हर्मुज जलमार्गको भविष्यबारे खाडी मुलुकसँग छलफल गर्दै इरान

हर्मुज जलमार्गको भविष्यबारे खाडी मुलुकसँग छलफल गर्दै इरान

एजेन्सी : तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको हर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ। 

मध्यपूर्वको युद्धका क्रममा इरानले हर्मुज जलमार्गलाई पटक पटक अवरुद्ध पार्ने गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो बैठक क्षेत्रका देशहरूबीच राम्रो समझदारी बढाउन र साझा क्षेत्रीय सुरक्षा सुदृढ गर्न लक्षित छ।”

‘इराक र पर्सियाली खाडीका अन्य तटवर्ती राज्यहरू’ पनि सहभागी हुने बताइएको छ। इरान अमेरिकी-इजरायली आक्रमणमा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी २८ देखि युद्धमा छ।

इरानले क्षेत्रभरि आक्रमण गरेर जवाफी कारबाही गरेको र हर्मुज जलमार्गलाई नाकाबन्दी गरेको छ। यस मार्गबाट पहिले विश्वको पाँच भागको एक भाग इन्धन आपूर्ति हुन्थ्यो।

मध्यपूर्व युद्ध सुरु भएको छ महिनाभन्दा बढी भइसक्दा पनि नाकाबन्दी जारी छ। यसले तेलको मूल्य बढाइरहेको छ र यस साता प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

हर्मुज जलमार्गसँग सीमा जोडिएका ओमान र इरानले विगत केही हप्तादेखि यो महत्त्वपूर्ण जलमार्ग भविष्यमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरिरहेका छन्।

युद्धअघि यो जलमार्ग स्वतन्त्र रूपमा आवतजावतका लागि खुला थियो। तर अहिले इरानले जहाजहरूलाई अनुमति लिनुपर्ने बनाएको छ र सेवा शुल्क लगाउने संयन्त्रबारे पनि विचार गरिरहेको छ।

नमान्ने जहाजहरूलाई नियमित रूपमा इरानी आक्रमणको निसाना बनाइन्छ भने संयुक्त राज्य अमेरिकाले समय-समयमा इरानी तटरेखालाई बमवारि गरेर इरानी नियन्त्रणलाई चुनौती दिइरहेको छ।

भदौ २६, २०८३ शुक्रबार २२:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।