आफन्त गुमाएको पीडाबीच विद्यार्थी फर्काउने तयारीमा नुवाकोटको पृथ्वी मावि
रसुवा : भोटेकोशीमा लेदोसहित आएको बाढीको प्रलयले प्रभावित क्षेत्रका १८ वटा विद्यालय क्षतिग्रस्त बनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनअनुसार भदौ २९ गते साँझ ७ बजेसम्मको तथ्याङ्क समेटेर तयार पारेको खोज, उद्धार तथा राहत प्रतिकार्यको स्थिति प्रतिवेदनअनुसार १३ वटामा पूर्ण र ५ वटामा आंशिक गरि १८ वटा विद्यालयमा क्षति भएको छ। २४ जना शिक्षक र ५०० विद्यार्थी अझै सम्पर्कविहीन छन्।
त्यसैगरी ४५ वटा भवन तथा २६८ वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९ हजार ४३० विद्यार्थी प्रभावित भएका छन्। २५ वटा विद्यालयलाई हाल आपतकालीन आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ भने केही विद्यालय पुनः सञ्चालनको तयारीमा छन्।
प्रभावित सबै विद्यालयमा तीन महिनासम्म साप्ताहिक रूपमा मनोसामाजिक परामर्श सेवा तथा बाल संरक्षण सत्र सञ्चालन गरिने प्रतिवेदनमा उल्लेख छ। यहीबीच, बाढी प्रभावितहरूको आश्रयस्थल बन्दै आएको नुवाकोटको विदुर नगरपालिका-४ स्थित पृथ्वी माध्यमिक विद्यालयले पनि पठनपाठन सुचारु गर्ने तयारीमा छ।
त्रिशूली नदीबाट केही उचाइमा रहेका कारण विद्यालयको भौतिक संरचना सुरक्षित रहे पनि बाढीको प्रलयले विद्यार्थी र शिक्षकहरूको मनोविज्ञानमा गहिरो असर पारेको छ। यस्तो संवेदनशील अवस्थामा पनि विद्यालय पुनः सञ्चालन गर्न शिक्षकहरूले आफूलाई मानसिक रूपमा तयार पारेको प्रधानाध्यापक बाबुराम लामिछाने बताउँछन्।
विस्थापितहरू र सशस्त्र प्रहरीको आश्रयस्थलका रूपमा प्रयोग भइरहेको विद्यालय परिसर खाली भएसँगै सरसफाइ गरेर नियमित पठनपाठन सुरु गरिने उनले जानकारी दिए।
करिब ९५० विद्यार्थी जोगिएको त्यो क्षण!
भदौ १० गते आएको प्रलयकारी बाढी रसुवा हुँदै बेत्रावती बजारसम्म आइपुगेपछि मात्रै पृथ्वी माविले त्यसको सुइँको पाएको थियो।
प्रधानाध्यापक लामिछानेका अनुसार बिहानी सत्रको कक्षा चलिरहेको र दिवा सत्रका विद्यार्थी पनि आउने समय भएकाले लगभग सबै विद्यार्थी विद्यालय परिसरभित्र प्रवेश गरिसकेका थिए। त्यसबेला विद्यालयमा करिब ८५० भन्दा बढी विद्यार्थी उपस्थित थिए।
“सवा ९ बजेतिर हामीले बाढीको हल्ला सुन्यौँ। केही बेरमै ‘बेत्रावती बजार नै बगायो’ भन्ने खबर आएपछि यो निकै ठूलो प्रलय हुनसक्छ भन्ने लाग्यो,” प्रधानाध्यापक लामिछानेले त्यो क्षण सम्झिँदै भने, “विद्यालय आउँदै गर्दा प्रहरीले माइकिङ गरेको पनि सुनेका रहेछन्, हल्लाखल्ला भयो। बेत्रावतीमा हाम्रै एक जना शिक्षकको घर बगाएको खबर आएपछि सबै आत्तिए। हामीले संयमित हुँदै विद्यार्थीलाई माथितिर सुरक्षित स्थानमा लैजान थाल्यौँ।”
विद्यालयमा उपस्थित करिब ४० जना शिक्षक तथा कर्मचारीले तत्कालै विद्यार्थीहरूलाई हुँदै जङ्गलतर्फ लगेका थिए। विद्यालयबाट बाढी नदेखिने भएकाले कत्रो बाढी आएको छ भन्ने अनुमान कसैले गर्न सकेनन्, तर उनीहरू जतिसक्दो चाँडो सुरक्षित उचाइतर्फ भागे।
“यति धेरै विद्यार्थी छन्, उनीहरू सुरक्षित हुनुपर्छ भन्नेमै हाम्रो ध्यान केन्द्रित थियो। अकस्मात् यस्तो विपत्ति आइपर्दा डराउने र आत्तिने अवस्था सिर्जना भयो। कतिपयलाई त किन भागिरहेका छौँ भन्ने पनि थाहा थिएन,” लामिछानेले भने, “बाढी आएको छ भनिएको छ, कता के भइरहेको छ पत्तो थिएन। जे होस्, सम्हालिँदै हामी सुरक्षित ठाउँमा लड्दै-पड्दै, एकअर्कालाई साथ दिँदै पुग्यौँ।”
तल्लो बस्तीका मानिसहरू माथिल्लो बस्ती हुँदै झन्-झन् माथि जङ्गलको बाटो हुँदै नुवाकोट दरबार जाने बाटोसम्म आत्तिँदै पुगेको भयानक दृश्य लामिछानेको आँखामा ताजै छ। २-३ घण्टा हिँडेपछि जब उनीहरूले बाढीको डरलाग्दो रूप देखे, तब सबैको सातो गयो।
स-साना विद्यार्थीलाई माथिल्लो कक्षाका विद्यार्थी र शिक्षकहरूले पालोपालो बोकेर सहयोग गरेको दृश्यले आफूलाई निकै भावुक बनाएको लामिछानेले सुनाए। भाग्ने क्रममा दौडिन नसक्दा धेरै विद्यार्थीले आफ्ना किताब र झोला बाटैमा छाडेका थिए। दिनभरजसो जङ्गलमै बसेका उनीहरूमध्ये केहीलाई अभिभावकले त्यहीँबाटै लिएर गए।
तर, केही विद्यार्थीलाई भने दुई दिनसम्म पनि कसैले लिन नआएपछि समुदायमा रहेका आफन्तको जिम्मा लगाउनुपरेको थियो।
“धेरैसँग फोन सम्पर्क नै टुटेको थियो। कतिपय अवस्थामा हामीलाई सम्हाल्न हम्मे-हम्मे पर्यो। अभिभावकहरू आफैँ आत्तिनुभएको थियो। हाम्रा १०० भन्दा बढी विद्यार्थी त्रिशूली नदी पारिका छन्, उनीहरूको आफन्तसँग सम्पर्क स्थापित गर्न धेरै समय लाग्यो”, उनले भने।
त्यसयता विद्यालय विस्थापितहरूको आश्रयस्थल बन्यो भने पछि सशस्त्र प्रहरीले त्यहाँ आफ्नो क्याम्प राख्यो। लामिछानेका अनुसार एक जना विद्यार्थीबाहेक सबै सम्पर्कमा आएका छन्। ती एक विद्यार्थी पनि परिवारसँगै सम्पर्कविहीन भएकाले बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ।
“आफन्त गुमाउने त सबैजसो हुनुहुन्छ। परिवार नै गुमाएका विद्यार्थी मात्र सात जना हुनुहुन्छ। कुनै विद्यार्थी विद्यालय आएकै कारणले एक्लै बाँचेको अवस्था पनि छ। कसैको आमा हुनुहुन्न, कसैको बाबु। विद्यार्थीहरू निकै हृदयविदारक अवस्थामा हुनुहुन्छ”, लामिछाने भावुक सुनिए।
विद्यालयका एक शिक्षकको पनि ढुङ्गेबजारमा रहेको सम्पूर्ण घरबार बाढीले बगाएको उनले जानकारी दिए।
‘मनमा असह्य पीडा छ, तर पनि अघि बढ्नैपर्छ’
हरेक विद्यार्थी र शिक्षक शोकमा रहेको यो घडीमा पुरानै अवस्थामा विद्यालय सञ्चालन गर्न निकै कठिन छ। तर, शिक्षक र व्यवस्थापन समिति नियमित पठनपाठन गराउन तयार रहेको उनले बताए।
उनी भन्छन्, “के सबै विद्यार्थी पहिलो दिनदेखि नै आउन सक्छन् त? पक्कै सक्दैनन्। नदी पारिका विद्यार्थीलाई विद्यालयसँग जोड्न निकै ठूलो समस्या छ। उहाँहरूलाई कसरी जोड्ने भनेर हामी अझै समाधानको खोजीमै छौँ।”
लामिछानेका अनुसार अझै पनि सयभन्दा बढी विद्यार्थी होल्डिङ सेन्टरमै आश्रित छन्। ढुङ्गेबजार, त्रिशूली बजार र सिमचौरबाट आउने विद्यार्थीहरूको बासस्थान टुटेको छ, घरपरिवार बगरमा परिणत भएको छ। कोही आफन्तको डेरामा बस्न थालेका छन्।
पठनपाठनका लागि उनीहरूसँग कुनै पनि शैक्षिक सामग्री बाँकी छैन। अभिभावकविहीन भएका विद्यार्थीलाई कसरी विद्यालयसम्म ल्याउने भन्ने चुनौती थपिएको छ। शिक्षकहरूकै बिथोलिएको मनोविज्ञानलाई समेत मध्यनजर गर्दै विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए।
“तथापि, हामीले कोभिड र भूकम्पकै समयमा पनि विपत्तिको सामना गरेरै आएका हौँ। केही गर्नुपर्छ, राम्रो गर्नुपर्छ भनेर हामीले आफूलाई मानसिक रूपमा बलियो बनाएका छौँ। अहिलेको परिस्थितिलाई सम्हाल्न हामी तयार छौँ,” उनी आशावादी देखिए, “यस्तो बेलामा हाम्रा विद्यार्थीलाई मनोबल बढाउने, शैक्षिक सामग्री दिएर प्रोत्साहन गर्ने र साथ दिने सहयोगी हातहरूको खाँचो छ। विद्यालयको माहोल र सिकाइ क्रियाकलापमा उनीहरूको ध्यान मोड्न सक्यौँ भने मात्रै पनि अहिलेको समयमा हाम्रो लागि ठूलो उपलब्धि हुनेछ।”
यसका लागि नगरपालिकासँगै शिक्षा सरोकारवालाहरूसँग समेत छलफल भइरहेको उनले बताए। बाढीले बगाएका अन्य विद्यालयका विद्यार्थीहरू समेत यहाँ आउन खोजेकाले भौतिक संरचनामा केही सुधार आवश्यक देखिएको छ। मुस्किलले विद्यार्थी भर्ना गरेका अभिभावकहरू पनि यस्तो परिस्थितिमा विद्यालय छाड्न चाहँदैनन्।
अस्थायी झोलुङ्गे पुल बने पनि बजार र विद्यार्थीलाई विद्यालयसँग सहजै जोड्न सकिएको छैन। ४-५ दिनसम्म ‘फेरि बाढी आउँछ’ भन्ने त्रासमा रहेका विद्यार्थीलाई अब विद्यालय ल्याउनु अति आवश्यक भइसकेको प्रधानाध्यापक लामिछानेको बुझाइ छ।
“अझै पुरानै अवस्थामा फर्किन नसकिएला, तर विद्यालय आउँदा केही हदसम्म मानसिक आघात कम हुन्छ। मन र ध्यान सिकाइतिर मोडिन्छ। विद्यार्थीहरू विद्यालयको गतिविधिमा सक्रिय हुन्छन् भन्ने लाग्छ,” उनी भन्छन्, “अहिले जीवित हुनुभएकाहरूलाई सबैभन्दा बढी मनोपरामर्शको आवश्यकता छ। आफ्ना साथीहरूसँग घुलमिल हुँदा पनि उनीहरूको पीडा केही हदसम्म कम होला।”
विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, पोसाक र विद्यालयका लागि केही फर्निचरको अभाव रहेकाले लामिछानेले सहयोगी निकायहरूसँग सहयोगको अपिलसमेत गरेका छन्।
२०३२ सालमा स्थापना भएको यस विद्यालय बागमती प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये पर्छ। सिकाइ उपलब्धि र नतिजामा अब्बल साबित हुँदै आएको यस विद्यालयलाई बाढीको चपेटाबाट जोगाउन विद्यालय परिवार पूर्ण रूपमा तयार रहेको भन्दै उनले सबैलाई साथ दिन आग्रह गरे।
“सार्वजनिक शिक्षालाई समाजले हेर्ने दृष्टिकोण नै बदलिदिएको हाम्रो जस्तो सामुदायिक विद्यालयलाई अहिले सबैको साथ चाहिएको छ। हाम्रा विद्यार्थी तथा शिक्षकलाई सहयोगको खाँचो छ”, उनले भने।
भदौ ३०, २०८३ मंगलबार १३:४४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।