भोटेकोशी बाढीका शव कसरी पहिचान गरिँदै छ?

भोटेकोशी बाढीका शव कसरी पहिचान गरिँदै छ?

काठमाडौं : भोटेकोशी आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ।
       
नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ ।
 
शव पहिचानको जटिल प्रक्रियालाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका फरेन्सिक विज्ञ टोली नेपाल आइपुगेका छन्। प्रहरीको प्रयोगशालामा भारतीय र कोरियाली तथा नास्टको प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले नेपाली विशेषज्ञहरूलाई सघाइरहेका छन्।

डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ। यी मेसिनले आवश्यक तयारीपछि ९० मिनेटमा एउटा नतिजा निकाल्छन् भने अर्को नमुना परीक्षण अघि मेसिन निर्मलीकरण गर्नुपर्छ। प्रहरी प्रयोगशालाको वार्षिक क्षमता ४०० वटा नमुना परीक्षण मात्र भए पनि हाल दैनिक २५ देखि ३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।  हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको छ।

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ। दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ। धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ।

कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ। हड्डी र दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्याउनुपर्ने हुनसक्ने बताइन्छ।

शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताए। डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उनले भने। भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहेका छन्।
 
डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयरको प्रयोग
 
फेला परेका शव र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ।

“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने। कोडिस अन्तरराष्ट्रिय सफ्टवेयर हो।

“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उनले भने, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तर्राष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं।”

डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ। 

शव पहिचानमा प्रहरीका तीन उपाय

फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ। प्रहरी प्रवक्ता काफ्लेले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको बताए।

हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ। “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उनले भने।

औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ। यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ। यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ।

(राससमा अशोक घिमिरेले लेखेको समाचार सम्पादनसहित प्रकाशित )

भदौ २७, २०८३ शनिबार १८:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।