ट्याटु हाउसको आवरणमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ
काठमाडौं : ललितपुरको हात्तीवनस्थित एक ट्याटु हाउसबाट बिहीबार प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित सञ्चालनमा रहेको नाम नराखिएको ट्याटु हाउसबाट सुरुमा तीन जना र उनीहरूको बयानका आधारमा उक्त कारोबारमा संलग्न अर्का एक जनालाई काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट प्रहरीले पक्राउ गर्यो।
पक्राउ पर्नेहरूमा धादिङको सिद्धलेक गाउँपालिका-५ का २९ वर्षीय जनार्दन घले, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ का २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ का ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ का ३१ वर्षीय राजु तामाङ रहेका छन्।
ट्याटु हाउसको आवरणमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १० हजार ४१० ट्रामाडोल क्याप्सुल र तीन किलो ८०० ग्राम खैरो हेरोइनका साथै डिजिटल तराजु र ४ थान मोबाइल बरामद गर्यो।
लागुऔषध (नियन्त्रण) ऐनअनुसार खैरो हेरोइन बरामद भएको कसुरमा ५ देखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिबाना तथा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोलको हकमा २ देखि १० वर्षसम्म कैद र एक लाखदेखि २० लाखसम्म जरिबाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।
भदौ २६, २०८३ शुक्रबार २२:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।