प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमारलाई कलबाइपासमा पक्राउ गरेर छानबिन गर्न जेनजी मुभमेन्टको माग
काठमाडौं : जेनजी मुभमेन्ट नेपालले कलबाइपासमा संलग्न देखिएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलाई तत्काल पक्राउ गरेर निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा व्यञ्जनकारमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप लागेको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका हुन्।
वक्तव्यमा गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राख्नु कानुनी शासनको उपहास भएको उल्लेख छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने जेनजी मुभमेन्ट नेपालको भनाइ छ।
व्यञ्जनकार करिब १० वर्ष अगाडि कल बाइपासमा नेपालमा सक्रिय बंगलादेशी समूहमा रहेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको तर तत्कालीन सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएको प्रमाणसहित उकेराले समाचार प्रकाशित गरेको थियो। पक्राउ अगाडिसम्म कुमारले आफ्नो पुरै थर व्यञ्जनकार प्रयोग गर्ने गरेकोमा कलबाइपासमा जोडिए पछि भने बेन लेख्ने गरेको देखिएको थियो।
मुभमेन्टले व्यञ्जनकारलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको तर उनको शैक्षिक योग्यता एसएलसी पास मात्र रहेको भन्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिको योग्यतामाथिसमेत प्रश्न उठाएको छ।
सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले संवेदनशील रूपमा उठाएको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको उसले जनाएको छ।
भदौ २६, २०८३ शुक्रबार १५:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
