एसिसी प्रिमियर कप फाइनल : युएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा
काठमाडौं : तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने भएका छन्।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
दुवै टोली दोस्रोपटक प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन्। यस प्रतियोगिताको विजेताले आगामी एसिया कपमा सोझै स्थान बनाउने भएकाले उपाधि भिडन्त दुवै टोलीका लागि प्रतिष्ठाको विषय बनेको छ।
यसअघि सन् २०२३ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै सात विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो। युएईले भने सन् २०२४ को दोस्रो संस्करणमा घरेलु टोली ओमानलाई हराएर उपाधि जितेको थियो।
जारी प्रतियोगितामा नेपाल पाँच खेलमध्ये चार जित र एक हारको नतिजा निकाल्दै फाइनल पुगेको हो। युएई भने अपराजित रहँदै उपाधि नजिक आइपुगेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा यी दुई टोलीबीच हालसम्म १९ खेल भएका छन्; जसमा नेपाल ११ र युएई आठ खेलमा विजयी भएका छन्।
पछिल्ला पाँच भेटमा पनि तीन जितसहित नेपाल हाबी देखिएको छ। यसअघि गत मे महिनामा सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।
भदौ २७, २०८३ शनिबार ०७:१८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।