बलात्कार मुद्दामा जेलमा रहेका भारतका पूर्वसांसद प्रज्वल रेवन्नाको मोबाइलमा भेटियो अश्लील भिडियो र चलचित्र
एजेन्सी : बलात्कार मुद्दामा दोषी ठहर भई कारागारमा रहेका भारतको जनता दल (सेक्युलर) का पूर्वसांसद प्रज्वल रेवन्नाबाट बरामद गरिएको मोबाइल र पेनड्राइभको फरेन्सिक जाँचका क्रममा दर्जनौँ अश्लील (पोर्नोग्राफी) भिडियो तथा चलचित्रहरू भेटिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
गत अगस्ट ११ मा बेङ्गलुरुस्थित परप्पना अग्रहारा सेन्ट्रल जेलमा गरिएको छड्के निरीक्षणका क्रममा रेवन्ना बसेको कोठाबाट मोबाइल फोन, पेनड्राइभ, चार्जर र एउटा नोटबुक बरामद गरिएको थियो। उक्त उपकरणहरूलाई परीक्षणका लागि फरेन्सिक ल्याब पठाइएकोमा, मोबाइलभित्र दर्जनौँ अश्लील भिडियोहरू र पेनड्राइभमा विभिन्न चलचित्र तथा वेब सिरिजहरू भेटिएको भारतीय सञ्चारमाध्यम पिटिआईले जनाएको छ।
करागारभित्र अनधिकृत रूपमा एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहेको अवस्थामा रेवन्नाको भिडियो सार्वजनिक भएपछि सेन्ट्रल क्राइम ब्रान्चले उनको कोठामा ४ देखि ५ घण्टा लामो छापा मारेको थियो।
प्रहरीको अनुसन्धान र रेवन्नाको बयान
अनुसन्धानका क्रममा प्रहरीले उक्त फोनबाट रेवन्नाले आफ्ना परिवारका सदस्य, नातेदार तथा एक महिला साथीसँग पटक-पटक फोनमा कुराकानी गरेको कल डिटेल्सबाट खुलाएको छ।
प्रहरी सोधपुछका क्रममा रेवन्नाले भने उक्त फोन आफ्नो नभएको दाबी गरेका छन्। प्रहरीसँगको बयानका क्रममा उनले अन्य कैदीहरूले आलोपालो गरी उक्त मोबाइल प्रयोग गर्ने गरेको बताएका छन्। उनले मोबाइलमा रहेका अश्लील भिडियो आफूले डाउनलोड नगरेको पनि दाबी गरेको प्रहरीले जनाएको छ।
छानबिनका क्रममा बरामद गरिएको एउटा नोटबुकमा रेवन्नाका परिवारका सदस्य तथा परिचितहरूको फोन नम्बर भेटिएको प्रहरीले जनाएको छ।
कल विवरणको अनुसन्धान गर्दा बिचौलियामार्फत परिवारका सदस्यहरूसँग अनधिकृत रूपमा सम्पर्क भएको तथा एक महिला साथीलाई प्रत्यक्ष फोन गरिएको समेत खुलेको प्रहरीको दाबी छ। रेवन्नाले महिला साथीसँग फोनमा कुराकानी गरेको विषय भने स्वीकार गरेको बताइएको छ।
लभित्र फोन पुर्याउने ५ जना पक्राउ
कारागारभित्र अवैध रूपमा मोबाइल र सिमकार्ड पुर्याएको अभियोगमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरूले जेलका एक कर्मचारी (वार्डर) मार्फत मोबाइल र अर्का एक विचाराधीन कैदीमार्फत सिमकार्ड भित्र छिराइएको बयान दिएका छन्।
उक्त घटनामा परप्पना अग्रहारा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले रेवन्नाको फोनको कल हिस्ट्रीका आधारमा सम्पर्कमा रहेका अन्य व्यक्तिहरूलाई समेत सोधपुछका लागि नोटिस पठाउने तयारी गरेको छ।
भदौ २७, २०८३ शनिबार १६:३०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।