‘प्रधानमन्त्रीको हैसियतमा नबोलाइएको’ भन्दै बंगलादेशद्वारा भारतमा हुने ब्रिक्स सम्मेलन बहिस्कार
एजेन्सी : भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमान सहभागी नहुने भएका छन्।
भारतले रहमानलाई बंगलादेशको प्रधानमन्त्रीको हैसियतमा नभई क्षेत्रीय संगठन ‘बिम्सटेक’को अध्यक्षका रूपमा मात्र निम्तो पठाएकाले उक्त सम्मेलनमा नजाने निर्णय गरिएको बंगलादेशले स्पष्ट पारेको छ।
बंगलादेशका विदेश राज्यमन्त्री हुमायुँ कबिरले ढाकामा पत्रकारहरूसँग कुरा गर्दै ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री रहमान वा अन्य कुनै पनि सरकारी प्रतिनिधि सहभागी नहुने जानकारी दिएका हुन्।
‘द्विपक्षीय भ्रमणहरू अनुकूल वातावरण र आपसी सम्मानका आधारमा हुनुपर्छ। भारतले हाम्रो प्रधानमन्त्रीलाई बिम्सटेक अध्यक्षका रूपमा निम्तो दिएको हो, यसलाई द्विपक्षीय निमन्त्रणा मान्न सकिँदैन। पहिलो भ्रमण बहुपक्षीय सम्मेलनबाट सुरु हुन सक्दैन’, राज्यमन्त्री कबिरले भने।
गत फेब्रुअरीमा प्रधानमन्त्री बनेका रहमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली भ्रमणको निम्तो पठाए पनि उनले भारत जानुको सट्टा मलेसिया र चीनको भ्रमण रोजेका थिए।
भारतभन्दा टाढिँदै ढाका
शेख हसिनाको सत्ता पतनपछि बनेको नयाँ सरकारले भारतकेन्द्रित परराष्ट्र नीतिलाई त्याग्दै गएको संकेत मिलेको छ।
बंगलादेशले हालै पाकिस्तान, साउदी अरब र टर्कीबीच भएको सामूहिक रक्षा सम्झौता (मक्का सम्झौता) मा सामेल हुन तीव्र चासो देखाइरहेको छ। सत्तापक्ष र मुख्य प्रतिपक्षी दल जमात-ए-इस्लामी दुवै यसको पक्षमा उभिएका छन्।
ब्रिक्सको सदस्यता लिन चाहेर पनि बंगलादेश यसको सम्मेलनमा अनुपस्थित हुनुले भारत र बंगलादेशबीचको चिसिँदो सम्बन्धलाई उजागर गरेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।
यो निर्णयबाट बंगलादेशले रुस, चीन र इरानजस्ता शक्ति राष्ट्रहरूसँग सीधा संवाद गर्ने अवसर गुमाए पनि भारतमाथिको निर्भरता घटाएर ‘बंगलादेश फर्स्ट’ को नीति लिन खोजेको विश्लेषण गरिएको छ।
भदौ २७, २०८३ शनिबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।