पुष्कर गुरुङको हिजोका कुरा : ‘दरबारबाट बोलेको’ भन्दै क्याम्पस प्रमुखलाई फोन घुमाएँ, अनि मात्र पाएँ भर्ना!

पुष्कर गुरुङको हिजोका कुरा : ‘दरबारबाट बोलेको’ भन्दै क्याम्पस प्रमुखलाई फोन घुमाएँ, अनि मात्र पाएँ भर्ना!

काठमाडौं : नाटकबाट अभिनय यात्रा सुरु गरी फिल्मको पर्दासम्म स्थापित भएका कलाकार हुन्- पुष्कर गुरुङ। उनी अभिनीत पछिल्लो फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनको तयारीमा छ।

दोलखाको फस्कु गाउँमा जन्मिएका उनले गाउँकै विद्यालयबाट कक्षा ५ सम्मको अध्ययन पूरा गरे। गाउँमा माथिल्लो तहको विद्यालय नभएपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनी दरबार हाई स्कुलमा सिधै कक्षा ८ मा भर्ना भए।

दरबार हाई स्कुलबाटै तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे उनलाई कम अंक आएका कारण कलेजमा भर्ना पाउन कठिन थियो। पुष्करले एउटा रोचक जुक्ति लगाए- ‘दरबारबाट बोलेको’ भनेर ल क्याम्पसका प्रमुखलाई फोन गरे।

अनि मात्र उनले भर्ना पाए। त्यहीँबाट कानुनमा स्नातक (बी.एल.) सम्मको अध्ययन पूरा गरेका उनले वि.सं. २०३९ देखि सर्वनाम थिएटरबाट आफ्नो अभिनय यात्रालाई अगाडि बढाए। कलाकार पुष्कर गुरुङले आफ्नो पढाइ, रङ्गमञ्चका संघर्ष र भोगाइबारे 'उकेरा'को कोलम हिजोको कुराकानीसँग यसरी सुनाए :

तराई झरेपछि दिदीको भर

मेरो जन्म वि.सं. २०१९ साउन २१ गते तत्कालीन फस्कु गाउँ पञ्चायत (दोलखा) मा भएको हो। दुई दिदीबहिनी र पाँच दाजुभाइमध्ये म परिवारको कान्छो सन्तान हुँ। मेरो प्रारम्भिक शिक्षा गाउँकै दार्खा प्राथमिक विद्यालयमा भयो, जहाँ त्यसबेला कक्षा ५ सम्म मात्र पढाइ हुन्थ्यो। हाल उक्त विद्यालय माध्यमिक तहसम्मको पढाइ हुन्छ।

हाम्रो पारिवारिक पृष्ठभूमि केही संघर्षपूर्ण रह्यो। मेरा बुबा सिन्धुपाल्चोकको चोकटीबाट दोलखा जानुभएको थियो। सेनामा कार्यरत रहँदा उहाँले दोस्रो विश्वयुद्धसमेत लड्नुभएको थियो। हाम्रो बाल्यकाल मावलमै बित्यो। मावलमा दाजुभाइ (मामाहरू) नभएकाले बुबा त्यहीँ बस्नुभएको थियो, तर गाउँलेले 'घरज्वाइँ' भनी कुरा काटेको र हजुरआमासँगको केही कुरामा विवाद भएपछि उहाँले मावल छोड्ने निर्णय गर्नुभयो। त्यसपछि बुबाले पेन्सनको रकमबाट सर्लाहीमा सात बिघा जमिन किनेर आमा र बहिनीलाई लिई तराई झर्नुभयो।

त्यो कठिन समयमा हाम्री जेठी दिदीले ठूलो त्याग गर्नुभयो। ‘भाइहरूलाई म आफैँ हुर्काउँछु र पढाउँछु’ भन्दै उहाँ हामीसँगै बस्नुभयो। दिदीकै रेखदेख र स्नेहमा हामीले पढ्ने अवसर पायौं। उहाँले विवाहसमेत गर्नुभएन। हाल ८१ वर्ष पुग्नुभएकी दिदीको त्यो बेला कति बुद्धिमानी! जुन समयमा समाजमा शिक्षाको चेतना निकै कम थियो, तर उहाँमा शिक्षाप्रति लगाव थियो।

गाउँमा ५ कक्षाभन्दा माथि पढाइ नहुने भएकाले पाटनमा पढ्दै गर्नुभएका दाजुको साथ लागेर म वि.सं. २०३३ मा काठमाडौं आएँ। दाजुले मलाई दरबार हाई स्कुलको कक्षा ८ मा भर्ना गरिदिनुभयो। प्राथमिक तहपछि सिधै माथिल्लो कक्षामा भर्ना हुँदा मलाई सुरुका दिनमा निकै कठिनाइ भयो। शिक्षकले पढाएका कुराहरू सपनाजस्तै लाग्थे र केही बुझिँदैनथ्यो। यद्यपि, मलाई दाजुले गणित विषयमा फोकस गर्नुभयो। म गणित विषयमा भने राम्रो थिएँ।

मैले वि.सं. २०३६ सालमा दरबार हाई स्कुलबाटै तृतीय श्रेणीमा एसएलसी पास गरेँ। मेरो पढाइमा ज्ञानेश्वारका साथी ध्रुवबहादुर देवकोटाको संगतले पनि सहयोग पुर्यायो। उनका बाजेले भारतको पटनाबाट एसएलसी उत्तीर्ण गरेर आउँदा गाउँमा सिन्दूर जात्रा नै गरिएको चर्चा सुनिन्थ्यो। त्यो समयमा एसएलसी उत्तीर्ण गर्नुलाई समाजमा निकै ठूलो उपलब्धि मानिन्थ्यो। यसरी दिदीको त्याग र दाजुको सहयोगले मेरो विद्यालय तहको शिक्षा पूरा भयो।

दरबारको मान्छे भनेर ल क्याम्पसमा फोन गरेर भर्ना 

एसएलसीमा ४ अंक हुँदा मेरो द्वितीय श्रेणी (४५ प्रतिशत प्राप्तांक) पुगेन। त्यसबेला अहिलेको जस्तो निजी कलेजहरू थिएनन्; शंकरदेव, आर.आर., त्रिचन्द्र र ल क्याम्पस लगायतका सरकारी कलेजहरू मात्र थिए। ती कलेजहरूमा भर्ना हुन ५३ देखि ५५ प्रतिशतसम्म अंक आवश्यक पर्थ्यो, जसका कारण मेरो भर्ना हुने सम्भावना निकै कम थियो।

मैले जसरी पनि कानुन पढ्ने निधो गरेँ र एउटा जुक्ति निकालेँ। त्यस समयमा अहिलेको जस्तो हात-हातमै मोबाइल फोन हुँदैनथ्यो। महँगो शुल्क तिरेर घुमाउने टेलिफोनबाट मात्र कुरा गर्न सकिन्थ्यो। मैले ल क्याम्पसका प्रमुख (चिफ) लाई फोन गरेँ र आफ्नो परिचय दिँदा दरबारबाट बोलेको भनेँ। त्यो बेलामा दरबारको नाम सुन्नेबित्तिकै सरकारी कर्मचारीहरू तर्सिन्थेँ, त्यो कुरा मलाई थाहा थियो। दरबारले केही गर्दैन थियो, तर कर्मचारीहरू डराउँथे। क्याम्पस प्रमुखले मैले गरेको फोनलाई 'दरबार'बाट आएको फोन ठानेर निकै सतर्क हुँदै "हजुर, हजुर" भनी प्रतिक्रिया दिनुभयो।

मैले फोनमा तेस्रो व्यक्ति बनेर भनेँ, "पुष्कर गुरुङ भन्ने एउटा विद्यार्थी कानुन पढ्न चाहन्छ, उसको अंक अलि कम छ, यसो विचार गरिदिनुहोला।" क्याम्पस प्रमुखले तुरुन्तै सकारात्मक जवाफ दिँदै मलाई कलेज पठाउन भन्नुभयो। त्यसपछि म आफैँ कलेज गएँ र डोरीले बाँधेर राखिएका थुप्रै आवेदन फारमहरूबाट आफ्नो फारम खोज्न लगाएर भर्ना भएँ। यसरी 'दरबार' शब्दको प्रभावले गर्दा मैले भर्नाको अवसर पाएँ र पछि त्यहीँबाट कानुनमा स्नातक (बी.एल.) सम्मको अध्ययन पूरा गरेँ।

त्यसताका सञ्चार सेवा निकै कठिन र सीमित थियो। दोलखाबाट काठमाडौं फोन गर्न 'आभाघर' जानुपर्थ्यो, जहाँ जेनेरेटर चलाएर मात्र फोन सञ्चालन गरिन्थ्यो। कसैको फोन आउँदा वा गर्दा गाउँभरि चर्चा हुन्थ्यो। त्यस्तै, विदेशमा फोन (ट्रङ्कल) गर्नका लागि त्रिपुरेश्वर वा ललितपुरसम्म धाउनुपर्ने बाध्यता थियो।

छोरो आर्मी बनोस् बुबाको सपना

मेरो बुबाको चाहना म सेना बनोस् भन्ने थियो। मैले आई.ए. पास गरेपछि उहाँले मलाई 'सेकेण्ड लेफ्टिनेन्ट'मा भर्ती गराउन तत्कालीन जर्नेल गडुल शमशेर जबरा कहाँ लैजानुभयो। यदि त्यसबेला मैले बुबाको इच्छा स्वीकार गरेको भए, आज म नेपाली सेनाबाट अवकाश प्राप्त जर्नेल भएर जीवन बिताइरहेको हुने थिएँ। सायद मेरो परिचय अर्कै हुन्थ्यो।

तर, बुबाको त्यो चाहनाभन्दा पहिले नै मेरो मन नाटक र रङ्गमञ्चतर्फ मोडिसकेको थियो। दरबार हाई स्कुलमा १० कक्षामा पढ्दा म पुतलीसडक नजिकै धोबीधारामा बस्थेँ। मेरो डेरा नजिकैको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (एकेडेमी) मा नाटक महोत्सव भइरहन्थ्यो। त्यसबेलासम्म मलाई नाटकको बारेमा खासै जानकारी थिएन। एकदिन साथी छलराम पौडेलले ‘नाटक हेर्न जाऔँ’ भनेपछि म पनि उनीसँगै लागेँ। हामीसँग टिकट काट्ने पैसा त थिएन, तर पालेलाई मनाएर हामी भित्र छिर्न सफल भयौं।

हलभित्र मञ्चमा नीर शाह र हरिहर शर्मा अभिनय गरिरहनुभएको थियो। उहाँहरूको प्रस्तुति, विशेषगरी नीर शाहको आत्मविश्वास र प्रभावकारी बोल्ने शैलीले मलाई निकै प्रभावित भएँ।

मञ्चमा उभिएर त्यसरी निर्धक्कसँग बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने हुटहुटी मेरो मनमा त्यहीँबाट पलायो। नीर शाहको त्यही व्यक्तित्वबाट प्रभावित भएर मैले उहाँलाई आइडल मान्न थालेँ र भविष्यमा आफू पनि कलाकार बन्ने सपना बुन्न थालेँ।

नाटकका लागि दुई वर्ष संघर्ष

ल क्याम्पसमा भर्ना भएपछि म सर्वनाम थिएटरमा जोडिएँ। त्यसबेला अहिलेको जस्तो थिएटरमा प्रवेश गर्नेबित्तिकै अभिनयको अवसर पाइँदैनथ्यो। वि.सं. २०३९ तिर सर्वनाममा जोडिँदा मैले सुरुका दुई वर्ष नाटकका सरसामान ओसार्ने र व्यवस्थापनमा सघाउने जस्ता सहयोगीको काम गरेर बिताएँ।

दुई वर्षको कडा परिश्रम र धैर्यपछि मात्र मैले अशेष मल्लको लेखन तथा निर्देशनमा बनेका नाटकहरू ‘समाप्त असमाप्त’ र ‘तुवाँलोले ढाकेको बस्ती’मा अभिनय गर्ने मौका पाएँ। यद्यपि ती भूमिका साना र केही प्रहसन शैलीका थिए, तर तिनै प्रस्तुतिले गर्दा पुष्करले पनि अभिनय गर्न सक्छ भन्ने धेरैले थाहा पाए।

वि.सं. २०३९ मा यी दुवै नाटक प्रदर्शनका लागि हामी दुई दिनका लागि पोखरा गएका थियौं। पोखराको त्यही मञ्चनबाट मेरो अभिनय यात्रा सुरु भयो।

नाटकका दर्शक

त्यस समयमा नाटक मञ्चन गर्दा सुरुका केही दिन दर्शकको प्रतीक्षा गर्नुपर्थ्यो। प्रचारप्रसार बढ्दै गएपछि मात्र चौथो-पाँचौं दिनपछि दर्शकको निकै घुइँचो लाग्ने गर्थ्यो। स्टेज नाटकबाट खासै आम्दानी नहुने भएकाले मैले आर्थिक आधारका लागि विभिन्न संस्थाहरूसँग मिलेर सडक नाटकहरू पनि गरेँ।

त्यसपछि म बिस्तारै पर्यटन क्षेत्रतर्फ लागेँ। सुरुमा टुरिस्ट गाइडका रूपमा काम गरेँ र पछि आफ्नै ट्रेकिङ एजेन्सी खोलेँ। नाटक र पर्यटन दुवै क्षेत्रमा बिहानदेखि रातिसम्मै समय दिनुपर्ने हुन्थ्यो। व्यवसायको व्यस्तता बढ्दै गएपछि मैले नाटकका लागि समय निकाल्न सकिनँ र अभिनय यात्रालाई केही समयका लागि थाँती राख्नुपर्यो। पर्यटन व्यवसायमा आम्दानी निकै राम्रो थियो, जसले गर्दा म छोटो समयमै सामान्य कर्मचारीबाट पदोन्नति भई एउटा सफल व्यवसायीका रूपमा स्थापित भएँ। 

​​​​​​​

टेलिफिल्मको अनुभव 

वि.सं. २०४१ मा बीपी कोइरालाले लेखेको कथामा आधारित र अशेष मल्लको निर्देशनमा बनेको टेलिफिल्म ‘एक रात’ मा मैले अभिनय गर्ने अवसर पाएँ। त्यसमा मेरो भूमिका खासै ठूलो थिएन। मलाई एउटा बम पड्काउने दृश्य दिइएको थियो, जसमा मेरो एउटा डाइलग थियो- “म पड्काउँछु!”

त्यो टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण भएको भोलिपल्टै देखि मलाई मानिसहरूले चिन्न थाले। म ठमेलतिर हिँड्दा पनि टेलिभिजन भएका घरका मानिसहरूले “ऊ, बम पड्काउने मान्छे” भनेर हातले देखाउन थाले। सानै भूमिका भए पनि दर्शकबाट पाएको त्यो प्रतिक्रियाले मलाई कलाकारितामा लाग्दा पहिचान बन्ने रहेछ भन्ने महसुस गरायो।

त्यही उत्साहका साथ मैले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिएँ, जुन आजसम्म पनि जारी छ। विगतको तुलनामा अहिले यो क्षेत्रमा काम गर्न धेरै सहज भइसकेको छ।

भदौ ११, २०८३ बिहीबार १९:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।