सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न 'एमालेले ग्यास लुकायो' भन्ने भ्रामक प्रचार गर्‍यो : एमाले

सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न 'एमालेले ग्यास लुकायो' भन्ने भ्रामक प्रचार गर्‍यो : एमाले

काठमाडौं : दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा कालोबजारी नियन्त्रणमा असफल वर्तमान सरकारले आफ्नो अयोग्यता र असक्षमता ढाकछोप गर्न ‘एमालेले ग्यास लुकायो’ भन्ने भ्रामक प्रचार गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ।

ललितपुरका व्यापारीसँग सम्बन्धित पुरानो र असम्बन्धित भिडियोलाई पार्टीसँग जोडेर सुनियोजित राजनीतिक षड्यन्त्र गरिएको भन्दै एमालेले दुष्प्रचारमा संलग्नहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया थाल्ने चेतावनी दियो। 

मंगलबार एक सूचना जारी गरेर एमालेले जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नसकेपछि सरकार विषयान्तर गर्न ‘गोयबल्स शैली’को भ्रामक प्रचारमा उत्रिएको दाबी गरेको छ। एमालेका कुनै पनि सदस्यले ग्यास लुकाएको पुष्टि गर्ने कुनै तथ्य वा प्रमाण नरहेको स्पष्ट पारेको छ।

पार्टीको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा सूचना र अफवाह फैलाउने कार्यमा संलग्नहरूको ‘डिजिटल निगरानी’ भइरहेको जनाउँदै एमालेले यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दियो। प्रायोजित यस्ता दुष्प्रचारबाट सचेत रहन अपिलसमेत गरेको छ।

भदौ ३०, २०८३ मंगलबार २२:२९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।