संसदमा उठ्यो आईसीयूमै अन्तर्वार्ता लिएको विषय, रास्वपा सांसदले भनिन्- 'मानव जीवनभन्दा ठूलो टीआरपी हुन सक्दैन'
काठमाडौं : भोटेकोशी बाढीका कारण जलविद्युत् गृहको सुरुङबाट सुरुङबाट उद्धार गरिएका दुई घाइतेको उपचाररत अस्पतालको आईसीयूलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले आपत्ति जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभामा बैठकमा रास्वपा सांसद बाँस्कोटाले सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा पुगेर अन्तर्वार्ता लिएको विषय संवेदनशील स्वास्थ्य मर्यादा र मानव जीवनमाथिको गम्भीर खेलबाड भएको बताएकी छन्।
रसुवा बाढीका क्रममा माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भएर नेपाली सेनाको अस्पतालमा उपचाररत सञ्जय साह र कबिर महर्जनको अस्पतालको आइसियु कक्षभित्रै युट्युवर सुरज सिंह ठकुरीले 'इन्साइड द बंकर' नामक युट्युब च्यानलका लागि करिब दुई घण्टा लामो अन्तर्वार्ता रेकर्ड गरेका थिए। उनले कार्यक्रमको प्रोमोदेखि युट्युवको हेडलाइनसम्म 'इन्साइड द आइसियु' राखेर कार्यक्रम प्रसारण गरेका थिए।
अस्पतालको आइसियु कक्षमै पुगेर युट्युबर ठकुरीले अन्तर्वाता लिएपछि उकेराले समाचार प्रकाशित गरेको थियो।
सोही विषयलाई संसद्मा उठाउँदै सांसद बाँस्कोटाले आइसियु बिरामीको गोपनीयता, स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणका लागि छुट्याइएको विशेष कक्ष भएकोले त्यहाँ परिवारलाई समेत निश्चित समय मात्र भेट्न दिइने नियम रहेको स्मरण गराइन्।
“आइसियु अस्पतालको अति संवेदनशील र जटिल अवस्थामा रहेको बिरामीहरूको लागि छुट्याएको कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणमा प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई समेत निश्चित समयमा भेटघाट गर्न दिइन्छ। तर दुईदिन अगाडी सार्वजनिक भएको अन्तर्वाताले हाम्रो संवेदनशिलतालाई उदाङ्गो पारिदिएको छ। अझ आइसियुमै अन्तर्वाता दिनु कति ईथिकल प्राक्टिस हो?” उनले भनेकी छिन्।
अन्तर्वार्ताका लागि क्यामेरा र क्यामेराम्यानसहितको टोली आईसीयूभित्र प्रवेश गर्नु र त्यसका लागि अस्पताल प्रशासन वा चिकित्सकहरूले स्वीकृति दिनु दुवै उत्तिकै गैरजिम्मेवार कार्य भएको उनको भनाइ छ। यस्तो संवेदनशील ठाउँमा अन्तर्वार्ता लिँदा त्यहाँ रहेका अन्य गम्भीर बिरामीहरूको जीवनसमेत जोखिममा पर्न सक्ने भन्दै उनले कुनै पनि विषयवस्तु, अन्तर्वार्ता वा भ्युज मानिसको जीवनभन्दा ठुलो हुन नसक्ने र मानव जीवनलाई टीआरपीमा तौलिने कार्य तत्काल रोकिनुपर्ने बताइन्।
"क्यामेरा, क्यामेरामेनदेखि विभिन्न व्यक्ति अन्तर्वार्तामा उपस्थित हुन्छन्। क्रिटिकल केयर युनिटमा कति संवदेनशिल भएर एक घण्टाको अन्तर्वार्ता दियौँ। सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बने बनेनन् यो पनि ठुलो विषय हो", बाँस्कोटाले भनिन्, "मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यु, भ्यजु हुँदैन। मानव जीवनलाई टिआरपीमा तौलिने काम बन्द हुनैपर्छ।"
साथै, उनले यस्ता गैरजिम्मेवार र लापरबाहीपूर्ण कार्य रोक्न सरकारसँग मेडिकल लापरबाहीसम्बन्धी कडा विधेयक ल्याउनसमेत माग गरिन्।
यसबारे प्रेस काउन्सिलले युट्युबर सुरज सिंह ठकुरीमाथि छानबिन सुरु गरेको छ भने स्वास्थ्य मन्त्रालय, नेपाली सेना र नेपाल मेडिकल काउन्सिलले पनि अस्पतालभित्र भएको मर्यादा उल्लङ्घन र लापरबाहीबारे आन्तरिक छानबिन तथा बुझ्ने प्रक्रिया अगाडि बढाएका छन्।
सम्बन्धित समाचार
भदौ ३०, २०८३ मंगलबार १५:०३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।