१८औँ ब्रिक्स शिखर सम्मेलन : नयाँ दिल्लीमा विश्व नेताहरूको जमघट, १० वर्षपछि पहिलोपटक सी, मोदी र पुटिन एकसाथ देखिँदै

१८औँ ब्रिक्स शिखर सम्मेलन : नयाँ दिल्लीमा विश्व नेताहरूको जमघट, १० वर्षपछि पहिलोपटक सी, मोदी र पुटिन एकसाथ देखिँदै

एजेन्सी: भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स  शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्। 

सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। दुई देशका शीर्ष नेताहरूको यो भेटलाई आजको मुख्य आकर्षणका रूपमा हेरिएको छ। 

भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले भारत र चीनले रणनीतिक दृष्टिकोणका साथ आपसी मतभेदहरूलाई उचित ढङ्गले समाधान गर्दै पारस्परिक सहयोग सहकार्य अघि बढाउने बताएका छन्।

चीनका राष्ट्रपति सीको यो छ वर्षपछि पहिलो भारत भ्रमण हो भने नयाँ दिल्लीमा उनी १२ वर्षपछि पहिलो पटक आएका हुन्।

राष्ट्रपति सीले यसअघि अक्टोबर २०१९ मा दोस्रो भारत-चीन अनौपचारिक शिखर सम्मेलनका लागि तमिलनाडुको मामल्लापुरमको भ्रमण गरेका थिए। त्यसपछि सन् २०२० को सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा आएको चिसोपनका कारण उनी भारत आएका थिएनन्। त्यस्तै, राष्ट्रपति सीले अन्तिम पटक सेप्टेम्बर २०१४ मा चिनियाँ राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालको दौरान राजधानी दिल्लीको भ्रमण गरेका थिए।

यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नै तीन दिने भ्रमणका लागि दिल्ली पुगिसकेका छन्। सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता पुटिनले रुसबाहिर आयोजना भएको ब्रिक्स सम्मेलनमा भाग लिएको यो पहिलो पटक हो। दिल्ली पुगेर पुटिनले जी-७ राष्ट्रहरूको आलोचना गर्दै ब्रिक्स देशहरूले विश्वको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने र यी देशहरूसँग गतिशील तथा सशक्त आन्तरिक बजार रहेको दाबी गरे।

यसपटक भारतले "उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनाको निर्माण" भन्ने मूल नाराका साथ चौथो पटक ब्रिक्सको अध्यक्षता गरिरहेको छ।

१० वर्षपछि नरेन्द्र मोदी, भ्लादिमिर पुटिन र सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै छन्। यसअघि यी तीन नेता सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। 

यस्तै, सम्मेलनमा भाग लिन इरानका राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसी दिल्ली पुगेका छन्। चुनावी अभियानका कारण ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा आउन नसकेपछि त्यहाँका विदेशमन्त्री माउरो भिएराले प्रतिनिधित्व गरेका छन्। त्यसैगरी मलेसिया, इथियोपिया, भियतनाम र संयुक्त अरब इमिरेट्सका शीर्ष नेतृत्व पनि सम्मेलनमा सहभागी छन्।

शनिबार भारत मण्डपममा अपराह्न २ बजेपछि नेताहरूको आगमनसँगै औपचारिक कार्यक्रम सुरु हुनेछ। अपराह्न २:३५ बजे "समावेशी विश्वव्यापी सुशासन र बहुपक्षवादको सुदृढीकरण" विषयमा पहिलो बन्द सत्र सञ्चालन हुनेछ। त्यसपछि नेताहरूले 'भारत इनोभेट्स' प्रदर्शनीको अवलोकन गर्नुका साथै संयुक्त रूपमा वृक्षरोपण गरी पारिवारिक तस्बिर खिचाउनेछन्। शनिबार साँझ ७:३० बजे प्रधानमन्त्री मोदीले पाहुना नेताहरूको सम्मानमा विशेष रात्रीभोजको आयोजना गर्नेछन्।

कडा सुरक्षा व्यवस्था र ट्राफिक प्रतिबन्ध
शिखर सम्मेलनलाई ध्यानमा राख्दै नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। भारत मण्डपम र आसपासका क्षेत्रमा ३० हजारभन्दा बढी प्रहरी र प्यारामिलिटरी बल, एन्टी-ड्रोन प्रणाली र ५०० भन्दा बढी उच्च क्षमताका सीसीटीभी क्यामेरा जडान गरिएको छ। साथै, सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीको आकाशमा गैर-निर्धारित उडानहरूमा प्रतिबन्ध लगाइएको छ भने मुख्य सडकहरूमा ट्राफिक डाइभर्सन गरिएको छ।

हाल ११ राष्ट्रहरू सदस्य रहेको ब्रिक्स समूहले विश्वको कुल जनसङ्ख्याको ४९.५ प्रतिशत, कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत र विश्व व्यापारको २६ प्रतिशत हिस्सा ओगट्छ।

भदौ २७, २०८३ शनिबार १२:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।