एउटा म्यासेज, एउटा ‘जिप’ फाइल र खाताबाट डेढ करोड गायब : के हो ‘बोस स्क्याम’?
एजेन्सी : एउटा अज्ञात नम्बरबाट आएको म्यासेज, त्यसमा जोडिएको एउटा ‘जिप’ फाइल, अनि केही घण्टामै कम्पनीको बैंक खाताबाट डेढ करोड रुपैयाँ गायब!
भारतको अहमदाबाद साइबर क्राइम प्रहरीले हालै अनलाइन ठगीको एउटा यस्तो नयाँ र खतरनाक जालो पत्ता लगाएको छ, जसलाई साइबर सुरक्षाको भाषामा ‘बोस स्क्याम’ भनिन्छ।
यस ठगीमा साइबर अपराधीहरूले कम्पनीको प्रमुखको रूपमा कर्मचारीहरूलाई झुक्याएर लाखौं-करोडौं रुपैयाँ अन्य खातामा ट्रान्सफर गराउने गर्छन्।
घटना कसरी घट्यो ?
अहमदाबादका एक रियल इस्टेट व्यवसायी प्रवीणभाई बावलियालाई ह्वाट्सएपमा एउटा म्यासेज आयो।
म्यासेज पठाउनेले आफूलाई भारतीय रिजर्भ बैंक (आरबीआई) को ‘रिस्क कन्ट्रोल’ विभागको अधिकारी बताएको थियो।
म्यासेजमा कम्पनीको बैंक खातामा ‘शंकास्पद गतिविधि’ देखिएकाले खाता बन्द हुन सक्ने चेतावनी दिँदै एउटा जिप फाइल पठाइएको थियो।
लगातार त्यस्ता म्यासेज आइरहेपछि प्रवीणभाईले खाता साँच्चै रोक्का भएको हो कि भनी बुझ्न उक्त लिंक आफ्ना एकाउन्टेन्टलाई पठाए।
एकाउन्टेन्टले आफ्नो कम्प्युटरमा त्यो फाइल डाउनलोड गर्नासाथै ह्याकरले उनको ह्वाट्सएप वेबको नियन्त्रण आफ्नो हातमा लियो।
त्यसबेला कम्पनीका मालिक प्रवीणभाई पारिवारिक कामका लागि अर्को सहर उदयपुर पुगेका थिए। ह्याकरलाई यो कुराको पूर्ण जानकारी थियो।
भोलिपल्ट बिहानै ह्याकरले प्रवीणभाईकै नाम र फोटो प्रयोग गरी एकाउन्टेन्टलाई म्यासेज पठायो- ‘कोलकाताको एउटा कपडा कम्पनीलाई तुरुन्तै १ करोड ५० लाख रुपैयाँ ट्रान्सफर गरिदिनू।’
मालिककै म्यासेज आएको ठानेर एकाउन्टेन्टले कुनै सोधपुछ नगरी आरटीजीएस मार्फत उक्त रकम तुरुन्तै पठाइदिए। पछि मात्र आफूहरू ठगिएको थाहा पाएपछि उनीहरूले प्रहरीमा उजुरी दिए।
तत्काल उजुरी परेकै कारण प्रहरीले ठगी भएकोमध्ये १ करोड १३ लाखभन्दा बढी रकम रोक्का गर्न सफल भयो भने करिब २५ लाख रुपैयाँ विदेश पठाइसकिएको खुल्यो।
कसरी काम गर्छ ‘बोस स्क्याम’ ले ?
अहमदाबाद साइबर क्राइम ब्रान्चकी प्रहरी नायब उपरीक्षक (डीएसपी) लवीना सिन्हाका अनुसार यसको कार्यशैली निकै संगठित छ।
अपराधीहरूले सरकारी निकाय वा बैंकको नाममा कम्पनीका अधिकारीहरूलाई .exe वा .dll जस्ता हानिकारक फाइलहरू (मैलवेयर) पठाउँछन्। जब कुनै कर्मचारीले कम्प्युटरमा त्यो फाइल खोल्छ, कम्प्युटरमा लग-इन रहेको ह्वाट्सएप वेबको सेसन ह्याकरको पहुँचमा पुग्छ।
ह्याकरहरूले कम्पनीका हाकिम वा सीईओको नाम, पद र फोटो प्रयोग गरी नक्कली ह्वाट्सएप प्रोफाइल बनाउँछन्। हाकिम बनेर एकाउन्टेन्ट वा फाइनान्स विभागका कर्मचारीलाई "अत्यन्त जरुरी परेको" भन्दै सोधपुछ गर्ने मौका नै नदिई रकम ट्रान्सफर गर्न लगाइन्छ।
यस धन्दाका लागि टेलिकम कम्पनीका कर्मचारीहरूसँग मिलेमतो गरी सर्वसाधारणको बायोमेट्रिक दुरुपयोग गरेर हजारौँ नक्कली सिमकार्ड निकालिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘साइबरक्राइम-एज-ए-सर्भिस’ र अन्तर्राष्ट्रिय जालो
प्रहरीका अनुसार यो कुनै एक व्यक्तिको काम नभई संगठित गिरोहको योजना हो। अहिले साइबर अपराधको संसारमा सबै कुरा आफैँ बनाउनुपर्दैन, तयारी सेवाहरू किन्न पाइन्छ जसलाई ‘साइबरक्राइम-एज-ए-सर्भिस’ भनिन्छ।
कसैले नक्कली सिम बेच्ने, कसैले ओटीपी उपलब्ध गराउने, कसैले ह्वाट्सएप ह्याक गर्ने र कसैले रकम असुल्ने काम बाँडफाँट गरेर गर्छन्।
यस प्रकरणमा भारतका २६ राज्यमा दर्ता भएका २५१ वटा उजुरीको अनुसन्धान गर्दा ४ हजार ५ सयभन्दा बढी नक्कली सिमकार्ड प्रयोग भएको भेटिएको छ। यो गिरोहमा प्रयोग गरिएको मैलवेयर चीनका साइबर अपराधीहरूले बनाएको र यसको नेटवर्क हङकङ तथा पाकिस्तानसम्म जोडिएको आशंका गरिएको छ।
‘बोस स्क्याम’ बाट कसरी जोगिने ?
साइबर विज्ञ र प्रहरीले यस्ता ठगीबाट बच्न विभिन्न उपायहरू सुझाएका छन्।
ह्वाट्सएप वा इमेलमा अपरिचित नम्बरबाट आएका ZIP, .exe, वा .apk जस्ता फाइलहरू कहिल्यै डाउनलोड वा ओपन गर्न नहुने सुझाव दिएको छ।
हाकिम वा सीईओले ह्वाट्सएप वा इमेलमा जतिसुकै ‘इमर्जेन्सी’ भनेर रकम ट्रान्सफर गर्न भने पनि सीधै फोन गरेर वा प्रत्यक्ष भेटेर पुष्टि नगरी रकम नपठाउने र आफ्नो ह्वाट्सएपको ‘Linked Devices’ नियमित चेक गर्ने अनि कुनै अपरिचित डिभाइसमा लग-इन देखिएमा तुरुन्तै ‘Log out’ गर्न भनेको छ।
ह्वाट्सएप र बैंक खाताहरूमा अनिवार्य रूपमा टु-फ्याक्टर अथेन्टिकेसन सक्रिय राख्न र यदि ठगी भइहालेमा ढिला नगरी तत्काल प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ।
भदौ २७, २०८३ शनिबार १३:३९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।