चीनको कार्गो जहाजमा भीषण आगलागी; २० जनाको मृत्यु, ५ बेपत्ता
एजेन्सी : चीनको एक प्रमुख तटीय बन्दरगाहमा मर्मतका लागि राखिएको एक विदेशी ध्वजाबाहक कार्गो जहाजमा भीषण आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी समुद्री केन्द्र छिङदाओस्थित 'बेइहाइ सिपबिल्डिङ कम्पनी'मा मर्मतका लागि राखिएको ‘ओसियन मेलोडी’ नामक जहाजमा बिहीबार बिहान ११ बजेतिर अचानक आगलागी सुरु भएको थियो।
'वेसलफाइन्डर' नामक जहाज ट्र्याकिङ वेबसाइटका अनुसार लाइबेरियाको झण्डावाहक सो जहाजमा आगलागी हुँदा कुल ४२ जना सवार थिए।
आगलागीपछि १७ जनालाई सकुशल उद्धार गरिएको छ। पाँच जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप पाँच जना अझै बेपत्ता छन् ।
बीस जना घटनास्थलमा मृत भेटिएको सीसीटीभीले जनाएको छ।
प्रसारकले दिउँसो करिब २ः३० बजे खुला नियन्त्रणमा आएको बताएको छ। करिब बिहान ११ः१५ बजे लागेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।
“सन्डोङ प्रान्तको छिङदाओमा रहेको बेइहाई सिपबिल्डिङ कम्पनी लिमिटेडको विदेशी कार्गो जहाज मर्मतका लागि बन्दरगाहमा आएका बेला आगो लाग्दा ठूलो जनधनको क्षति भएको छ,” सिन्ह्वाले आगलागीेबारे बताएको छ।
राष्ट्रपति सी जिनपिङले तत्काल खोज र उद्धार अभियान सञ्चालन गर्न आह्वान गर्दै ‘घटनामा जिम्मेवारहरूलाई कडा रूपमा जवाफदेही बनाउनुपर्ने’ कुरामा जोड दिएको सिन्ह्वाले उल्लेख गरेको छ।
छिमेकी आवासीय परिसरका प्रत्यक्षदर्शीहरूले जहाजबाट बाक्लो धुवाँ आएको तर विस्फोटको आवाज नसुनेको बताएका छन्।
“मैले संयोगवश जहाजमा आगलागी भएको देखिनुभन्दा पहिले धुवाँ आएको देखेँ, तर कुनै विस्फोटको आवाज भने सुनिएको थिएन,” एक प्रत्यक्षदर्शीले बताए।
सिन्ह्वाले घटनास्थलको एउटा तस्बिर सार्वजनिक गरेको छ जसमा ओशन मेलोडी नामक ठूलो जहाज ‘डक’मा रहेको र अगाडि धेरै दमकल गाडीहरू आगलागी नियन्त्रण गर्न भेला भएको देखिन्छ।ओशन मेलोडी १९० मिटर (६२३ फिट) लामो तथा धेरै सामान बोक्ने लाइबेरियाली जहाज हो।
छिङदाओ प्रमुख अन्तर्राष्ट्रिय समुद्री केन्द्र हो। यसले १८० भन्दा बढी देश र क्षेत्रका ७०० भन्दा बढी बन्दरगाहहरूसँग जोडिएको छ।
राष्ट्रपति सीले घटनाबारे दुःख व्यक्त गर्दै भने, “सबै क्षेत्र र सम्बन्धित विभागहरूले यस घटनाबाट गहन पाठ सिक्नुपर्छ र सबै प्रकारका आगोका जोखिमहरूको पूर्ण रूपमा छानबिन गरी सुधार गर्नुपर्छ।” घटनाको निष्पक्ष छानविन गर्न र दोषी उपर कडा कारबाही गर्न उनले निर्देशन दिएका छन्।
भदौ २५, २०८३ बिहीबार १८:१९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।