डा. कस्चेभको अनुभव : भोटेकोशी बाढीका शवले पोस्टमार्टम कक्ष भरियो, मृतक पहिचान गर्न परिवारसँग ‘हाँसेकै फोटो’ मागियो

डा. कस्चेभको अनुभव : भोटेकोशी बाढीका शवले पोस्टमार्टम कक्ष भरियो, मृतक पहिचान गर्न परिवारसँग ‘हाँसेकै फोटो’ मागियो

डा. कस्चेभ श्रेष्ठ कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन) विशेषज्ञ हुन्। चिकित्सकीय पेसाको सिलसिलामा उनले हालसम्म तीन हजारभन्दा बढी मृत शरीरको पोस्टमार्टम गरिसकेका छन्।

विशेषगरी अप्राकृतिक रूपमा मृत्यु भएका व्यक्तिको चिकित्सकीय विधि अपनाई शवको परीक्षण गरेर मृत्युको यथार्थ कारण पत्ता लगाउनु उनको विधा, सीप र दैनिकी हो।

व्यक्तिको मृत्युपछि गरिने मृत शरीरको परीक्षणलाई चिकित्सकीय भाषामा ‘पोस्टमार्टम एक्जामिनेशन’ भनिन्छ भने मृत्युको कारण पत्ता लगाउने यस किसिमको सम्पूर्ण परीक्षण विधि तथा प्रक्रियालाई ‘अटोप्सी’ समेत भनिन्छ।

जीवन र मृत्युको दोसाँधमा उभिएर न्यायका लागि प्रमाण खोज्ने यस क्रममा डा. कस्चेभले देखे-भोगेका केही मुटु हल्लाउने घटना र अनुभवहरू उकेरासँग साटेका छन्:

भोटेकोशी बाढीपछिको पोस्टमार्टम कक्ष
गत भदौ १० गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको शव पोस्टमार्टम गर्नु डा. कस्चेभका लागि जीवनमै कहिल्यै बिर्सन नसकिने एउटा कहालीलाग्दो घटना बन्यो। यस्तो विदारक दृश्य उनले यसअघि कहिल्यै देखेका थिएनन् र भविष्यमा पनि कसैले देख्न नपरोस् भन्ने उनको कामना छ।

बाढीको वितण्डाले ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने देखिएपछि १० गते दिउँसो नै शवहरूको पोस्टमार्टमका लागि चितवनमा विशेषज्ञ चिकित्सकहरूको टोली खडा गरियो, जसमा डा. कस्चेभ पनि सामेल थिए। यो टोली बाढीमा परी मृत्यु भएकाहरूको शव परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा तयारी अवस्थामा बस्यो।

भदौ ११ गते बिहानबाट नै बाढीमा भेटिएका शवहरू भरतपुर अस्पतालमा पुर्याउन थालियो। चिकित्सकको टोलीले एकछिन पनि ढिला नगरी काम सुरु गर्यो।

तर, एकपछि अर्को गर्दै नदीले क्षतविक्षत बनाएका शवहरू अस्पतालमा यति धेरै थुप्रिए कि पोस्टमार्टम कक्षमा खुट्टा हाल्ने ठाउँ समेत बाँकी रहेन। बाढीको विपत्तिले निम्त्याएको त्यो अवस्थामा मन थामेर उनीलगायत चिकित्सकको टिम दिनरात नभनी आफ्नो कर्ममा खटियो।

शव पहिचानको सकस: हाँसेको फोटोदेखि दाँतको डीएनएसम्म
आफन्त वा हकवाला पत्ता नलागेको र कसैले दाबी नगरेको शवलाई ‘पहिचान नखुलेको शव’ भनिन्छ। बाढीमा ज्यान गुमाएकाहरूको शव अन्तर्राष्ट्रिय मापदण्डअनुसार अवलोकन गरेर, फोटोका आधारमा र फोटोसहितको परिचयपत्रका आधारमा प्रारम्भिक पहिचान खुलाउने काममा टोली तल्लीन भयो।

त्यसैगरी मृतकको उमेर, लिंग, उचाइ, जन्मजात शरीरमा भएका चिन्ह, ट्याटु, खत र कोठीजस्ता संकेतबाट शवको पहिचान खोज्ने काम भयो। मृतकले लगाएका गरगहना, लुगाको ब्रान्ड, घडी तथा जुत्ता-चप्पलजस्ता वस्तुहरूबाट पहिचान खुलाउन फरेन्सिक टोली निरन्तर खटियो।

तर, यति प्रारम्भिक विधि अपनाउँदा पनि सयौं शव पहिचान हुन सक्ने अवस्थामा थिएनन्। त्यसपछि टोलीले थप वैज्ञानिक विधि रोज्यो। बाढीमा परेकाहरूको हस्तरेखा, औँठाछाप (फिंगरप्रिन्ट), दाँत तथा अन्य उपयुक्त जैविक नमुना निकाल्ने र डीएनए परीक्षण गर्ने काम सुरु गरियो।

डा. कस्चेभका अनुसार विशेषगरी फिंगरप्रिन्ट, दाँतको अध्ययन र डीएनए विधि नै बढी प्रभावकारी बने। दाँतको आधारमा पहिचान गर्न सहज हुने भएकाले शव दाबी गर्न आउने आफन्तलाई मृतकले ‘दाँत देखाएर हाँसेको फोटो’ ल्याउन अनुरोध गरिएको अनुभव उनले सुनाए।

अन्य सबै विधि असफल भएपछि अन्तिम पहिचानका रूपमा डीएनए परीक्षण गरिन्छ।

रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको हकमा नमुनाका रूपमा सम्भव भएसम्म शवबाट दाँत निकालिएको थियो। शवको दाँतबाट निकालिएको डीएनए र आफन्तले दिएको नमुनाको डीएनए जुधाएर कसको शव हो भन्ने निष्कर्ष निकालिने प्रक्रिया अहिले पनि जारी छ।

यस बाढीमा शरीर टुक्राटुक्रा समेत भएको थियो। कसैको हात, कसैको खुट्टा वा शरीरको कुनै एउटा अंग मात्रै भेटिएको अवस्था थियो। त्यस्ता प्रत्येक छुट्टा-छुट्टै अंगलाई एउटा छुट्टै व्यक्तिको शव मानेर पहिचानका लागि नमुना संकलन गरी व्यवस्थापनका लागि पठाइएको थियो।

१२ वर्षका लागि जमिनमुनि सुरक्षित व्यवस्थापन
बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव अस्पताल परिसरमै बिग्रिन थालेपछि सरकारमाथि शव व्यवस्थापनको चर्को दबाब पर्यो। अस्पतालमा शव सुरक्षित राख्ने ‘फ्रिज’ नहुनु र बाढीले शवहरू पहिचान गर्नै नसकिने गरी सड्नुले स्थिति झन् जटिल बनाएको थियो।

यस्तो अन्योलका बीच सरकारले पहिचान नखुलेका शवहरूलाई १२ वर्षसम्म सुरक्षित राख्ने गरी जमिनमा गाडेर अस्थायी व्यवस्थापन गर्ने बाटो रोज्यो। कानुनतः यस्ता शवलाई १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने हुन्छ, ताकि पछि कुनै आफन्त दाबी गर्न आएमा सजिलै उत्खनन गरेर जिम्मा लगाउन सकियोस्।

सोही मापदण्डअनुसार १२ गतेपछि भने पहिचान नखुलेका सबै शवहरूलाई पछि निकाल्न सकिने वैज्ञानिक विधिबाट जमिनमुनि गाड्न थालियो। मृतकको संख्या अत्यधिक हुनु र चिस्यान केन्द्रको अभावमा दुर्गन्ध तथा महामारी फैलिन नदिन यो उत्तम विकल्प थियो।

यद्यपि, शव गाड्ने विषयमा समाजमा विभिन्न भ्रमहरू फैलिए। ती भ्रम चिर्ने र आफन्त खोज्दै अस्पताल आइपुगेका परिवारसँग समन्वय गर्ने दोहोरो जिम्मेवारी पनि फरेन्सिक टोलीकै काँधमा आइपर्यो।

बाढी गएको तेस्रो दिनबाट त चर्को गर्मीले गलेर शवहरू गन्हाउने अवस्थामा अस्पताल पुर्याइएका थिए। शव सडेर किरा नै परेकाले पोस्टमार्टममा खटिने टोलीलाई काम गर्न निकै सास्ती भएको थियो। शुक्रबार बेलुकासम्म पनि कुहिएका शवहरू पोस्टमार्टमका लागि अस्पताल ल्याउने क्रम जारी नै रहेको डा. कस्चेभले बताए।

भित्री वस्त्रमा राखिएको पैसाले खुलेको त्यो शवको पहिचान
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्ज चिकित्सा क्याम्पसमा फरेन्सिक मेडिसिनमा एमडी अध्ययनका क्रममा शव परीक्षण गर्दाको एउटा घटना डा. कस्चेभको मानसपटलमा अहिले पनि ताजै छ।

घटना करिब साढे आठ वर्षअघि अर्थात् २०७४ फागुन २८ गतेको हो। बंगलादेशको ढाकाबाट काठमाडौं आएको यूएस-बंगला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।

विमान दुर्घटनामा ज्यान गुमाएकी एक विदेशी महिलाको शव पहिचान हुन सकेको थिएन। केही दिनपछि उनका करिब ३५ वर्षीय श्रीमान् शव खोज्दै नेपाल आइपुगे। सोधपुछका क्रममा ती श्रीमान्ले एउटा अनौठो रहस्य खोले- “मेरी श्रीमतीले यात्राका क्रममा लगाउने भित्री वस्त्र (अन्डरवेयर) मा विशेष गोजी बनाएर पैसा बोक्ने गर्थिन्।”

यो सूचना पाएपछि सिनियर चिकित्सकहरूसँगै पोस्टमार्टममा खटिएका डा. कस्चेभले ती महिलाको शव परीक्षण गरे। नभन्दै, भित्री वस्त्रको गोजीमा पैसा फेला पर्यो। शव पहिचानका अनेकौँ विधि असफल भइरहेका बेला त्यही भित्री वस्त्रको खल्तीमा लुकाइएको पैसा नै उनको पहिचान बन्यो र शव परिवारलाई बुझाइयो।

निधारको खतले खुलेको ती नर्सको पहिचान
महाराजगञ्जमै अध्ययनरत रहँदा नेपालमा भएको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएकी एक नर्सको शव पहिचान गरेको घटना पनि डा. कस्चेभ सम्झन्छन्। ती नर्स सधैँ कपालले निधार छोपेर हिँड्ने गर्थिन्।

परिवारसँग बुझ्दा थाहा भयो- उनको निधारमा एउटा गहिरो खत थियो र त्यही खत लुकाउन उनले सधैँ निधार ढाक्ने गरी कपाल बनाउँथिन्। दुर्घटनापछि परिवारले दिएको त्यही सूचनाका आधारमा निधारको खत परीक्षण गरी ती नर्सको शव पहिचान गरिएको थियो।

मेडिकल यात्रा: रोजाइमा फरेन्सिक मेडिसिन
२०४७ सालमा पाटन अस्पतालमा जन्मिएका डा. कस्चेभ श्रेष्ठको स्थायी घर चितवन हो। सानैदेखि अध्ययनमा अब्बल उनले ललितपुरको कुपण्डोलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि भारतको दिल्लीबाट प्लस टु सकेर उनी नेपाल फर्किए।

सानैदेखिको डाक्टर बन्ने सपना पूरा गर्न उनी सन् २००८ मा काठमाडौं विश्वविद्यालयअन्तर्गत चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एमबीबीएस भर्ना भए र २०१३ मा अध्ययन पूरा गरे।

एमबीबीएसपछि केही समय उनले काठमाडौंको एक निजी मेडिकल कलेजमा काम गरे। तर, उनलाई स्नातकोत्तर अध्ययन अगाडि बढाइहाल्ने हुटहुटी चल्यो। थप अध्ययनका लागि उनको रोजाइमा अर्थोपेडिक सर्जरीलगायतका विषयसँगै ‘फरेन्सिक मेडिसिन’ पनि थियो। तर, उनले फरेन्सिक मेडिसिनलाई नै पहिलो प्राथमिकतामा राखे।

प्रवेश परीक्षामा उनी सरकारी छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए। २०७३ सालमा आईओएम, महाराजगञ्जमा भर्ना भएर सन् २०७६ मा उनले तीन वर्षे एमडी अध्ययन पूरा गरे।

सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाले उनले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने थियो। सोहीअनुसार उनी सुरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा खटिए। पाटनमा दुई वर्ष काम गरेपछि उनी आफूले एमबीबीएस पढेको संस्था चितवनको कलेज अफ मेडिकल साइन्सेस फर्किए।

हाल उनी त्यहाँ मेडिकलका विद्यार्थीहरूलाई फरेन्सिक मेडिसिन पढाउँछन् भने मेडिकल कलेज र भरतपुर अस्पतालको समन्वयमा शवहरूको पोस्टमार्टम प्रत्यक्ष रूपमा गर्छन्। उनकी श्रीमती पनि चिकित्सक नै हुन् र उनीहरूको एउटा सानो छोरा छ।

किरा परेका शव र अभ्यस्त भएको मन
फरेन्सिक मेडिसिन विशेषज्ञको काम शव परीक्षणमा मात्र सीमित हुँदैन। बलात्कार तथा जबरजस्ती करणीमा परेका पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गर्ने, अदालत तथा अनुसन्धानका लागि उमेर निर्धारण गर्नेजस्ता जटिल काम पनि यसैभित्र पर्छन्।

तर, कुहिएका र सडेका शवहरूसँग जुध्नु सहज थिएन। करिअरको सुरुवाती दिनमा कुहिएर किरा परेका शवको पोस्टमार्टम गर्दा कयौँपटक शवबाट किराहरू उछिट्टिएर डा. कस्चेभको आफ्नै अनुहार र शरीरमा आइपुग्थे। शवको तीव्र र अनौठो दुर्गन्धले सुरुका दिनमा उनको मनमा निकै तनाव उत्पन्न गर्थ्यो।

तर, अध्ययन थालेको करिब एक वर्षपछि बिस्तारै शवहरूसँग खेल्ने बानी पर्दै गयो। उनको मन-मस्तिष्कले यसलाई पेसाको अनिवार्य सत्यका रूपमा स्वीकार गर्यो, डर हराउँदै गयो।

कानूनी अनुसन्धान र न्यायका लागि यस विधाको महत्त्व कति ठूलो छ भन्ने उनलाई राम्रोसँग थाहा थियो। त्यसैले त, सबैले पन्छाउन खोज्ने दुर्गन्धित र कहालीलाग्दा शवहरूबीच उभिएर डा. कस्चेभ आज पनि मृतकलाई न्याय दिलाउने मौन कर्ममा निरन्तर तल्लीन छन्।

भदौ २०, २०८३ शनिबार १३:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।