३ वर्षीय बालिका अपहरण र हत्या प्रकरणको थुनछेक आदेश मुख्य प्रतिवादीबारे मौन, एकजना २० हजार धरौटीमा रिहा, ९ जना साधारण तारेखमा
काठमाडौँ : बारा जिल्ला अदालतको तीन वर्षीया बालिका अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको थुनछेक आदेश मुख्य प्रतिवादी नाबालकबारे केही उल्लेख गरिएको छैन। मतियारका रूपमा प्रतिवादी बनाइएको प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई २० हजार धरौटीमा छाड्न र अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले आदेशमा दुई नाबालकको नाम उल्लेख छ। तर उनीहरूलाई सुधार गृह पठाइयो या के भयो सो आदेशमा उल्लेख छैन।
प्रतिवादी प्रोगेश चौधरीले कसुरमा इन्कार रहे पनि घटना भएको भनिएको घरमा बिजुलीको बत्ती बाल्न गएको स्वीकार गरेको आधारमा अदालतले धरौटी माग गरेको देखिन्छ। वारदात स्थल (वीरबहादुर रोक्काको खाली घर) बाट बालिकाको शव बरामद हुनु र घरधनी तथा अन्य साक्षीहरूको बयानका आधारमा निजको संलग्नता नरहेको भन्न सकिने अवस्था नदेखिएको अदालतको ठहर छ।
प्रमाण ऐन, २०३१ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम निजसँग २० हजार नगद धरौटी वा सो बराबरको जमानत माग गरिएको छ।
यसैगरी, अदालतले यस प्रकरणमा मुछिएका इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेक बहादुर थापा मगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
प्रत्यक्ष प्रमाणको अभाव, आरोपीहरूको इन्कारी बयान तथा मुख्य कसुरदारलाई सहयोग पुर्या एको वा प्रमाण लोप गरेको तथ्य मिसिलमा नदेखिएकाले निजहरूलाई थुनामा राख्न आवश्यक नदेखिएको अदालतले जनाएको छ।
घटनाको पृष्ठभूमि
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १, भक्तिनगर टोलमा २०८३ साल साउन ३१ गते बिहान ३ वर्षीया बालिका (परिवर्तित नाम: गमला (क)) हराएकी थिइन्। प्रोग्रेश चौधरीको घरमा खेल्न गएको अवस्थामा बेपत्ता भएकी बालिकाको शव भोलिपल्ट भदौ १ गते छिमेकी वीरबहादुर रोक्काको खाली घरभित्र मृत फेला परेको थियो।
बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई जबरजस्ती करणी र हत्या गरिएको दाबीसहित प्रहरीमा जाहेरी दर्ता भएको थियो। उक्त घटनालाई लिएर बारा र काठमाडौँमा समेत कडा विरोध प्रदर्शन तथा आन्दोलन भएको थियो। परिप्रेक्ष्यमा, गृहमन्त्री सुधन गुरुङले पीडितका बुवाआमालाई सिंहदरबारमा बोलाएर तीन बुँदे सहमतिसमेत गरेका थिए।
भदौ २६, २०८३ शुक्रबार २१:५५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।