ओमानलाई ६० रनमै समेटेर नेपाल प्रिमियर कपको फाइनलमा, उपाधिका लागि युएईसँग भिड्ने
काठमाडौं : दीपेन्द्रसिंह ऐरीको चामत्कारिक अलराउन्ड प्रदर्शन र स्पिनरहरूको उत्कृष्ट बलिङप्रेरित नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा ओमानलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।
नेपालले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा मात्र ६० रनमै अलआउट भयो।
अब नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोलीले अर्को वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।
६० रनमै ढल्यो ओमान
सामान्य लक्ष्य पछ्याएको ओमान नेपाली स्पिन बलरहरूसामु पूर्ण रूपमा निरीह देखियो। ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका १० वटै विकेट स्पिनरहरूले हात पारे।
ओमानका लागि ओपनर जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। ओमानका तीन खेलाडी शून्य रनमै पेभेलियन फर्किएका थिए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ६ ओभरमा १ मेडनसहित मात्र ९ रन खर्चेर ३ विकेट हात पारे।
यस्तै, ललित राजवंशीले ५ ओभरमा १२ रन दिएर २ विकेट तथा रोहित पौडेलले ४.१ ओभरमा ७ रन खर्चेर २ विकेट चट्काए।
दीपेन्द्र र बसिरको संकटमोचक साझेदारी
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालको सुरुआत निकै निराशाजनक थियो। शीर्ष क्रम ध्वस्त हुँदा नेपालले ३६ रनमै ४ विकेट गुमाइसकेको थियो।
तर, पाँचौं विकेटका लागि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले ९३ रनको सानदार साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए।
दीपेन्द्रले ७६ बलमा ४ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै, धैर्यपूर्ण ब्याटिङ गरेका बसिरले ८८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४७ रन बनाए। यी दुई आउट भएपछि नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो। ओमानका जय ओडेद्रा र हसनैन शाहले समान ३-३ विकेट लिए।
ब्याटिङतर्फ ५१ रन, बलिङतर्फ ३ विकेट र फिल्डिङमा २ उत्कृष्ट क्याच लिएका दीपेन्द्रसिंह ऐरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
भदौ २५, २०८३ बिहीबार १३:०६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।