अक्सनमा ६० लाख डलरमा बिकेको केरा !
४ डिसेम्बर २०१९ को बिहान।
अमेरिकाको ‘आर्ट बासेल मियामी बिच’ प्रदर्शनीको भीआईपी ओपनिङमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो, फिल्म निर्देशक माइकल बे र र्यापर ट्राभिस स्कट जस्ता विश्वचर्चित हस्तीहरूको बाक्लो उपस्थिति थियो।
उक्त भव्य कला मेलामा करोडौं डलरका कलाकृतिहरू सजिएका थिए। हेलेन फ्रान्केन्थालरको एउटा पेन्टिङ करिब १६ लाख डलरमा बिक्री भइसकेको थियो भने विलेम डे कुनिङको कलाकृतिको मूल्य ८० लाख डलर तोकिएको थियो।
तर, ‘आर्टनेट न्युज’की पत्रकार सारा क्यास्कोनको आँखा ती बहुमूल्य पेन्टिङमा होइन, इटालीका कलाकार मौरिजियो क्याटिलेनको एउटा अनौठो सिर्जनामा अडियो।
त्यो कुनै दुर्लभ चित्रकला थिएन; सेतो भित्तामा सिल्भर डक्ट टेपले तेर्सो पारेर टाँसिएको एउटा सामान्य केरा थियो। कलाकार क्याटिलेनले यसको नाम राखेका थिए- ‘कमेडियन’।

भाइरल सनसनी र लाखौँ डलरको मूल्य
केही घण्टामै यो केरा विश्वभर भाइरल भयो। कसैले यसलाई कलाको उपहास भनेर खिल्ली उडाए, कसैले अचम्म माने त कसैले हाँसोमा उडाए। सामाजिक सञ्जालमा टेप र केरा टाँसेका ‘मिम्स’हरूको बाढी नै आयो।
सञ्चारमाध्यममा समाचार सार्वजनिक भयो- फलफूलमा आधारित यो कलाकृतिका दुईवटा प्रतिहरू १ लाख २० हजार डलरका दरले बिक्री भए। केही दिनभित्रै तेस्रो तथा अन्तिम प्रति १ लाख ५० हजार डलरमा बिक्री भयो।
खरिदकर्तालाई कलाकारले एउटा प्रमाणपत्र र भित्तामा केरा कुहिएपछि कसरी नयाँ केरा फेर्ने भन्ने निर्देशिका थमाइदिएका थिए।
क्याटिलेनको उद्देश्य चर्चा बटुल्नु थियो भने, ‘कमेडियन’ असाधारण रूपमा सफल भयो। आर्ट ग्यालरीको पर्खाल नाघेर संसारभरका सर्वसाधारणको चिया गफसम्म पुग्ने कलाकृति आधुनिक युगमा विरलै बनेका छन्।
यसको बजार मूल्य यतिमै रोकिएन; सन् २०२४ मा अक्सनमा यसको एउटा प्रति ६२ लाख ४० हजार डलरमा पुनः बिक्री भयो। यति ठूलो रकम एउटा साधारण केरामा खर्चिएको देखेर फेरि एकपटक आलोचकहरू आक्रोशित भए।
विवादको ४०० वर्ष पुरानो परम्परा
धेरैलाई यो केरा देखेर अचम्म लाग्ला, तर कलाको इतिहास पल्टाउने हो भने क्याटिलेनले गरेको यो नौलो प्रयोग होइन। उनी केवल कला जगतमा ‘विवाद र आक्रोश’ कसरी बेच्ने भन्ने कलाका माहिर खेलाडी हुन्।
प्रतिस्पर्धात्मक रचनात्मक क्षेत्रमा केवल सीप वा बौद्धिकताले मात्र सफलता दिलाउँदैन भन्ने क्याटिलेनले धेरै पहिले बुझिसकेका थिए। विवादले मानिसको ध्यान तान्छ, ध्यानले दर्शक बढाउँछ र दर्शकले मूल्य बढाउँछ।
कलाको इतिहासले यही भन्छ। ४०० वर्षअघि प्रख्यात चित्रकार काराभाजोले आफ्ना धार्मिक चित्रहरूमा चरम हिंसा र कामुकता देखाएर तत्कालीन समाजलाई स्तब्ध बनाएका थिए।

१९औँ शताब्दीका मोने, माने, सेजान जस्ता आजका पूज्य कलाकारहरूलाई तत्कालीन आलोचकहरूले ‘कलंकी’ भनेर खिल्ली उडाएका थिए। बीसौँ शताब्दीसम्म आइपुग्दा ‘कलात्मक नवीनता’ र ‘जनआक्रोश’ एउटै सिक्काका दुई पाटा बनिसकेका थिए।
क्याटिलेनले यसअघि पनि यस्ता विवाद जन्माइसकेका छन्। सन् १९९९ मा उनले बनाएको ‘ला नोना ओरा’ (उल्कापिण्डले किचिएका पोप जोन पल द्वितीयको मूर्ति) र २००१ को ‘हिम’ (प्रार्थना गरिरहेको बालकको शरीरमा एडोल्फ हिटलरको अनुहार) ले विश्वभर तरंग ल्याएको थियो।
अझ रोचक कुरा, ‘कमेडियन’ भन्दा ठीक २० वर्षअघि सन् १९९९ मा क्याटिलेनले ‘ए पर्फेक्ट डे’ नामक प्रदर्शनीमा कुनै कलाकृति होइन, आफ्ना मिलानका आर्ट डिलर मासिमो डे कार्लोलाई नै भित्तामा डक्ट टेपले टाँसिदिएका थिए। यसपटक मान्छेको ठाउँमा केरा आयो, तर सन्देश उही थियो- आर्ट बजारको घमण्डलाई व्यङ्ग्य गर्नु।

किन केरा नै रोजियो?
केरा केवल फल मात्र होइन; कला इतिहासमा यसको लामो उपस्थिति छ। एन्डी वारहोलदेखि जर्जियो डे चिरिकोसम्मले आफ्नो कलामा केरालाई स्थान दिएका छन्।
१६औँ शताब्दीदेखि चल्दै आएको ‘स्टिल लाइफ’ (निर्जीव वस्तु वा फलफूलको चित्र) को परम्परालाई क्याटिलेनले जीवन्त रूप दिएका हुन्।
फरक यति मात्र हो, पहिले क्यानभासमा कुहिने फलफूलको चित्र कोरेर जीवनको क्षणभङ्गुरता दर्शाइन्थ्यो; क्याटिलेनले साँच्चिकै कुहिने केरालाई सिधै भित्तामा टाँसिदिए।
बजारमा पाइने साधारण वस्तुलाई उठाएर सिधै ‘कला’ घोषित गर्ने यो शैली पनि नयाँ होइन। सन् १९१७ मै मार्सेल डुशाम्पले एउटा पिसाब फेर्ने युरिनल लाई उल्टो पारेर प्रदर्शन गर्दै त्यसलाई ‘फाउन्टेन’ नाम दिएर कलाको परिभाषामाथि प्रश्न उठाएका थिए।
भदौ २६, २०८३ शुक्रबार ०९:५२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।