक्छन् !

विपद्ले सर्वस्व खोसेकाहरू जब राज्यको ढोकामा पुगेर न्याय र राहत माग्छन्, उनीहरूले भरोसाको अनुभव गर्नुपर्ने हो। तर, पछिल्लो समय नेपालको सामाजिक सञ्जालमा एउटा विचलित पार्ने प्रवृत्ति मौलाएको छ, जहाँ प्राकृतिक विपद्का पीडितहरूले राज्यको कमजोरी औंल्याउँदा उनीहरूमाथि नै संगठित रूपमा साइबर आक्रमण भइरहेको छ। 

भोटेकोशी बाढीमा आफ्ना प्रियजन गुमाएका अनि घरवारविहीन भएका नागरिकहरूले जब सरकारको कामको आलोचना गरे, तब सामाजिक सञ्जालमा सक्रिय सत्ता समर्थकहरूले उनीहरूमाथि निकृष्ट गालीगलौज, चरित्रहत्या र ट्रोलिङको वर्षा गरे। 

एक पीडित महिलाले आफ्नो रोदन पोख्दा उनलाई लक्षित गरेर गरिएका टिप्पणीहरूले मानवीय संवेदनशीलताको सबै सीमा पार गर्यो। स्थिति यतिसम्म बिग्रियो कि, प्रधानमन्त्री वालेन्द्र शाह स्वयंले सार्वजनिक रूपमा चेतावनी दिनुपर्यो- "पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने र थप पीडा दिनेहरू अपराधी हुन्।" 

आखिर, एउटा राजनीतिक परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रति आशा राखेका नागरिकहरू, सत्ताको आलोचना हुँदा किन अचानक यति असहिष्णु र क्रूर बन्छन्?

OOO

विपद्का बेला पीडितमाथि हुने आक्रमणको सबैभन्दा ठूलो कारण हो- कग्निटिभ डिसोनन्स' अर्थात् तार्किक असन्तुलन। जब समर्थकहरूले आफूले अति श्रद्धा गर्ने नेता वा पार्टीलाई आदर्श मानेका हुन्छन्, तब ती नेता वा सरकारबाट कुनै गल्ती वा कमजोरी हुँदा उनीहरूको मस्तिष्कले त्यसलाई स्वीकार गर्नै सक्दैन।

यस्तोमा जब पीडित नागरिकले सरकारको आलोचना गर्न थाल्छन्, तब ती समर्थकहरूका लागि त्यो आलोचना सरकारको मात्र होइन, उनीहरूको आफ्नै राजनीतिक विश्वासमाथिको प्रहार समान बन्न पुग्छ। यो समूहले पीडितको आँसुलाई मानवीय पीडाको रूपमा होइन, आफ्ना प्रिय नेताको विरोध गर्ने 'षड्यन्त्र' का रूपमा देख्न थाल्छ। अनि यहीँबाट सुरु हुन्छ आक्रामक प्रवृत्ति।

आफ्नो नेता वा सरकारलाई बचाउने नाममा उनीहरू यति क्रूर हुन्छन् कि उनीहरूले पीडितको मानवीय पहिचान, उनीहरूको रोदन र पीडालाई पूरै बिर्सन्छन्। पीडित वा असहमति राख्नेहरू किन सरकारको आलोचना गर्ने तहमा पुगे भन्ने पक्ष समर्थकहरूका लागि मूल्यहीन बन्छ। 

समर्थक सरकारको रक्षा गर्ने जिम्मेवारी मेरै हो भन्ने भ्रममा पर्छन् र नैतिक अनि मानवीय दुवै मूल्य बिर्सिएर सामाजिक सञ्जालमा निकृष्ट व्यवहारमा उत्रिन्छन्।

OOO

यस घटनाक्रमको अर्को महत्त्वपूर्ण पक्ष यस्तो गतिविधिमा संलग्न पात्रहरूसँग पनि जोडिएको हुन्छ। पृष्ठभूमिको हिसाबले हेर्दा, यो ट्रोलिङ गर्ने समूह ठूलो मात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी  र प्रधानमन्त्री वालेन्द्र शाहका समर्थकहरू देखिन्छन्।

परिवर्तन र पुराना दलहरूको बेथिति विरुद्ध उभिएर उदाएका यी शक्तिहरूप्रति युवापुस्ताको प्रेम छ। हिजो वालेन्द्र शाह प्रधानमन्त्री बने देशमा रातारात चमत्कार हुन्छ भन्ने आश्वासन बाँड्न यिनीहरू नै सक्रिय भए। तर व्यक्ती बदलिँदैमा रातारात देश बदलिन कहाँ सम्भव हुन्छ र!

यो बिचमा सरकारमा रहेकाहरूले गरेको व्यवहारसँगै भोटेकोशी विपद्पछिको खोजी र उद्धार तथा राहत र व्यवस्थापनको कमजोरीले सरकारमा रहेकाहरूको व्यवस्थापकीय हैसियत सतहमा ल्याइदियो। पीडित सरकारसँग गुनासो गर्न थाले। ती सामाजिक सञ्जालमा आउँदा समर्थकले सहन सकेनन्। र गालीगलौजमा उत्रिए।

हिजो बालेन हुन् या रास्वपा, यिनको समर्थकको हतियार अन्य दल र फरक राजनीतिक विचार राख्नेहरूमाथि निरन्तर साइबर आक्रमण प्रमुख हतियार थियो। यसैको प्रयोगले नै ३५ वर्ष देशमा केही भएन भन्ने भाष्य बनाए अनि रातारात चमत्कारको सपना सामाजिक सञ्जालले घर घर पुर्यायो।

यसैको बलमा राजनीतिक स्पेस बन्यो। उनीहरूका नजरमा हिजो जसरी राजनीतिक स्पेस बनाउन सामाजिक सञ्जाल सहयोगी बनेको थियो अहिले सरकारको खस्कँदो साख जोगाउन पनि त्यही माध्यमलाई नै हतियार बनाउन सक्रिय छन्।

यही प्रवृत्ति सामाजिक सञ्जालमा एउटा यस्तो विषाक्त डिजिटल समूह तयार गर्यो, जो आफूले समर्थन गरेको व्यक्ति वा दलप्रतिको जायज आलोचना समेत पचाउनै सक्दैन। उनीहरू आक्रमणका लागि जुनसुकै हदसम्म पनि झर्न तयार भए। 

यो समूह सरकारले त काम गरिरहेकै छ, आलोचक जति सबै पुराना दलका समर्थकहरू हुन् र उनीहरूले सरकारलाई बदनाम गराउने षड्यन्त्र गरिरहेका छन् भन्ने भ्रममा आफू त छन् नै यही भ्रम फैलाउन उत्तिकै सक्रिय छन्। अनि सरकारको प्रतिरक्षामा सञ्जालहरूमा सरकारको जायज आलोचकप्रति पनि दुस्मन जसरी खनिइरहेका छन्। 

उनीहरू आफ्नो प्रिय वालेन्द्र वा सरकारको गल्ती ढाकछोप गर्न जो कसैलाई पनि सञ्जालबाट आक्रमण गर्न तयार छन्। उनीहरूका लागि कसले, कुन अवस्थामा प्रतिक्रिया दिएको हो, त्यो कतिको जायज छ तर्कको कुनै अर्थ हुन्न। 

अहिले सामाजिक सञ्जालमा भोटेकोशी पीडितहरूको सरकारप्रतिको असन्तुष्टिप्रति उनीहरूले गरिरहेको आक्रमणमा यही मनोविज्ञान हाबी देखिन्छ।

यो प्रवृत्ति केवल पीडितहरूप्रति मात्र सीमित छैन। भोटेकोशी बाढी वा अन्य घटनामा सरकारमा रहेकाहरूको बदमासी प्रमाणसहित सार्वजनिक गर्ने, कमजोरी देखाउने, उद्धारमा भएका ढिलाइ लगायतका पक्षबारे समाचार प्रकाशन/प्रसारण गर्ने मिडिया र मिडियाकर्मीहरू पनि निरन्तर यो ट्रोलिङ गिरोहको निशानामा पर्ने गरेका छन्।

जब मिडियाले ऐना देखाउँछ, तब यो समूहले सत्य स्वीकार गर्नुको सट्टा मिडियालाई नै 'बदमास' वा 'कसैको दलाल' साबित गर्न खोज्छ। उनीहरू तथ्यमा बहस गर्दैनन्, सिधै पुराना दलका चाटुकार वा १२ भाइ भन्दै आलोचना गर्छन्।

लोकतन्त्रमा सबै विचारको सम्मान आवश्यक छ। तर नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी अनि स्वतन्त्र उम्मेदवारको रूपमा वालेन्द्र शाहको उदयसँगै यस्तै फासिस्ट मानसिकताधारी समूहको सक्रियता ह्वात्तै बढेको छ।

उनीहरूको राजनीतिक उदयको पृष्ठभूमि पुराना दल अनि स्थापित मिडिया विरुद्ध एकतर्फी यस्तै साइबर आक्रमणबाट नै बलियो बन्दै गयो। रास्वपामा रहेका ज्वाला सङ्ग्रौलासहितका केही सांसदहरूको पृष्ठभूमि पनि यस्तै निकृष्ट ट्रोलरै देखिन्छ। उनी पार्टीको समानुपातिक सूचीबाट छानिएर पुरस्कृत भइन्। यसले ट्रोल गर्नु पनि पार्टीमा अंक बढ्ने एक आधार देखियो।

अहिले अलि सम्हालिएको देखिन्छ, नत्र रवि लामिछानेको पत्रकारितामा कार्यक्रम सञ्चालकको रूपमा होस् या राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा राजनीतिमा होस्, उदयको मुख्य पक्ष उही गालीगलौज नै हो। हिजो टेलिभिजन कार्यक्रम चलाउँदाका उनका अधिकांश प्रस्तुति पत्रकारिताको अध्ययनमा 'टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा के-के गर्न हुन्न' भन्ने गाइड बन्न लायक देखिन्छन्। 

उनका दोहोरो राहदानी, दोहोरो नागरिकता अनि सहकारी ठगी प्रमाणसहित सार्वजनिक भएपछि नै प्रमाणसहितको पत्रकारिता गर्ने नेपाली पत्रकारहरूले '१२ भाइ' को पदवी पाएका हुन् जुन उनका समर्थकमाझ अझैँ उस्तै लोकप्रिय छ।  यसले पनि समर्थकहरूमा कुनै न कुनै प्रभाव पर्यो नै होला।

हिजो राजनीतिक स्पेस बनाउन उनीहरूले स्थापित दल र त्यसका नेता विरुद्ध सामाजिक सञ्जालमा निरन्तर बदनाम गरे, कमजोरी देखाउने बहानामा गालीगलौज गरे, पुराना दलका समर्थकलाई रक्षात्मक बनाउन निरन्तर व्यक्तित्व र चरित्रसम्ममा आक्रमण गरे।

अहिले उनीहरूले समर्थन गरेको शक्ति सत्तामा छ। हिजो प्रश्न गर्ने ठाउँबाट अब जवाफ दिने ठाउँमा पुगेपछि पनि शैली भने बदलिएको छैन। 

हिजो जसरी सरकार, पुराना दल र तीनका समर्थकमाथि साइबर बुलिङ र साइबर अट्याक गर्थे अहिले उनीहरूले सरकारको साख जोगाउन उस्तै शैली अपनाइरहेका छन्। अनि यसबाट पीडित टार्गेटमा परिरहेका छन्। 

उनीहरूको स्वभाव र शैली कति निकृष्ट छ भन्ने त प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै पक्षमा भइरहे पनि यस्ता गतिविधिलाई अपराध र यस्ता काम गर्नेलाई अपराधी भन्नु बाटै पुष्टि हुन्छ।

लोकतन्त्रको प्राण भनेको नै आलोचनात्मक चेत हो, तर जब सामाजिक सञ्जालमा समर्थकहरू नै 'डिजिटल गुन्डा' बनेर उत्रन्छन्, तब त्यसले लोकतन्त्रलाई बलियो होइन, झन् कमजोर बनाउँछ।

यसलाई रोक्न प्रधानमन्त्री बालेन्द्र शाहले दिएको चेतावनी एउटा सकारात्मक कदम हो, तर यति मात्रै पर्याप्त छैन। यस्तो अमानवीय र निकृष्ट हर्कत रोक्ने हो भने राज्यको सम्बन्धित निकायलाई सक्रिय गराएर कानुनी दायरामा ल्याउनु पर्छ।

राजनीति र सरकार तात्कालिक हुन्, तर मान्छेको पीडा र संवेदना स्थायी हुन्छ। कुनै पनि नेता वा दल नागरिकको जीवनभन्दा ठूला हुन सक्दैनन्। 

जबसम्म हामी आलोचना सुन्ने सहनशीलता विकास गर्दैनौँ र पीडितको आँसुमाथि राजनीतिक रोटी पकाइरहन्छौ, तबसम्म समाजमा न्यायको महसुस हुन सक्दैन। डिजिटल स्क्रिन पछाडि लुकेर कसैको रोदनमाथि हाँस्नेहरूले बुझ्न जरुरी छ- आज अर्कोको पीडामाथि खिल्ली उडाउनेहरू, भोलि इतिहासको कसीमा आफैँ कठघरामा उभिनेछन्।

भदौ २१, २०८३ आइतबार २२:१५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।