भारतमा एचडियूमा अन्तर्वार्ता लिँदा अमनविरुद्ध जाहेरी, यता सुरजलाई सेनाको ‘भीआईपी ट्रिटमेन्ट’

भारतमा एचडियूमा अन्तर्वार्ता लिँदा अमनविरुद्ध जाहेरी, यता सुरजलाई सेनाको ‘भीआईपी ट्रिटमेन्ट’

काठमाडौं : बिरामीको जीवन बचाउन बनाइएका अस्पतालका अति संवेदनशील घेरा आईसीयू वा एचडीयूमा बिरामीका कुरुवालाई समेत सीमित समय दिएर मात्र प्रवेश दिइन्छ।

तर, केही युट्युबर र टिभी प्रस्तोताका लागि भने आईसीयू र एचडीयू जस्ता संवेदनशील क्षेत्र नै ‘स्टुडियो’ बनिदियो।

छिमेकी मुलुक भारतमा अस्पतालको एचडीयू कक्षमा छिरेर अन्तर्वार्ता लिने टेलिभिजन एंकरविरुद्ध एफआईआर दर्ता भएको केही समयपछि नै नेपालमा पनि एक चर्चित युट्युबरले नेपाली सेनाको अस्पतालको आईसीयूलाई दुई घण्टासम्म सुटिङ स्पट बनाए।

अमनलाई एफआईआर, सुरजलाई ‘भीआईपी ट्रिटमेन्ट’
भारतको न्युज १८ इन्डियाका एंकर अमन चोपडाले राँचीस्थित सदर अस्पतालको एचडीयूमा पुगेर अनशनरत छात्र नेता राहुल क्रान्तिको अन्तर्वार्ता लिए। उनले त्यो भिडियो आफ्नो युट्युब च्यानलमा हाले।

अस्पतालका प्रमुख चिकित्सा अधिकारी (सिभिल सर्जन) को उजुरीका आधारमा चोपडाविरुद्ध सङ्क्रमण नियन्त्रण र बिरामी सुरक्षा प्रोटोकल उल्लङ्घन गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको हो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर २ घण्टा सोधपुछ गरेपछि कानुनी नोटिस थमाएर छाडेको छ।

चोपडाले भने अन्य मिडिया र नेताहरू पनि बिरामीलाई भेट्न गएको तर सरकारले आफूलाई मात्र निशाना बनाएको दाबी गरेका छन्। पत्रकारहरूको संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ (सीपीजे) ले भने यस घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पत्रकारितामा बाधा पुर्याउन नहुने भन्दै ध्यानाकर्षण जनाएको छ।

तर नेपालको कथा ठिक उल्टो छ। भोटेकोशी बाढीका कारण जलविद्युत् गृहको सुरुङमा १० दिनसम्म फसेर बाँचेका सञ्जय साह र कबिर महर्जनको उपचार छाउनीस्थित सैनिक अस्पतालको आईसीयूभित्रको ‘आइसोलेसन कक्ष’ मा भइरहेको थियो।

त्यही सङ्क्रमणको उच्च जोखिम हुने कक्षमा सञ्चारकर्मी सुरज सिंह ठकुरी आफ्नो क्यामेरा युनिटसहित पुगे।

बिरामीलाई जोखिममा पार्दै करिब दुई घण्टा त्यहाँ छायांकन भयो। अस्पताल स्रोतका अनुसार सैनिक जनसम्पर्क निर्देशनालयले नै उनलाई त्यो अति संवेदनशील क्षेत्रमा छायांकनको लिखित अनुमति दिएको थियो।

शीर्षक बदलेर बदमासी लुकाउने प्रयास
सुरजले कार्यक्रमको प्रोमोदेखि युट्युबको हेडलाइनसम्म ‘इन्साइड द आईसीयू’ राखेर आइतबार भिडियो सार्वजनिक गरे। जब आईसीयूमा क्यामेरा छिराएको विषयमा उकेराले प्रश्न उठायो र सामाजिक सञ्जालमा आलोचना सुरु भयो, २४ घण्टापछि सुटुक्क युट्युबको शीर्षक र थम्बनेल बदलियो।

सोमबार बेलुका ‘इन्साइड द आईसीयू’ को ठाउँमा ‘इन्साइड द टनेल’ बनाइयो भने कभर फोटोमा ‘आईसीयू’ शब्द हटाएर ‘पोस्ट अपरेसन वार्ड’ लेखियो।

तर, उकेराको सोधखोजमा उनीहरू पोस्ट अपरेसन वार्डमा नभई आईसीयूभित्रकै अति संवेदनशील ‘आइसोलेसन कक्ष’ मा रहेको पुष्टि भएको छ।

‘पोस्ट अपरेसन वार्ड पनि संवेदनशील क्षेत्र नै हो, प्रोटोकलले त्यहाँ २ घण्टा बसेर अन्तर्वार्ता लिन दिँदैन,’ एक जानकार चिकित्सकले उकेरासँग भने, ‘तर नेपालमा पहुँच भएपछि जे पनि सम्भव हुन्छ। यो घटना यस्तै हो।’

बीबीसी नेपाली पनि तानियो
आईसीयूलाई स्टुडियो बनाएको विषयमा सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति निकाल्दै अनुसन्धान सुरु गरेको जनाएको छ।

काउन्सिलले सुरजको सो सामग्रीमाथि पत्रकार आचारसंहिताको परिधिभित्र रहेर अध्ययन भइरहेको र सञ्चारकर्मी, अस्पताल तथा मेडिकल काउन्सिललाई पत्राचार गरिएको जनाएको छ।

विज्ञप्तिमा काउन्सिलले बीबीसी नेपाली सेवालाई पनि तानेको छ। केही समयअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पथप्रदर्शकको आईसीयूमै पुगेर बीबीसी नेपालीले अन्तर्वार्ता लिएको थियो। सो विषयमा पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालले उकेरासँग भने, ‘सुरजसिंह भन्ने पत्रकार के कसो हुन्? उनले सूचना विभागबाट सदस्यता लिएका छन् कि छैनन् भनेर पत्राचार गरेका छौँ।’

सेना, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिलको ‘पास द बक’
यति गम्भीर लापरबाही हुँदा नियामक निकायहरू भने गोलमटोल जवाफ दिइरहेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयकै अनुमतिमा सुटिङ भएको तथ्य बाहिर आइसक्दा पनि सेनाका प्रवक्ता राजाराम बस्नेतले ‘प्रारम्भिक जानकारी लिने काम भइरहेको’ भन्दै पन्छिए।

यता, देशका सबै अस्पतालको अनुगमन गर्ने स्वास्थ्य मन्त्रालय सेनाको अस्पताल भएकाले सीधै हस्तक्षेप गर्न नसकिने तर्क गरिरहेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘यो घटना मन्त्रालयअन्तर्गतको अस्पतालमा हुन्थ्यो भने टिम बनाएर छानबिन गरिसक्थ्यो। आईसीयू भनेको बिरामीका आफन्त त कुर्न नदिएर बाहिर निकाल्ने ठाउँ हो, त्यहाँ अन्तर्वार्ताका लागि सामान कसरी गयो, यो चिन्ताको विषय हो।’

व्यावसायिक आचारसंहिताको विषय भएकाले मेडिकल काउन्सिलसँग समन्वय गरेर अघि बढ्ने मन्त्रालयको भनाइ छ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठले काउन्सिलको ‘इथिकल कमिटी’ को बैठक बसेर यसमा निर्णय लिइने बताए। काउन्सिलका सदस्य डा. छवि पन्थीले भने यसलाई सीधै आचारसंहिता विपरीतको कार्य भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

‘सेना वा जोसुकैको अस्पताल भए पनि आईसीयूमा अन्तर्वार्ता लिन पाइँदैन, छानबिन हुनैपर्छ’, डा. पन्थीले भने।

बाहिर जुत्तामोजा खोलेर, गाउन र मास्क लगाएर मात्र छिर्न पाइने आईसीयूमा भ्युजको व्यापार गर्न क्यामेरा, लाइट र माइकसहित छिर्ने पत्रकार र त्यसलाई सघाउने अस्पताल प्रशासनमाथि राज्यले भारतमा झैँ एक्सन लिन्छ वा पहुँचकै भरमा यो घटना पनि सामसुम हुन्छ? हेर्न बाँकी नै छ।

भदौ ३०, २०८३ मंगलबार १४:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।