माइतीघरमा सरकारविरुद्ध घन्किएको नारा : ‘दुई तिहाइको सरकार, चार तिहाइको संकट’
काठमाडौं। खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगी नियन्त्रणको माग गर्दै काठमाडौंको माइतीघरमा शनिबार थाल बजाउँदै र काँचो चामल खाएर प्रदर्शन गरिएको छ।
ग्यास आपूर्ति सहज बनाउन र महँगी नियन्त्रणमा सरकार उदासीन रहेको भन्दै नेकपा (बहुमत)ले उक्त विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘दुई तिहाइको सरकार, चार तिहाइको संकट’, ‘भोको पेटले के भन्छ ?, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायो, खै बालेन माफियाले डुबायो,’ ‘महँगीको मार ग्यासको हाहाकार कहाँ छ सरकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

दुई तिहाइको सरकारले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज गराउन नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। ग्यास डिलरहरूले कृत्रिम अभाव देखाई रातिको समयमा बढी मूल्यमा बिक्री गर्ने गरेको उनीहरूको आरोप छ।

एक-दुई दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गर्ने र नागरिक आफैँले ग्यास कब्जामा लिएर निःशुल्क वितरण गर्न बाध्य हुने चेतावनी दिए।


भदौ २७, २०८३ शनिबार १६:२६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।