जेनजी शहीद पार्क कसले-कतिमा बनायो ‘कसैलाई थाहा छैन’, सबैले देखाएका पूर्वमन्त्री बब्लु गुप्ता भन्छन् “खै!”
काठमाडौँ : २०८२ भदौ २३ गते जेनजी आन्दोलनका ४५ शहीदको सालिक बनेको ठाउँ सरकारी, सालिक बनाउने निर्णय गर्ने खेलकुद मन्त्री। ४५ वटै शालिक पनि बन्यो। तर त्यो शालिक बनाउने जिम्मा कसले दियो?, के आधारमा खेलकुद गतिविधि गर्ने स्थान शहीदको सालिक राख्न रोजियो अनि त्यसको आर्थिक स्रोतको आधार के हो?
२०८३ भदौ २३ गते अनावरणको तयारी भए पनि अनुहार मिलेको छैन भनेर शहीद परिवारले आपत्ति जनाएपछि अनावरण नगरी गृहमन्त्री सुधन गुरुङ र भौतिकमन्त्री सुनिल लम्साल फर्किएपछि उकेराले यो शालिकसँग जोडिएको नेतृत्व र आर्थिक स्रोतबारे सोधखोज सुरु गरेको थियो।
उकेराले शालिक राख्नेदेखि लिएर बनाउनेसम्मको चरणमा संलग्न देखिएका सरकारी, पूर्वमन्त्री, शालिक बनाउन आर्थिक सहयोग गर्ने घोषणा गरेका र शिलालेखमा नाम कुँदिएका दुई व्यापारिक प्रतिष्ठान, शहीद परिवार अनि शालिक बनाउने जिम्मा लिएका जिम्मेवार व्यक्तिहरूसँग यसबारे जिज्ञासा राख्दा अचम्मको दाबी देखियो “त्यो शालिक कसले बनाउने कामको नेतृत्व कसले गर्यो त्यो कतिमा बनाइयो कसैलाई थाहा छैन।”
शालिक अन्त हैन, राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर भित्र राखिँदै छ। त्यसका लागि भौतिक संरचना बनिसकेको छ। जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन ४५ वटै शालिक पनि राखिएको थियो त्यहीँ। तर विवादपछि सबै हटाइ सकियो।
उकेराले सबैभन्दा पहिला यो स्मृति पार्क बनिरहेको जग्गाको स्वामित्व रहेको राखेपका अधिकारीसँग सम्पर्क गर्यो। आफू अन्तर्गतको जग्गामा शालिक राख्ने संरचना र शालिक कसले बनाइरहेको हो?, राखेपले यसका लागि कोसँग समन्वय गरिरहेको छ?
उकेराको राखेपका प्रशासन विभाग प्रमुख भोजानन्द राईसँग जिज्ञासा राख्दा राखेप परिसरमा किन बनाइएको हो आफूहरूलाई थाहा नभएको बताए।
“सामान्यतया राखेपको परिसरमा खेलाडीहरूको बनाउने चलन हुन्छ,” उनले भने, “त्यतिबेला मन्त्रीज्यूले यहाँ बनाउने भनेपछि राखेपले सोही अनुसार निर्णय गरेको हो। तर त्यहाँ कसले पार्क बनायो भन्नेबारे राखेपलाई जानकारी छैन।”
परिषद्को स्वामित्वमा रहेको जग्गामा पार्क कसरी बन्यो त? यसको पृष्ठभूमि हेर्दा जेनजी शहीद परिवार कल्याणकारी समाज, काठमाडौँ र जेनजी कर्णाली केन्द्रीय प्रतिनिधि संयोजक अनिल बानियाँ समेत २६ जनाबाट हस्ताक्षर गरिएको जेनजी शहीद स्मृति पार्क स्थापनाका लागि दुई निवेदन परेको देखियो।
निवेदन २०८२ मंसिर २६ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई सम्बोधन गरी पेस भएको थियो। त्यसपछि गुप्ताले राखेपलाई 'आवश्यक प्रक्रिया अगाडि बढाउने’ भनेर तोक लगाएर पत्र राखेपमा पठाए।
त्यही निवेदनको आधारमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले मंसिर २६ गते ‘राष्ट्रिय खेलकुद परिषद् मातहत सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र खाली रहेको स्थानमा परिषदको स्थायी संरचनामा कुनै परिवर्तन नहुने वा असर नपर्ने गरी र जग्गाको हक हस्तान्तरण नहुने सर्तमा साथै खेलकुद क्रियाकलापमा समेत असर नपर्ने गरी "जेनजी शहीद स्मृति पार्क" को लागि स्थान उपलब्ध गराउन परिषदको आगामी बोर्ड बैठकबाट निर्णय हुन माननीय युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्षज्यू समक्ष सिफारिस गर्ने’ निर्णय भयो। २६ गते नै मन्त्री गुप्तालाई राखेपले पत्र पठायो।
त्यसपछि राष्ट्रिय खेलकुद परिषदको २०८२ पुस ९ गते बसेको बैठकले पार्क बनाउनेबारे निर्णय गर्यो। जसमा ‘परिषदले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न सक्ने" भन्ने व्यवस्था उल्लेख गरियो।
अनि परिषदको कार्यकारी समितिको ४७ औँ बैठकको सिफारिस अनुसार राष्ट्रिय खेलकुद परिषद् मातहत सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र खाली रहेको स्थानमा परिषदको स्थायी संरचनामा कुनै परिवर्तन नहुने वा असर नपर्ने गरी र जग्गाको हक हस्तान्तरण नहुने सर्तमा साथै खेलकुद क्रियाकलापमा समेत असर नपर्ने गरी "जेनजी शहीद स्मृति पार्क" को लागि स्थान उपलब्ध गराउने” निर्णय भयो। त्यही निर्णय अनुसार पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा पार्क बनाउने काम शुरु भयो।
“जेनजी शहीद परिवार कल्याणकारी समाज र जेनजी कर्णाली प्रतिनिधिले निवेदन दिनु भएको भनेर मन्त्रालयबाट पत्र आएको थियो,” राईले भने, “राखेपले पार्क बनाउन दिने निर्णय गर्यो। तर कोही पनि आधिकारिक पत्र बुझ्न आउनु भएन। राखेपलाई त्यहाँ पार्क कसले बनाएको हो थाहा छैन।”
यसबारे उकेराले पार्क बनाउन निवेदन दिने जेनजी शहीद परिवार कल्याणकारी समाजका पूर्व अध्यक्ष भोजविक्रम थापासँग जिज्ञासा राख्यो। थापाले त आफूहरूले संसद् भवनमा बनाउने भनेको तर राखेप परिसरमा बनाउनेबारे कुनै जानकारी नभएको दाबी गरे।
“मन्त्री बब्लु गुप्ताले निवेदन दिइराख्नु भन्नुभयो। हामीले निवेदन दियौँ,” उनले भने, “त्यसपछि कहाँ बन्यो के बन्यो मलाई थाहा भएन। अहिलेको सरकारले बरु संसद् भवन बानेश्वरमा बनाउने भनेको छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं अन्तरिम सरकारका सूचना तथा सञ्चार मन्त्री समेत भएका जगदीश खरेलले सो पार्क निर्माणको जिम्मा पूर्वमन्त्री तथा वर्तमान रास्वपा सांसद बब्लु गुप्ताले लिएको बताए । “त्यो पार्कको जिम्मा तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लिनुभएको थियो,” उनले भने, “यसबारे उहाँलाई नै जानकारी छ।”
मन्त्रीका रूपमा निर्णय गर्नेदेखि लिएर अहिले पनि सो पार्कसँग गुप्ताकै नाम जोडिएपछि उकेराले उनीसँग यसबारे जिज्ञासा राख्यो। उनीसँग त्यो पार्क कसले बनाइरहेको हो अनि आर्थिक स्रोत के हो भनेर राखेको जिज्ञासामा उनले प्रस्ट खुलाउन सकेनन्। उनले हामी सबै मिलेर बनाएको भने। उकेराले त्यो हामी भनेको को-को हो भनेर जिज्ञासा राख्दा उनले नाम खुलाउन सकेनन्।
“राखेप परिसरमा शहीद पार्क बनाउने निर्णय गरेको हुँ ,” उनले भने, “तर त्यहाँ सरकारको एक पैसा पनि परेको छैन। जिम्मा कसले लिएको भन्दा पनि हामी सबै मिलेर बनाएका हौँ। सरकारको पैसा खर्च नभएकाले अरू प्रक्रियामा जानै परेन।”
शालिकसँग जोडिए रिजाल र निजी कम्पनी
जेनजी स्मृति पार्कबारे सरकारी निर्णय खोतल्दा २०८२ भदौ ३० मा मन्त्रीपरिषद्बाट निर्णय भएको देखियो। जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुसँग सम्झनामा पार्क बनाउने सैद्धान्तिक निर्णय भएको तर कहाँ बनाउने तय नभएको तत्कालीन सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीहरुलाई बताएका थिए।
शहीद घोषणादेखि यस्तो स्मृति पार्क निर्माणसम्मका गृह मन्त्रालय जोडिन्छ। निर्माणको नेतृत्व भौतिक योजनाले जिम्मेवारी लिन्छ। तर यो पार्क बनाउन न गृह संलग्न देखियो न त भौतिक मन्त्रालय नै। यसमा असम्बन्धित खेलकुद मन्त्रालय जोडियो अनि खेलकुदमन्त्री बब्लु गुप्ता र राखेप। तर यो कसले अनि कति खर्चमा बनाएको हो भन्ने न शिक्षा तथा खेलकुद मन्त्रालयका अधिकारी जानकार देखिए न राखेप। सबैले बब्लु गुप्तालाई देखाए। बब्लु केही थाहा नभएको दाबी गर्छन्।
आफ्नै परिसरमा सालिक र पार्क निर्माण भएको अनभिज्ञता प्रकट गरेको राखेपलाई कसले सालिक बनायो जानकारी नभए पनि प्रशासन प्रमुख भोजानन्द राईले इन्जिनियर करूण रिजालले काम गरेको जानकारी दिए। उनीबारे बुझ्दा थप रोचक तथ्यहरू फेला परे।
नयाँ सरकार गठन भएसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ असार १७ गते राखेपसँग पार्क निर्माणबारे जिज्ञासा राखेको खुल्यो। राखेपले १८ गते इन्जिनियर रिजालसँग भएको कुराकानीसहित उल्लेख गरेर पत्र पठायो।
त्यसबाट जेनजी शहीद स्मृति पार्क निर्माणको लागि श्री शिवश्री कम्पनी, बानेश्वरले जिम्मेवारी पाएको खुल्यो। उक्त कम्पनी र ग्लोबल आईएमईसँग निर्माणको सम्झौता भएको खुल्यो। निर्माण साइट हेर्ने जिम्मा रिजाल आफैँले लिए।
राखेपको पत्र अनुसार रिजालले पार्क निर्माणको सुरु दिनहरूमा बजेट आउला भनेर आफ्नै खर्चमा मूर्ति ल्याउने र अन्य निर्माणको सामग्रीहरू खरिद गर्ने काम गरेको तर खर्च भने नउठेको बताएका थिए।
“व्यक्तिगत खर्च लगभग १५/१६ लाख जति भइसकेपछि अब खर्च रकम नआउला भन्ने आशंका लागे लगतै प्रतिनिधि सभाको निर्वाचनको कारण पनि निर्माण कार्य रोक्का गरियो” उनले राखेपसँग भनेका थिए।
राखेपलाई रिजालले दिएको जानकारी अनुसार ४२ वटा जेनजी शहीदहरूको अर्ध कदको मूर्ति स्थापना गर्ने गरी पार्कको निर्माण सुरु भएको थियो। तत्काल १५ जना जेनजी शहीदहरूको मूर्ति निर्माणस्थलमा आइपुगेका थिए। बाँकी मूर्तिहरू निर्माणकै क्रममा रहेको उनले बताएका थिए।
पत्र अनुसार रिजालले “अब फण्डिङ्ग (बजेट) पनि व्यवस्था हुन्छ होला र बाँकी मूर्तिहरू तयार भई सकेपछि कम्तीमा २ ( दुई) हप्ताभित्र उक्त निर्माण कार्य सम्पन्न गरी सक्ने” बताएका थिए।
रातोपाटीमा रिजाललाई पार्कका आर्किटेक्टका रुपमा उल्लेख गरिएको भेटियो। प्रकाशित समाचारमा "पार्क ‘मिनिमल’ शैलीमा डिजाइन गरिएको, पार्कको क्षेत्रफल सीमित भए पनि शहिदहरूको सालिक धेरै राख्नुपर्ने भएकाले सबै संरचनालाई अर्थपूर्ण ढंगले समेट्ने प्रयास गरिएको र शहिदहरूको फोकस नेपालको झण्डामा पर्ने गरी डिजाइन गरेको" उल्लेख छ।
पार्कको नेतृत्व र आर्थिक पक्षबारे बुझ्न उकेराले रिजालसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल निरन्तर अफ थियो। सम्पर्क हुन सकेन।
एनसेल र ग्लोबल आइएमइले कसलाई, कति पैसा दिए-“गोप्य”
भदौ २३ मा उद्घाटन गर्न राखेप परिसरमा शिलापत्र नै राखियो थियो। त्यसमा “नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ग्लोबल आइएमइ बैंक लिमिटेड र एनसेलको वित्तीय सहयोगमा निर्मित’ भनेर उल्लेख छ। सो पार्क निर्माणमा कति रकम खर्च भयो र त्यसको स्रोत के हो भनेर खोज्दा आधिकारिक रुपमा कुनै निकायबाट जानकारी आएन। नयाँ पत्रिकामा प्रकाशित समाचारमा 'सालिक र पार्क निर्माणमा करिब ६० लाख खर्च भएको छ' उल्लेख भएको भेटियो। तर आर्थिकस्रोतबारे विस्तृत उल्लेख छैन।
नयाँ पत्रकािमा शालिक र पार्क निर्माणका सहजकर्ता अर्जुन थापा भनेर उल्लेख गरिएको छ‘पार्क र सालिक बनाउन जेन–जी र सहिद परिवारसँग मिलेर काम थालिएको हो, तर स्रोत नभएका कारण निर्माणमा केही ढिलाइ भयो । ग्लोबल आईएमई बैंकले आर्थिक सहयोग गरेपछि काम अघि बढेको हो।’
यसमा एनसेलले कति वित्तीय सहयोग गर्यो र उसले सो रकम कसलाई भुक्तानी गर्यो अनि ग्लोबल आइएमइ बैंकले पनि कति रकम र कसलाई भुक्तानी गर्यो भनेर उकेराले खोज्दा दुवै संस्थाका अधिकारीहरूले प्रस्ट जानकारी दिएनन्। नाम उल्लेख नगर्ने सर्तमा दुबै संस्थाका प्रतिनिधिले उकेरासँग भने" रकम दिने प्रतिवद्धता भएको हो। दिन्छौं पनि। तर कति दिने खुलाउँदैनौ।"
यसबारे हामीले पुन बब्लु गुप्तासँगै जिज्ञासा राख्यौ। गुप्ताले रकमबारे आफूहरूलाई थाहा नभएको दाबी गर्दै भने 'खै'।
तर मूर्तिकार रवि शाक्यले गुप्ताले ४ लाख रकम एडभान्समा दिएको बताएका छन्। उकेरासँग भने शाक्यले “स्वैच्छिक रूपमा मूर्ति बनाएको” दाबी गरे। उनले कसैको एक पैसा नलिएको, ग्लोबल र एनसेलको पैसा आएको सुनेको तर कति पैसा आएको र कसले लिएको हो भन्नेबारे थाहा नभएको दाबी गरे।
काठमाडौंपोस्टमा उनले तत्कालीन मन्त्री गुप्तासँग पैसा लिएको भनेर प्रकाशित विवरण सुनाउँदै उनीसँग यसबारे थप जिज्ञासा राख्दा गुप्तासँग पैसा लिएको त स्वीकार गरे तर त्यो पैसा मूर्ति बनाउने प्रयोजनका लागि नभई अरू नै प्रयोजनका लागि पैसा लिएको दाबी गरे।
भदौ २६, २०८३ शुक्रबार २०:०६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।