फिलिपिन्समा फेरीमा भीषण आगलागी : मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता
एजेन्सी : फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ। अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन्।
बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो। आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ।
समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए। शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो। फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएकी छन्।
“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ। त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उनले पत्रकार सम्मेलनमा भनिन्।
उनका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन्। जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन्।
कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जना उद्धार भएका छन् भने ५४ जना अझै बेपत्ता छन्। आगलागीपछि तत्कालै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो।
कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शवका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ।
केही सेकेन्डमै फैलियो आगो
कोस्ट गार्डकी प्रवक्ता कयाबयाबले शुक्रबार रेडियोसँग कुरा गर्दै आगो जहाजको कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको बताएकी छन्। “ठूलो विस्फोटको आवाज सुनेदेखि धुवाँ देखिन थालेको र त्यसपछि आगो लागेको थियो। आगो निकै छिटो फैलियो,” उनले भनिन्।
उनका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएनन्।
यसअघि जनवरीमा दक्षिणी फिलिपिन्समा ३४० भन्दा बढी मानिस सवार तीन तले फेरी डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा पनि लेडी मेरी जोय ३ फेरीमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो। हालको एमभी जुन एस्टर दुर्घटना पनि लगभग त्यही समुद्री मार्गमा भएको हो।
भदौ २७, २०८३ शनिबार ११:३९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।