१० दिनसम्म सुरुङमा जोगिएका सञ्जय साह भन्छन् 'आधा घण्टा समय पाएको भए हामी सबै बच्थ्यौँ'

भोटेकोशी बाढीपछि त्रिशूली जलविद्युत् टनेलमा १० दिन फसेर चमत्कारिक रूपमा जीवितै उद्धार भए सञ्जय शाह। उनी उपचारपछि घर फर्किसकेका छन्। घर फर्किएका उनै शाह आफू बाँच्नु चमत्कार भएको बताउँदै यदि आधा घण्टा समय पाएको भए सबैलाई जोगाउन सक्ने मात्र बताएनन्, आफू १० दिन सुरुङमा के गरेर बसेँ भन्ने पनि खुलाए।

शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका साहले उनीसँगै सुरुङ भित्रबाट जीवित उद्धार गरिएका कबिर महर्जनबारे समेत बताएका छन्। जब बाढी सुरुङ भित्र छिर्यो त्यो बेलामा यी दुवैको भेट सुरुङ भित्रै भएको थियो।

"पहिला हावा छिर्यो अनि हावासँगै पानी पनि आयो। त्यहीँ कबिर सर भेट भयो। मेरो अगाडि दुई जना साथी बगे। हामीलाई लाग्यो,हामी मात्र छौँ।"

त्यसपछि साह र कबिरले हात समातेर माथि जान थाले। उनीहरू सुरूङ भित्रको छैठौं तलामा पुगे। त्यही बेलामा पानि आयो। दुबै बगे। हात छुट्यो।

"मोबाइल पनि बग्यो। भित्र अध्यारो। हाम्रो हात पनि छुट्यो। मलाई बगाएर पाँचौ तलामा ल्यायो," साहले भने" तल पनि पानी भरिइसकेको थियो। मैले भेन्टिलेटर भेटेँ। त्यही समातेर बसेँ।"

बिस्तारै सुरुङमा जमेको पानी घटेपछि तल झरे। कपडा भिजेको थियो। चिसोबाट जोगिन माथि जान उनी बाटो खोज्न थाले। रेलिङ भेटे। त्यही समातेर पुन छैठौं तलामा गए।तल पानि घटेपछि पुन पाँचौ तलामा झरे। पछि उनीसँग छुट्टिएका कबिरलाई उनले देखे। दुबैबीच कुराकानी हुन थाल्यो। तर कबिर कतै ट्र्यापमा फसेका थिए।

सञ्जयका अनुसार सुरुङभित्र अँध्यारो थियो। छामछाम छुमछुम गरेर बाटो खोजे पनि बाढीले भत्काएकाले भेट्न सकेनन्। अन्त जाँदा फसिएला भनेर जहाँ थिए त्यहीँ बसेर उद्धार टोलीको प्रतीक्षा गरे। नजिकै पानी आइरहेको थियो। त्यही धमिलो पानी कपडाले छानेर खाएर ज्यान जोगाएको उनले खुलाए।

केही दिनपछि उनीहरूले बाहिर एक्जाभेटरहरु चलेको आवाजहरू सुरुङभित्र सुन्न थाले। उनीहरूको आस पलायो। र उनीहरू सुरुङमा फसेको १० औँ दिन नेपाली सेनासहितको टिम उनीहरू भएको ठाउँमा पुगे।

साहले दिएको जानकारी अनुसार टोलीले सबैभन्दा पहिला कबिरलाई भेटेका थिए। उनले आफू पनि भएको भन्दै टोलीलाई जानकारी दिए। कबिर टनेलको स्वल्याबभित्र फसेका थिए। सञ्जय बाहिरै थिए। उद्धार टोलीको सदस्यहरूमध्ये केहीले सञ्जयलाई बाहिर ल्याउने प्रयास सुरु गरे।

अर्को टोलीले कबिरलाई ट्यापबाट बाहिर निकाल्ने प्रयास गरे। सञ्जय आफैँ हिँड्न सक्ने अवस्थामा थिए। तर कबिर घाइते थिए। उनलाई स्टेचरमा राखेर बाहिर निकालिएको थियो। सञ्जय बाढीबारे ढिला जानकारी आएको भन्दै भन्छन् 'आधा घण्टा समय पाएको हामी सबै माथि गएर बस्थ्यौँ। सबै जोगिन्थ्यौँ।"

भदौ २७, २०८३ शनिबार १७:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।