एसिसी प्रिमियर कप : युएईलाई हराएर लगातार दोस्रो पटक उपाधि उचाल्ने दाउमा नेपाल
काठमाडौं : एसिसी प्रिमियर कपको उपाधि रक्षा गर्न नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले भोलि (शनिबार) हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी जारी तेस्रो संस्करणको प्रतियोगितामा युएईलाई पराजित गरेमा नेपाल लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको च्याम्पियन बन्ने पहिलो टोली बन्नेछ।
नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी-२० फम्र्याटमा खेलाइएको थियो।
ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो। सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो। यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
तीन वर्षअघिको इतिहास दोहोर्याउने मौका
पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो। नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ।
नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। टी-२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो। सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो। ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ।
युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ। उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो। सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो। युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ। यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन।
समूह चरणमा हङकङबाहेक नेपालले तीन वटा खेलमा सानदार जित दर्ता गरेको थियो। सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो। १४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो। उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्यो।
नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ। एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो। विगतमा भएका महत्त्वपूर्ण प्रतियोगितामा नेपालका लागि युएई बाधक बनेको थियो। सोही कारण यस पटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ।
उनले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताए। “फाइनल हुने मैदानमा धेरै पिच छन्। कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ। सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ”, नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहेका चौधरीले भने।
‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उनको विश्लेषण छ। नेपालभन्दा बढी दबाब युएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बताए।
“पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने युएईविरुद्ध नेपाल हाबी भइरहेको छ। त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन्। त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन। फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ”, उनले भने।
युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन्। उनीहरूभन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनुभवी छन्। नेपालले फाइनलमा त्यसको फाइदा उठाउन सक्नुपर्ने पूर्व क्रिकेटर चौधरीको भनाइ छ।
“युएईको टोलीमा धेरैजसो भारतीय मूलका खेलाडी छन्। उनीहरूसँग एसोसियट र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन। त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ। हाम्रो बलिङ र फिल्डिङ उत्कृष्ट छ। ब्याटिङमा थप राम्रो गर्न सके उपाधि जित्न सक्छौं”, उनले भने।
नेपाल र युएईबीचको विगत
एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ। युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले युएईविरुद्ध अन्तिम पटक गत मे महिनामा खेलेको थियो।
उक्त आइसिसी विश्वकप लिग-२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो। सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो। नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ। -आंशिक सम्पादनसहित प्रकाशित राससको सामाग्री
भदौ २६, २०८३ शुक्रबार १७:११:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।