‘तिमीहरूलाई घर लैजान आएको हुँ' : निर्मल पुर्जा र साथीहरूको शव फर्काउँदाको त्यो क्षण
एजेन्सी : हिउँले ढाकिएको कठ्याङ्ग्रिँदो भिरालो जमिनमा दुईवटा निष्प्राण शरीर देख्दा मिङ्मा ग्याल्जे शेर्पालाई आफ्ना प्रिय साथीहरू अब यस संसारमा रहेनन् भन्ने पक्का भइसकेको थियो।
संसारका अग्ला-अग्ला हिमालहरू सँगै चढेका निर्मल पुर्जा (निम्स) र किली पेम्बा शेर्पा (किलु) मिङ्माले चिनेका सबैभन्दा साहसी र बलिया आरोहीहरूमध्ये पर्थे। तर गत जुलाईमा पाकिस्तानको ब्रोड पिक हिमाल चढ्ने क्रममा आएको भीषण हिउँपहिरोले उनीहरूलाई सधैँका लागि बगायो।
ड्रोनले खिचेका तस्बिरहरूले उनीहरू कोही पनि जीवित नरहेको प्रस्ट पारिसकेको थियो। तैपनि हिउँमा टल्किएका डाउन सुटहरू नजिक पुग्दा मिङ्माको मनले साथीहरू अझै आफ्नै पर्खाइमा छन् कि भन्ने सोचाइ हटाउन सकेन।
इस्लामाबादमा बीबीसीसँग कुरा गर्दै मिङ्माले त्यो हृदयविदारक क्षण सम्झिए, ‘मैले उनीहरूको शरीर समातेर भनेँ- अब चिन्ता नगर, तिमीहरूले यो चिसोमा धेरै समय बस्नु पर्दैन। म तिमीहरूलाई घर लैजान आएको छु।’

हिमालले जुराएको मित्रता
मिङ्मा र निर्मल पुर्जाबीच सन् २०२१ मा पाकिस्तानको केटु हिमालको हिउँदयाममा पहिलो पटक सफल आरोहण गर्ने क्रममा भेट भएको थियो। सुरुमा निम्सलाई घमन्डी सोचेका मिङ्माले सँगै हिमाल चढेपछि उनलाई निकै दयालु र सहयोगी पाएका थिए।
त्यसयता उनीहरूको भेट विश्वका विभिन्न हिमालहरूमा भइरहन्थ्यो। यस पटक पनि उनीहरू काराकोरम क्षेत्रमा सँगै हिँडेका थिए। त्यसपछि मिङ्मा केटु हिमालतिर र निम्स करिब ८ किलोमिटर टाढा रहेको ब्रोड पिकतर्फ लागे। छुट्टिनुअघि निम्सले मिङ्मालाई ‘पछि भेटौँला’ भनेका थिए, तर त्यो पछि कहिल्यै हुन पाएन।
३० जुलाईको बिहान मौसम सफा र घमाइलो थियो। मिङ्मा केटुको उचाइतिर थिए भने निम्सको नेतृत्वमा रहेको १० जनाको टोली ब्रोड पिक चढिरहेको थियो। बिहान ८:३० बजे मिङ्माको आफ्ना बाल्यकालका साथी किलु (किली पेम्बा) सँग कुरा भएको थियो। दुवैले अर्को क्याम्पमा पुगेर फेरि कुरा गर्ने बाचा गरेका थिए।
तर, त्यसको एक घण्टा नबित्दै ब्रोड पिकको टुप्पोबाट ठूलो हिउँपहिरो खस्यो। स्थानीय ट्रेकिङ गाइडहरूले हिउँपहिरो तल खसेको देखे तर आरोहीहरूलाई देख्न सकेनन्।

दिउँसो ३ बजेसम्म ब्रोड पिकको टोलीसँग बेसक्याम्पको कुनै सम्पर्क हुन सकेन। साँझ ८ बजेतिर आरोहीहरूको स्याटेलाइट ट्र्याकर (जिपिएस) को उचाइ एक्कासि १६ सय मिटर तल खसेको देखियो। भोलिपल्ट बिहान ड्रोन उडाएर हेर्दा भीरमा शवहरू यत्रतत्र छरिएको देखियो। कसैको पनि ज्यान बचेको थिएन।
यो खबर पाएपछि मिङ्माले आफ्नो केटु आरोहण तत्काल रद्द गरे र साथीहरूको शव फिर्ता ल्याउने अठोट गरे।
जोखिमपूर्ण शव संकलन अभियान
ब्रोड पिकको फेदीमा रहेका पाकिस्तानी गाइड वकार अली र अर्का आरोहीले सगरमाथा चढ्ने पहिलो ओमानी महिला नधिरा अल हार्ती र १२ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल चढिसकेका नेपाली आरोही पुरबहादुर गुरुङको शव फेला पारेका थिए।
तर अन्य साथीहरूको शव अझै हिमालमै थियो। हेलिकप्टरबाट उद्धार गर्ने प्रयास सम्भव नभएपछि मिङ्मा आफैँ हिँडेर उद्धार गर्ने कठोर निर्णयमा पुगे। मृतक किलुका परिवारले मिङ्मालाई भनेका थिए, ‘आफ्नो भाइलाई हिमालमै नछोड्नू।’
अगस्ट १ मा मिङ्मा जी र उनको टोली निम्स, किलु, चिनियाँ आरोही वाङ झोङ र निमा शेर्पाको शव खोज्नतिर लागे। उद्धार टोली शव नजिक पुगेर डोरी बाँध्न लाग्दा फेरि अर्को हिउँपहिरो खस्यो। भाग्यवश उद्धारकर्ताहरू जोगिए, तर शवहरू थप जोखिमपूर्ण ठाउँमा पुगे।

जोखिम बढ्दै गएपछि टोलीका सदस्यहरू घट्दै ९ बाट ४ जनामा सीमित भए। त्यसपछि मिङ्मा आफैँ अलि पर बसेर ड्रोनमार्फत निगरानी गर्दै बाँकी तीन जना आरोहीलाई निर्देशन दिन थाले। करिब ५-६ घण्टाको कडा मिहिनेतपछि उनीहरूले शवहरूलाई तल झार्न सफल भए।
अन्तिम दृश्य
मिङ्माले साथीहरूको अवस्था देख्दा निकै भावुक बनेको बताए। निम्स र किलुले हिउँपहिरो आउँदै गरेको देखेर ज्याकेटले मुख छोपेका थिए। दुवै जना एउटै डोरीमा बाँधिएका थिए र उनीहरूको खुट्टा डोरीमा जेलिएको थियो।
मिङ्माका अनुसार, ‘उनीहरू करिब ५०० मिटर तल खसेका थिए। तर डोरीमा सँगै बाँधिएका कारण एक-अर्कासँग नराम्ररी ठोक्किएर उनीहरूको ज्यान गएको हुनसक्छ। सायद डोरीमा नबाँधिएको भए उनीहरू बाँच्न पनि सक्थे कि!’

उक्त दुर्घटनामा पाकिस्तानी आरोही सोहेल सखी र अमेरिकी आरोही मालोरी गिसको शव पछि फेला परेको थियो भने नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव अझै हिमालमै छ।
साथीहरूलाई घर फर्काएपछि...
सबै शवहरूलाई हेलिकप्टरमार्फत स्कार्दु हुँदै इस्लामाबाद पुर्याइयो। अगस्ट ११ मा निर्मल पुर्जा, किलु पेम्बा, निमा शेर्पा र ग्याल्जेन शेर्पाको पार्थिव शरीर काठमाडौं ल्याइयो। निर्मल पुर्जाको परिवारले अत्यन्तै कठिन परिस्थितिमा पनि शव घरसम्म ल्याइदिएको भन्दै मिङ्माप्रति गहिरो आभार व्यक्त गरेको छ।

यो घटनाले मिङ्माको मनमा गहिरो चोट पुर्याएको छ। साथीहरू गुमाएको यो पीडाले उनलाई आफ्नो पर्वतारोहण यात्राकै अन्त्य नजिकिएको हो कि भन्ने भान गराएको छ।
विगतमा केटु हिमाल चढ्दा हिउँ र चिसोका बीच निम्स र किलुसँगै गीत गाउँदै हिँडेका क्षणहरू सम्झिँदै मिङ्मा भन्छन्, ‘मलाई थाहा छैन, ती पुराना यादहरूले मलाई हिमाल चढिरहन प्रेरणा दिन्छन् वा अब सधैँका लागि रोक्छन्।’
बीबीसीमा प्रकाशित सामग्रीको सम्पादनसहित नेपाली अनुवाद गरिएको।
भदौ २७, २०८३ शनिबार ०९:१३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।