आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव
काठमाडौं : सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी हुन्। सामाजिक सञ्जालमार्फत आज उनले उक्त विधेयक अब मन्त्रिपरिषद् लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गरेकी छन्।
नयाँ प्रस्तावअनुसार हाल आमाले पाउँदै आएको ९० दिनको प्रसूति बिदा बढेर ६ महिना पुग्नेछ भने बुबाले पाउँदै आएको १५ दिनको बिदा बढेर ४२ दिन पुग्नेछ।
मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताइन्।
"जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,"मन्त्री गौतमले भनिन्।
मन्त्री गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने र हेरचाह गर्ने काम आमा-बुबा दुवैको साझा दायित्व भएको बताएकी छन्।
भदौ ३१, २०८३ बुधबार ११:०३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।