झाडी समाउँदै उकालो चढे, एकैछिनमा बस पानीमा तैरियो!

झाडी समाउँदै उकालो चढे, एकैछिनमा बस पानीमा तैरियो!

बुटवल : गोसाईंकुण्ड दर्शनका लागि बुटवलबाट १० जना यात्रामा निस्किएका थिए। तर, गन्त्यव्यमा नपुग्दै भदौ १० गतेको बिहान ती यात्रुका लागि जिन्दगीकै कहालीलाग्दो मोड बन्यो। आँखैअगाडि उर्लिएको त्रिशूलीको बाढी र भिर उक्लिन लागेको  'डेढ मिनेट समय' जीवन र मृत्युबीचको दौड नै बन्यो। 

बुटवल-१५ का प्रेमप्रसाद पौडेलसहित १० जनाले गोसाईंकुण्ड दर्शनको योजना बनाए। सोही अनुसार भदौ ९ गते उनीहरू गोसाईंकुण्ड यात्राका लागि घरबाट निस्किए। यात्राकै क्रममा उनीहरू नुवाकोटको विदुर नगरपालिका–९ मा रहेको त्रिशूली मत्स्य अनुसन्धान केन्द्र पुगेका थिए। त्यहाँ पौडेलका आफन्त काम गर्ने भएकाले उनीहरू केही समय केन्द्रमै रोकिए।

मत्स्य विकास केन्द्रमा रहेका माछाका पोखरी हेरेपछि खाना खाए। त्यसपछि गाडी बोलाएर झोलासहितका सामानहरू गाडीमा राखे। केन्द्रका कर्मचारीहरू उनीहरूलाई बिदाइ गर्न गेटसम्म आएका थिए।

केन्द्रबाट निस्कनै लाग्दा उनीहरूले आकाशमा हेलिकप्टर उडेको आवाज सुने। पौडेलका अनुसार त्यसको करिब ३० सेकेन्डपछि एक्कासि चिसो हावा चल्यो। फेरि करिब ३० सेकेन्डपछि उनीहरूले नजिकै घाँस काटिरहेका दुई जनालाई चिच्याउँदै गरेको देखे। 

स्थानीयले उनीहरूलाई चिच्याएर 'बाढी आयो' भनेका रहेछन्। तर, स्थानीयले बोलेको भाषा नबुझ्दा उनीहरू केही बेर अलमलमा परे। "हामीलाई सुरुमा के भयो भन्ने नै बुझ्न गाह्रो भयो। पछि खोला एक्कासि समुद्रको आँधी आएजस्तो गरी आएको देखेपछि बल्ल बुझ्यौ," गोसाईंकुण्ड यात्रामा हिडेकीमध्येकी एक नानुमायाले पौडेलले  भनिन्।

स्थानीय किन चिच्याएछन भनेर केही पर हेर्दा भने उनीहरूले  बाढी आउँदै गरेको देखे। "पूर्व–उत्तरतर्फ हेर्दा करिब ७० मिटर पर आँपको रुखको टुप्पोतिरबाट बाढी आएको देखियो", पौडेलले भने, "त्यसपछि मैले सबैलाई भाग्न भनेँ।"

बाढी आएको देखेपछि सबैजना करिब पाँच मिटर देब्रेतिर रहेको भिरको  उकालोतर्फ दौडिए। झाडी समाउँदै, रूखका जरा पक्रँदै उनीहरू पहाडतर्फ उक्लिए।

ज्यान जोगाउने कसैको खुट्टा मर्कियो, कोही लडे। भागदौडमा समूह पनि तितरबितर भयो। तर, करिब डेढ मिनेटभित्र उनीहरू पहाडको सुरक्षित भित्तामा पुग्न सफल भए। उकालोको सुरक्षित स्थानमा पुगेपछि मात्रै उनीहरूले केही मिनेटअघि आफूहरू बसेको ठाउँतर्फ हेरे। केही मिनेटअघि सम्म बसेको ठाउँमा हिलो र लेदोसहितको निकै डरलाग्दो बाढी देखे। गोसाईंकुण्ड जानका लागि चढ्नै लागेको उनीहरूको गाडीसमेत बाढीमा तैरिरहेको थियो। 

पौडेल भन्छन्, "हामी त्यो समयमा उकालो नचढेको भए बग्न सक्थ्यौँ।"

 बाढीबाट जोगिएपछि पनि उनीहरूको चिन्ता सकिएको थिएन। भागदौडका क्रममा छुट्टिएका आफ्नै साथीहरू कहाँ पुगे भन्ने उनीहरूलाई थाहा थिएन। सुरक्षित स्थानमा पुगेपछि उनीहरू एकअर्काको खोजीमा लागे।

भाग्यवश, तितरबितर भएका सबै १० जना नै सकुशल भेटिए। साँझ करिब ४ बजेतिर सबैजना फेरि एक ठाउँमा जम्मा भए।

गोसाईंकुण्ड यात्रा त्यहीँ रोकेर उनीहरू बुटवल फर्किए।

नानुमाया भन्छिन्, "गोसाईंकुण्ड पुग्न सकेनौँ। तर ज्यान जोगाएर यहाँसम्म आउन सक्यौँ। हामी भाग्यमानी रहेछौँ। यो पुनर्जन्मजस्तो लाग्यो।" 

भदौ २१, २०८३ आइतबार १८:४२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।