डा. ऋषभको उपचार अनुभव : भक्कानिँदै आत्महत्याको योजना सुनाएकी युवती जब मुस्कुराउँदै ओपिडीबाट बाहिरिइन्...
काठमाडौं : चिकित्सक बन्ने कुनै योजना वा सपना नभएका डा. ऋषभ कोइराला साथीहरूको उक्साहटले चिकित्सा अध्ययनमा लागे। मनोचिकित्सालाई उनले आफ्नो मुख्य विधाको रूपमा रोजे।
व्यक्तिका पिरमर्का छाम्नु सजिलो काम होइन, तर उनी यिनै जटिलताभित्र छिरेर कारण पत्ता लगाउँछन् र बिरामीको उपचारमा तल्लीन हुन्छन्।
मानसिक समस्याका बिरामीको उपचार र यससम्बन्धी अनुसन्धानलाई आफ्नो दैनिकी बनाएका मनोचिकित्सक तथा अनुसन्धाता डा. ऋषभले चिकित्सकीय यात्राका क्रममा भोगेका र देखेका अनुभव उकेरासँग यसरी साटेका छन् :
परामर्शपछि मुस्कुराएर फर्किएकी युवतीको अवस्था!
मानसिक स्वास्थ्य समस्या भोगिरहेकी एक युवतीको उपचार प्रसङ्ग डा. ऋषभले सम्झिरहन्छन्। केही वर्षअघि एक जना बुवा करिब १६ वर्षकी छोरीलाई उपचारका लागि अस्पताल लिएर आए।
ती युवती कलेजमा अध्ययनरत थिइन्। डा. ऋषभले युवतीलाई छुट्टै राखेर सामान्य रूपमा गफगाफ गरेझैँ गरी उनको अवस्थाबारे सोधपुछ गरे। सुरुमा ती युवतीले आफूलाई केही नभएको भनेर कुरा टारिन्। तर, चिकित्सकले गहिरिएर सोधपुछ गर्न थालेपछि उनी भक्कानिइन्।
आफूलाई आत्महत्याको सोच आएको र त्यसका लागि योजनासमेत बनाएको खुलाउँदै रुन थालिन्। रोए पनि उनले आफ्ना आँसु रोक्ने प्रयास गरिन्, जसले गर्दा उनका आँखा राता भएका थिए। डा. ऋषभले उनलाई आवश्यक मनोपरामर्श दिए र जीवन सुन्दर तथा मूल्यवान् रहेको कुरामा विश्वस्त पार्दै सम्झाए।
उनको समस्या पहिचान गरी आवश्यक औषधोपचार र परामर्श दिएपछि ती युवती ओपिडी कक्षबाट बाहिरिइन्। तर, ढोकाबाट बाहिरिने क्रममा उनले डा. ऋषभतिर फर्केर मुसुक्क मुस्कुराउँदै बिदा भइन्।
आत्महत्याको सोच आएर मृत्युको बाटो रोज्न तयार भइसकेकी युवती, परामर्शपछि जीवनप्रतिको सकारात्मक सोचसहित मुस्कुराएर फर्किएको त्यो आशाको पल सम्झँदा डा. ऋषभलाई आज पनि निकै खुसी लाग्छ।
जब १२ वर्षीया बालिका अस्पताल पुगिन्:
मानसिक स्वास्थ्य समस्याका कारण उपचारका लागि ल्याइएका बिरामीमध्ये एक बालिकाको प्रसङ्ग मनोचिकित्सक डा. ऋषभको मानसपटलमा अझै ताजा छ।
प्रसङ्ग करिब १२ वर्ष अघिको हो, जति बेला डा. ऋषभ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल) मा मनोचिकित्सा विषयमा एमडी तेस्रो वर्षका विद्यार्थी थिए।
त्यो दिन डा. ऋषभ अस्पतालको ड्युटीमै थिए। करिब १२ वर्षकी एक बालिकालाई मनोपरामर्श तथा उपचारका लागि उनका शिक्षित बुवाआमाले नै ओपिडीमा पुर्याएका थिए।
ओपिडीमा ल्याइएकी ती बालिकाको समस्या सुन्दा चिकित्सकको टोलीसमेत छक्क पर्यो। ती बालिकाले छिमेकीको एक वर्षभन्दा कम उमेरको बच्चाको हत्या गरेकी रहिछन्। छोरीमा कुनै मानसिक समस्या पो छ कि भनेर बुवाआमाले उनलाई मनोपरामर्श तथा औषधोपचारका लागि अस्पताल ल्याएका थिए।
कलिलो उमेरकी ती बालिका हेर्दा निकै साधारण देखिन्थिन् तर उनले घटाएको अकल्पनीय घटना सुन्दा चिकित्सकको टोली स्तब्ध भयो।
डा. ऋषभले मनोचिकित्सकीय दृष्टिले ती बालिकाले के-कसरी बच्चाको हत्या गरिन् भनेर कारण पत्ता लगाउने प्रयास गरे। सोधपुछका क्रममा ती बालिकामा सानैदेखि रिसाउने र झर्किने समस्या रहेको थाहा पाए। यही बानीका कारण छिमेकी र साथीभाइले पनि उनलाई हेप्ने तथा गाली गर्ने गर्दथे।
घटनाको दिन बिहान छिमेकी महिलाले ती बालिकालाई रिसाएकी रहिछन्। त्यसपछि ती महिलाले आफ्नो एक वर्ष नपुगेको बच्चालाई घरको पिँढीमा कोक्रोमा सुताएर खेतबारीमा काम गर्न गइन्।
खेतबारीमा गएको मौका छोपेर ती बालिकाले कोक्रोमा सुतिरहेको बच्चालाई कुटोले प्रहार गरिन्, जसका कारण बच्चाको मृत्यु भयो। बच्चाको मृत्यु भएको थाहा पाएपछि उनले शवलाई भुईँमा गाड्न खोजेकी रहिछन्।
मृत बच्चा गाड्न लाग्दा बच्चाका बुवा आइपुगे। उनलाई देख्नासाथ ‘अब प्रहरी आएर लैजान्छ’ भन्ने डरले ती बालिका दौडिएर भागिन्।
पछि प्रहरीले ‘किन यस्तो सानो बच्चालाई मारेको?’ भनेर सोध्दा ती १२ वर्षीया बालिकाले, ‘मलाई त्यो बच्चाकी आमाले बिहान गाली गरेकी थिइन्, आमाको चित्त दुखाउनलाई बच्चा मारिदिएँ’ भन्ने जवाफ दिएकी थिइन्। बच्चाको मृत्युले गाउँमा खैलाबैला मच्चियो र पीडित परिवारमा ठूलो पीडा भयो। यो घटना भएपछि ती बालिकालाई मानसिक समस्या हुन सक्ने शंकामा चेकजाँच तथा औषधोपचारका लागि अस्पताल ल्याइएको थियो।
चिकित्सकको टोलीले बालिकाको स्वास्थ्य परीक्षण तथा विस्तृत सोधपुछ गर्दा उनमा ‘पर्सनालिटी डिसअर्डर’को एक प्रकार ‘डिससोसियल पर्सनालिटी’का लक्षण देखिए। यसलाई ‘एन्टिससोसियल पर्सनालिटी डिसअर्डर’ पनि भनिन्छ। त्यसपछि उनलाई अस्पतालमै भर्ना गरेर थप जाँच तथा औषधोपचार गरिएको डा. ऋषभले सुनाए।
उनका अनुसार, ‘डिससोसियल पर्सनालिटी डिसअर्डर’ भएका व्यक्तिहरूमा झूट बोल्ने, आफ्ना गल्तीप्रति पश्चात्ताप महसुस नहुने, कसैप्रति दया, करुणा वा सहानुभूति नदेखाउने जस्ता लक्षण हुन्छन्। यस्तो समस्या भएका व्यक्तिले आवेगमा आएर जोखिमपूर्ण निर्णय लिने, हत्या-हिंसा समेत गर्न सक्ने, आक्रामक भएर झगडा गरिरहने, रिस थाम्न नसक्ने र अरूलाई शारीरिक तथा मानसिक चोट पुर्याउने खालका व्यवहार देखाउन सक्छन्।
जन्मजातै यस्तो समस्या भएका व्यक्तिहरूमा अत्यधिक तनाव, भावनात्मक आघात र विगतका पीडादायी घटनाहरूले समस्यालाई अझ बढाउन सक्छ। तर, बेलैमा पहिचान गरेर उपचार गरेमा यस्तो समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ।
ती १२ वर्षीया बालिकामा पनि यही प्रकृतिका लक्षण देखिएका थिए। जन्मजातै अरूको पीडा महसुस गर्न नसक्ने मानसिक स्थितिका कारण उनले यस्तो घातक कदम उठाएको निष्कर्षमा चिकित्सकहरू पुगे।
समस्या र त्यसको कारण पहिचान गरेर केही दिन अस्पतालमा भर्ना गरी औषधोपचार गरेपछि ती बालिकाको मानसिक स्वास्थ्यमा सुधार आउन थाल्यो। स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनलाई फलोअपमा आउने सल्लाह दिएर अस्पतालबाट डिस्चार्ज गरियो। तर, त्यसपछि उनीहरू फलोअपमा नआएकाले ती बालिकाको अवस्थाबारे आफूलाई जानकारी नभएको डा. ऋषभले सुनाए।
त्यो पुस्तक, जसले मनोचिकित्सातर्फ डोर्यायो
काठमाडौंको भोटेबहालमा वि.सं. २०३९ सालमा जन्मिएका ऋषभ कोइरालाले २०५५ सालमा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी पास गरे। त्यसपछि उनले नेपाल साइन्स क्याम्पसबाट आइएस्सी पूरा गरे।
सुरुमा ऋषभले डाक्टर बन्ने सपना कहिल्यै देखेका थिएनन्। बरु उनलाई साहित्य, संगीत र दर्शनशास्त्रमा बढी रुचि थियो र उनी यस्तै विषयहरू अध्ययन गर्न चाहन्थे।
तर, उनका एक साथीले एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न उक्साएपछि उनले साथीकै प्रेरणामा परीक्षा दिए र नाम पनि निस्कियो। त्यसपछि उनी सन् २००३ मा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आंशिक छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि भर्ना भए। एमबीबीएस पढ्न त थाले तर सुरुका दिनहरूमा उनले मनमनै आफूलाई प्रश्न गर्ने गरेका थिए- ‘मैले यो विषय किन पढिरहेको छु?’
यद्यपि, उनी पहिलो वर्षमा पनि भए। एमबीबीएस अध्ययनको दोस्रो वर्षमा एक दिन उनले कलेजको पुस्तकालयमा मानसिक स्वास्थ्य समस्यासम्बन्धी विभिन्न घटना अध्ययन (केस सिरिज) समेटिएको एउटा पुस्तक भेट्टाए। त्यो पुस्तकले उनको सोचाइ नै बदलिदियो।
दर्शनशास्त्रमा बढी रुचि राख्ने ऋषभले उक्त पुस्तक पढेपछि बल्ल आफू चिकित्सक बन्ने र भविष्यमा मनोचिकित्सा विषयमै अध्ययन गर्ने दृढ अठोट लिए। उनले सन् २००९ मा एमबीबीएस अध्ययन पूरा गरे।
ललितपुरको ‘कर्णाली’मा ६ महिनाको त्यो अनुभव
एमबीबीएस अध्ययन पूरा गरेपछि डा. ऋषभ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा मेडिकल अधिकृतका रूपमा काम गर्न थाले। त्यहाँबाट चिकित्सकहरूलाई विभिन्न स्वास्थ्य चौकीमा पोष्टिङ गरेर पठाउने चलन थियो। सोही क्रममा पाटन अस्पतालले डा. ऋषभलाई पनि ललितपुरको भट्टेडाँडाको एउटा स्वास्थ्य चौकीमा तीन महिनाका लागि खटायो।
त्यति बेला ललितपुरको ‘कर्णाली’ मानिने त्यो दुर्गम ठाउँमा पुगेर काम गर्न थाल्दा काठमाडौंमा जन्मिएर हुर्केका डा. ऋषभलाई सुरुवाती दिनहरूमा निकै सकस भयो। त्यहाँ स्वास्थ्य चौकीमा एचए मात्रै कार्यरत थिए।
डा. ऋषभ बिदाको दिन स्टेथेस्कोप बोकेर गाउँ घुम्न निस्कन्थे। बाटोमा चौतारी वा गाउँमा भेटिएका मानिसहरूको स्वास्थ्य जाँच गर्ने, औषधि लेखिदिने र आवश्यक उपचारका लागि सल्लाह दिने गर्दथे। यसरी गाउँ घुम्ने क्रममा उनले त्यहाँका बासिन्दाबाट माया पाए।
एक दिन गाउँ घुम्ने क्रममा उनले एउटा चौतारीमा बसेर पाको उमेरका केही व्यक्तिहरू गफगाफ गरिरहेको देखे। आपसमा मुस्कुराउँदै ती वृद्धहरू भन्दै थिए, ‘आजकाल त हामीलाई धेरै सुख छ। पहिला त गाउँमा गाडी पनि आउँदैनथ्यो, अहिले त हिँडेरै एक घण्टामा गाडी चढ्ने ठाउँमा पुग्न सकिन्छ।’
गाडी चढ्न पाइयो भनेर बुढापाकाहरू यसरी दङ्ग परेको देखेर डा. ऋषभले सोचे, ‘मानिसलाई खुसी बन्न त सानो कुराले पनि कति धेरै अर्थ राख्दो रहेछ! कोही घरैमा गाडी आउँदा पनि असन्तुष्ट हुन्छन्, तर कोही चाहिँ एक घण्टा हिँडेर गाडी चढ्न पाइन्छ भन्दा पनि यति धेरै खुसी हुन्छन्।’
बिरामी जाँच र सेवा गर्दै भट्टेडाँडामा उनको तोकिएको तीन महिनाको समय पुरा भयो। उनी फर्किने बेला भयो, तर उनी फर्किने कुराले गाउँले र स्वास्थ्य चौकीका कर्मचारीहरू दुःखी भए। उनीहरूले डा. ऋषभलाई त्यहाँबाट फर्कन नै दिएनन्। स्थानीयको आग्रहलाई मानेर उनले थप तीन महिना त्यही गाउँमा बिताए। यसरी ६ महिना पाटन अस्पतालमा र ६ महिना ललितपुरको त्यो दुर्गम ठाउँ भट्टेडाँडामा गरी उनले एक वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।
मनोचिकित्सा पढ्ने भन्दा नाक खुम्च्याउँथे
डा. ऋषभलाई चिकित्साशास्त्रमा स्नातकोत्तर तह अध्ययन गर्नुपर्ने थियो, त्यसमा पनि उनले मनोचिकित्सा विषयमै एमडी गर्ने अठोट गरिसकेका थिए। तर, परिवार र आफन्तहरू भने उनले यो विषय पढ्ने सुनाउँदा नाक खुम्च्याउँथे।
त्यो समयमा मानसिक स्वास्थ्यसम्बन्धी डाक्टरलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो थिएन र यसलाई त्यति महत्त्व दिएको पाइँदैनथ्यो। त्यसैले परिवार, आफन्त र चिनजानका मानिसहरूले उनलाई यो विषय नपढ्न सुझाव दिन्थे।
तर, एमबीबीएसको दोस्रो वर्षमै मनोचिकित्सा विषय रोज्ने दृढ संकल्प गरिसकेका ऋषभलाई कसैको कुरा प्रवाह थिएन। त्यसैले परिवार र आफन्तको सल्लाह विपरीत उनी एमडीमा यही विषय पढ्ने आफ्नो निर्णयमा अडिग रहे।
त्यसपछि उनले प्रवेश परीक्षाको तयारी गरेर परीक्षा दिए र सफलता पनि हात पारे। उनी त्रिवि शिक्षण अस्पतालअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा मनोचिकित्सा विषयमा एमडी अध्ययनका लागि सन् २०११ मा भर्ना भए। सरकारी पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका उनले सन् २०१४ मा आफ्नो तीन वर्षे एमडी कोर्स पूरा गरे।
एमडी सकिए लगत्तै उनले मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय ‘टिपीओ नेपाल’ नामक गैरसरकारी संस्थामा मनोचिकित्सकका रूपमा काम सुरु गरे। यात्रा गर्न रुचि राख्ने उनले सोही संस्थामार्फत नेपालका विभिन्न ठाउँमा पुगेर मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान र सीप बाँडे। सोही क्रममा उनले विश्व स्वास्थ्य सङ्गठनमा विज्ञ चिकित्सक (कन्सल्टेन्ट) का रूपमा पनि काम गरे।
मनको चोटमा विद्यावारिधि
डा. ऋषभको अध्ययनप्रतिको तिर्सना मेटिएको थिएन। त्यसैले उनले नर्वेको ‘युनिभर्सिटी अफ ओस्लो’बाट सन् २०२२ मा ‘आघातले व्यक्तिको शरीर र सोचाइमा के परिवर्तन ल्याउँछ’ भन्ने विषयमा विद्यावारिधि गरे।
मनमा परेको गहिरो आघात (चोट) रगतको परीक्षणमार्फत त्यसको विश्लेषण गरी आघातले शारीरिक र सोचाइमा ल्याउने परिवर्तनबारे उनले गहिरो अनुसन्धान गरे। मनमा चोट वा आघात परेका व्यक्तिहरूलाई शारीरिक र मानसिक रूपमा कस्तो समस्या हुन्छ भन्ने विषयमा केन्द्रित रहेर नेपालमा त्यसअघि यस्तो किसिमको अध्ययन नभएको उनले बताए।
विद्यावारिधिका क्रममा उनले विभिन्न धर्म, संस्कृति, मनोचिकित्सा तथा मनोविज्ञानजस्ता विषयमा केन्द्रित रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलनहरू समेत गरे, जो उनलाई मनोचिकित्सासम्बन्धी थप ज्ञान, सीप र अनुभव हासिल गर्ने अवसर बन्यो। त्यसपछि उनले ‘ब्रेन न्यूरोसाइन्स सेन्टर नेपाल’ नामक संस्था स्थापना गरेर काम सुरु गरे।
मानसिक स्वास्थ्यमा समस्या भएका बिरामीहरूको समस्या पहिचान गरी औषधोपचार गर्नु अहिले उनको मुख्य काम हो भने यससम्बन्धी खोज तथा अनुसन्धान उनको दैनिकी बनेको छ।
त्यति मात्र होइन, क्यान्सरका बिरामीहरूमा देखिने मानसिक समस्या रोकथाम गर्न र भइहालेको खण्डमा उनीहरूको औषधोपचार गर्न उनी उत्तिकै सक्रिय छन्। नेपालमै पहिलो पटक करिब १० वर्ष अघि नेपाल क्यान्सर अस्पतालमा ‘साइको-अंकलोजी’ विभाग स्थापना गरी ओपिडी सुरु गरेर क्यान्सरका बिरामीहरूलाई मनोपरामर्श तथा उपचार गर्न सुरु गरेको डा. ऋषभले सुनाए। उनी अहिले पनि यही कर्ममा सक्रिय रूपमा लागिरहेका छन्।
भदौ २८, २०८३ आइतबार ००:१५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।