नाट्यकर्मी हरिहरको हिजोका कुरा : बालकृष्ण समका नाटक निर्देशन गरेँ, तर उहाँकै निर्देशनमा खेल्ने धोको अधुरै रह्यो!

नाट्यकर्मी हरिहरको हिजोका कुरा : बालकृष्ण समका नाटक निर्देशन गरेँ, तर उहाँकै निर्देशनमा खेल्ने धोको अधुरै रह्यो!

काठमाडौं : धेरै नाट्यकर्मीका गुरु हुन् हरिहर शर्मा। वि.सं. २०११ सालमा प्युठानको चौरपानीमा जन्मिएका उनी उमेरले पाका भइसके, तर अभिनय र रंगकर्मप्रति उनको सक्रियता र लगावमा कुनै कमी आएको छैन।

गाउँकै स्कुलमा पढ्दा विद्यालयको वार्षिकोत्सवका अवसरमा उनले पहिलो पटक शिक्षकले लेखेको ‘आमाको पुकार’ नाटकमा अभिनय गरे। नाटकलाई निर्देशन समेत उनैले गरेका थिए। यही नाटकले हो, उनलाई अभिनयमा लाग्न प्रेरित गरेको।

भारतको आसामबाट म्याट्रिक पास गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। चार भाइमध्ये जेठो छोरा भएकाले परिवारको जिम्मेवारी समेत उनैको काँधमा थियो। त्यसैले बुबाआमाको चाहना उनले कुनै गतिलो सरकारी जागिर खाओस् भन्ने थियो। तर उनको मन भने नाटक र अभिनयतिर मोडिइसकेको थियो।

 २०२९ सालमा दिनरात हिँडेर चार दिन लगाएर अमृत साइन्स क्याम्पसमा विज्ञान विषय पढ्नका लागि काठमाडौं आएका थिए। पढाइकै सिलसिलामा एक दिन उनले ‘गोरखापत्र’ दैनिकमा प्रज्ञा-प्रतिष्ठान (नेपाल रोयल एकेडेमी) ले नाटकमा काम गर्नका लागि विज्ञापन खोलेको देखे। उनले आवेदन दिए र परीक्षा पास गरेपछि एकेडेमीको जागिरे बने।

एकेडेमीमा जागिरे भएपछि उनको भेट बालकृष्ण सम, विजय मल्ललगायत साहित्य तथा रंगकर्मका हस्तीहरूसँग हुन थाल्यो। प्राज्ञिक जीवनकै क्रममा वि.सं. २०३३ सालतिर निर्माण भएको ‘सिन्दुर’ फिल्मबाट उनले ठूलो पर्दामा डेब्यु गरे। दर्शकमाझ उनलाई अझ बढी लोकप्रिय र परिचित भने फिल्म ‘वासुदेव’ले गरायो। तर, बालकृष्ण समको निर्देशनमा अभिनय गर्न नपाएकोमा उनलाई आज पनि पछुतो छ।

बाल्यकाल
मेरो बाल्यकाल राम्रै बित्यो। हामी चार दाजुभाइमध्ये म जेठो हुँ। म पढाइमा एकदमै तेज थिएँ र मेरो ध्यान पढाइबाहेक अरू कुरामा जाँदैनथ्यो। सुरुमा अभिनय गर्ने वा गाउनेजस्ता विषयमा मेरो रुचि नै थिएन।

तर, स्कुलमा ‘आमाको पुकार’ नामक नाटकमा अभिनय गरेपछि भने सबैले “ओहो, कस्तो राम्रो अभिनय गरेको!” भन्दै स्याबासी दिन थाले। त्यसपछि अभिनयतर्फ मेरो रुचि बढ्न थाल्यो।

कलेजमा अध्ययन गर्दा पनि मैले नाटकहरूमा अभिनय गरेँ र त्यहाँ पनि धेरैले मेरो अभिनयलाई मन पराइदिए। सायद यहीँबाट पाएको प्रशंसा र हौसलाले नै मलाई नाटकमा लाग्न प्रेरित गर्यो, नत्र सुरुमा मेरो यतातिर ध्यानै थिएन।

नाटक गर्दाको अनुभव
पहिला र अहिले नाटक गर्दाको अनुभवमा खासै धेरै भिन्नता छैन, कुरा उही अभिनय नै हो। तर, त्यो बेला नाटक गर्दा चाहिने प्राय सामग्रीहरू घरबाटै बोकेर लैजानुपर्थ्यो। तुलनात्मक रूपमा हेर्दा अहिले स्कुलको स्टेजमा नाटक गर्न अलिक सहज भएको छ।

मैले पहिलो पटक वि.सं. २०२३ सालमा स्कुलको वार्षिकोत्सवका अवसरमा ‘आमाको पुकार’ नाटक खेलेको थिएँ। हाम्रै सरले लेखिदिनुभएको उक्त नाटकको निर्देशन पनि म आफैँले गरेको थिएँ। पहिलो पटक नाटकमा काम गर्दाको त्यो क्षण म अहिले पनि सम्झन्छु। किनकि नाटक देखाइसकेपछि सबैले मलाई स्याबासी दिएका थिए र म पुरस्कृत पनि भएको थिएँ।

त्यो समयमा स्कुलमा हुने नाटकमा छात्राहरूको पनि उपस्थिति हुन्थ्यो। तर, स्कुलबाहिर हुने नाटकमा भने उनीहरूको सहभागिता न्यून नै हुन्थ्यो। त्यतिबेला घरबाट बाहिर गएर नाटक खेल्न उनीहरूलाई छुट थिएन र अभिभावकहरू पनि केही हिचकिचाउँथे। त्यतिबेला छोरीहरूका लागि अहिलेको जस्तो खुला वातावरण थिएन।

प्युठानबाट काठमाडौं आउँदाको क्षण
म काठमाडौं आउँदा धेरैजसो हिँडेरै आउनुपर्ने बाध्यता थियो, किनकि अहिलेको जस्तो जताततै यातायातको सञ्जाल र बाटोघाटो थिएन। म वि.सं. २०२९ सालमा काठमाडौं आउँदाको यात्रा निकै संघर्षपूर्ण थियो। प्युठानबाट तौलिहवासम्म हिँडेरै आउनुपर्थ्यो। त्यसपछि भारततर्फ पुगेर रेल चढेर, विभिन्न ठाउँ हुँदै भैरहवा आउनुपर्थ्यो। भैरहवाबाट बस चढेर काठमाडौं आइपुग्दा तीन-चार दिन लाग्थ्यो।

त्यो बेला र अहिलेको अवस्था तुलना नै गर्न सकिँदैन, धेरै फरक छ। अहिले त बाटोघाटा बनेका छन्, हवाईजहाज उडेका छन्। पहिला दुर्गम भनिएका ठाउँहरू अहिले सुगम भएका छन्।

वि.सं. २०२९ सालअघिकै कुरा हो, मैले पहिलो पटक काठमाडौंमा पाइला टेक्दा यहाँ जताततै खुला ठाउँ थियो, अहिलेको जस्तो बाक्लो घरहरू थिएनन्। फाट्टफुट्ट मात्र मान्छे र घरहरू टाढाटाढा देखिन्थे। त्यस बेला पनि र अहिले पनि काठमाडौंका मानिसहरू उत्तिकै मिलनसार छन्। नेपालीहरू जहाँ पुगे पनि मिलनसार नै हुन्छन्।

एकेडेमीमा नाटक गर्दागर्दै फिल्म ‘सिन्दुर’को अफर
मेरो पहिलो फिल्म ‘सिन्दुर’ हो, यो वि.सं. २०३३ सालतिरको कुरा हो। म एकेडेमीमा ‘फर्केर हेर्दा’ नाटकमा अभिनय गरिरहेको थिएँ। त्यतिबेला ‘सिन्दुर’ फिल्मका नायक विश्व बस्नेत र निर्देशक प्रकाश थापा नाटक हेर्न आउनुभएको रहेछ। नाटक मञ्चन सकिएपछि उहाँहरूले मलाई भेटेर फिल्ममा खेल्ने प्रस्ताव राख्नुभयो। म पनि उमेरले सानै थिएँ, “मैले खेल्ने हो” भनेँ। 

उहाँहरूले “खेल्ने हो भने भोलि भेट्न आउनू” भन्नुभयो। अर्को दिन गएँ, भेटेँ, सम्झौता (साइन) गरेँ र फिल्ममा मेरो एउटा भूमिका तय भयो। मेरो अभिनय यात्राको पहिलो फिल्म यही हो। त्यतिबेला नाटकमा काम गरेका कलाकारहरू ठूलो स्वरमा बोल्छन् भन्ने सोचाइले होला, फिल्ममा लिन अलिक गाह्रो मान्छन् भन्ने सुन्थेँ, तर म त नाटकबाटै फिल्ममा आएको कलाकार हुँ।

त्यतिबेला र अहिलेको सुटिङ गराउने तरिकामा खासै भिन्नता छैन, मुख्य फरक भनेको प्रविधिमा हो। त्यतिबेला ठूला क्यामेरा र रिलमा खिच्ने चलन थियो, अहिले जस्तो डिजिटल उपकरण थिएनन्। डबिङ गर्न पनि निकै कठिन समय थियो र एउटा फिल्म बनाउन लामो समय लाग्थ्यो। अहिले प्रविधिले धेरै फड्को मारेको छ।

त्यतिबेला फिल्मको पात्रमा रहेर अलग्गै बसेर रिहर्सल वा वर्कसप गर्ने चलन खासै थिएन। हुन त त्यतिबेला सिनेमा नै कति बन्थे र? अर्को कुरा, सुटिङ हुने दिन नै कलाकारलाई बोलाइन्थ्यो र क्यामेरा अन हुनुअघि एकछिन रिहर्सल गराइन्थ्यो, त्यो पनि मेकअप गर्नुअघि नै।

कलाकारलाई बोल्ने डाइलग कण्ठ गराउँदै, “यो पात्र यस्तो-यस्तो हो” भनेर ब्रिफिङ गरिन्थ्यो र त्यहीअनुसार अभिनय गर्नुपर्थ्यो। तर, अहिले त सुरुबाटै फिल्मको कथा र पात्रअनुसार ‘तपाईंको भूमिका यो हो, यसो गर्ने’ भनेर पूर्व तयारी गर्ने चलन छ, मेरो विचारमा यो निकै राम्रो हो। नाटकमा भने त्यतिबेला पनि रिहर्सल हुन्थ्यो।

नाटक हेर्ने दर्शकले त मलाई चिनिहाल्नुहुन्थ्यो। नाट्यकर्मीहरूलाई त्यो बेला थिएटरभित्र प्रवेश गर्ने दर्शकले मात्र चिन्थे। दर्शकमाझ मलाई अलिक बढी चिनाएको फिल्म भने ‘वासुदेव’ हो। ‘सिन्दुर’ र ‘बदलिँदो आकाश’ले पनि मलाई नचिनाएको भने होइन। तर, अहिले पनि कतिपय मलाई ‘वासुदेव’कै कलाकारका रूपमा चिनेको पाउँछु। 

बुबाआमाको चाहना: सरकारी जागिरे
जो कसैका बुबाआमाको चाहना आफ्नो छोराछोरीले सरकारी जागिर खाओस् भन्ने नै हुन्छ। मेरा बुबाआमाको चाहना पनि छोराले सरकारी जागिर पायो भने दुःख पाउँदैन भन्ने थियो। उहाँहरूले “सरकारी कुनै पनि जागिर खानू” भन्नुहुन्थ्यो। तर, म भने बुबाआमाको चाहनाभन्दा बिल्कुलै फरक विधामा लागेँ।

“नाटक गर्ने भनेको त कहिलेकाहीँ मनोरञ्जनका लागि हो, यसमा लागेर जीवन धान्न गाह्रो हुन्छ; भोलि परिवार हुन्छ, कसरी धान्ने?” भन्ने उहाँहरूको चिन्ताको विषय थियो। पढेलेखेको मान्छेले सरकारी नोकरी गर्नुपर्छ, पछि सेवा निवृत्त भइन्छ र त्यसपछि आउने पेन्सनले भविष्य सुरक्षित हुन्छ भन्नुहुन्थ्यो। अहिलेका बुबाआमाले आफ्ना सन्तानलाई सम्झाउने भाषा पनि ठ्याक्कै यही हो, जुन मेरा बुबाआमाले मलाई भन्नुहुन्थ्यो।

एकेडेमीमा जागिर 
त्यतिबेला एकेडेमीमा जागिर खान निकै गाह्रो हुन्थ्यो। जागिरका लागि ‘गोरखापत्र’मा विज्ञापन आउँथ्यो, त्यो पनि निकै ढिला गरेर। विज्ञापन हेरेर आवेदन दिनुपर्थ्यो। मैले पनि ‘गोरखापत्र’मा विज्ञापन हेरेर एकेडेमीको जागिरका लागि आवेदन दिएँ र नाम पनि निकालेँ। यो वि.सं. २०२९ सालतिरको कुरा हो।

सोही समयमा मेरा नाट्यकर्मी बालकृष्ण समसँग भेट भयो। उहाँ त्यतिबेला एकेडेमीमै हुनुहुन्थ्यो। एकेडेमीमा जागिरे भएपछि बालकृष्ण सम, विजय मल्ल, सत्यमोहन जोशी, लैनसिंह बाङ्देल लगायतसँग भेटघाट र कुराकानी हुन थाल्यो। उहाँहरूसँग मेरो बाक्लो भेट हुन्थ्यो।

मैले बालकृष्ण समका थुप्रै नाटकहरू निर्देशन गरेको छु, तर उहाँको निर्देशनमा भने कहिल्यै काम गर्न पाइनँ। खै के भयो, के मिलेन, कुन्नि! उहाँको निर्देशनमा खेल्ने साइतै जुरेन।

मलाई उहाँको निर्देशनमा खेल्ने ठूलो रहर थियो। उहाँ हामीभन्दा धेरै पाको र सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँलाई भेटेको समयमा त हामी केटाकेटी नै थियौं। सायद उमेरको अन्तराल जस्तै विभिन्न कारणले होला, उहाँको निर्देशनमा अभिनय गर्ने अवसर जुरेन। यद्यपि, नाटकका बारेमा उहाँसँग कुराकानी र छलफल भने भइरहन्थ्यो।

कहिलेकाहीँ त मलाई लाग्छ- “उहाँको निर्देशनमा नाटक खेल्न पाएको भए हुन्थ्यो नि!” यस कुरामा मलाई पछुतो पनि लाग्छ। उहाँ एक असाध्यै राम्रो र परिचित व्यक्तित्व हुनुहुन्थ्यो। मैले लेखेको, अभिनय गरेको वा निर्देशन गरेको नाटक हेरेर उहाँले तारिफ गर्नुहुन्थ्यो। उहाँले प्रशंसा गरिदिँदा हामीलाई खुसी मिल्थ्यो; किनकि उहाँलाई हामीले एक महान् अग्रजका रूपमा लिन्थ्यौं र अहिले पनि लिन्छौं।

उहाँले भन्नुहुन्थ्यो, “नाटक जति गर्यौ र जति आफूलाई नाटकमा माझ्यौ, पढ्यौ, त्यति नै आफू तिखारिन्छौं।” उहाँको यो भनाइ म सधैँ सम्झिरहन्छु।

भदौ २५, २०८३ बिहीबार २०:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।