युद्ध अपराधको आरोपमा सिरियामा असद शासनका तीन जनरलसहित नौ पूर्वपाइलट पक्राउ
एजेन्सी : सिरियाली अधिकारीहरूले पूर्वराष्ट्रपति बशर अल-असदको शासनकालमा सर्वसाधारणमाथि घातक बमबारी गरेको आरोपमा तीन जनरलसहित नौ जना पूर्वसैन्य पाइलटलाई पक्राउ गरेका छन्। उनीहरूलाई तटीय प्रान्त लाटाकियाबाट नियन्त्रणमा लिइएको हो।
सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार पक्राउ परेका पूर्वपाइलटहरूमाथि देशका विभिन्न भूभागमा युद्ध अपराध गरेको गम्भीर आरोप छ।
गृहयुद्धका बखत उनीहरूले गरेको हवाई आक्रमणबाट ठूलो सङ्ख्यामा नागरिक हताहत हुनुका साथै आवासीय क्षेत्र र सार्वजनिक पूर्वाधारहरू ध्वस्त भएका थिए। पक्राउ पर्ने शीर्ष सैन्य अधिकारीहरूमा जनरल मेनहेल अनवर सालेह, सामी इब्राहिम महमुद र घयात अली रेयलगायत छन्।
सिरियामा १३ वर्षभन्दा लामो समयसम्म चलेको भीषण गृहयुद्धका क्रममा पाँच लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
सन् २०२४ को डिसेम्बरमा असद शासनको पतन भएपछि सत्ता सम्हालेका नयाँ अधिकारीहरूले पूर्वसुरक्षा निकाय र सैन्य अधिकारीहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाएका छन्। यस क्रममा दर्जनौँ पूर्वअधिकारीहरू पक्राउ परिसकेका छन् भने धेरैमाथि अदालतमा मुद्दा चलाइएको छ।
यसअघि, सिरियाको अदालतले पूर्वराष्ट्रपति असद, उहाँका भाइ महेर अल–असद तथा अन्य पाँच पूर्वसुरक्षा प्रमुखहरूलाई गृहयुद्धकालीन ज्यादतीमा संलग्न रहेको ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइसकेको छ। सत्ताच्युत भएपछि असद परिवारसहित भागेर रूस पुग्नुभएको थियो र उहाँ हाल त्यहीँ शरण लिएर बसिरहनुभएको विश्वास गरिन्छ।
भदौ २६, २०८३ शुक्रबार ११:५०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।