‘उद्योग बेचुवा कांग्रेस’ भनेर गाली गर्थे, तर त्यो सही निर्णय थियो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको आर्थिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाउँदै कडा कटाक्ष गरेका छन्।
प्रधानमन्त्री शाह खुला बजार र निजी क्षेत्रप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै थापाले उहाँले निजी क्षेत्रलाई हेर्नै नचाहेको टिप्पणी गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित जी.पी. कोइराला फाउन्डेसनको साधारणसभालाई सम्बोधन गर्दै सभापति थापाले भने, “म अहिले प्रधानमन्त्रीजीका बारेमा अरू विषयमा टिप्पणी गर्न चाहन्नँ, तर उहाँलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। मेरो बुझाइमा- ‘ही हेट्स प्राइभेट सेक्टर’।”
उनले यो कुरा कुनै अनुमानका भरमा नभई प्रधानमन्त्रीका अभिव्यक्ति र पछिल्ला निर्णयहरूका आधारमा बोलेको दाबी गरे। दुग्ध विकास संस्थान (डीडीसी), हेटौँडा कपडा कारखाना वा नेपाल औषधि लिमिटेड जस्ता रुग्ण सरकारी संस्थानहरू राज्यले नै चलाउनुपर्छ भन्ने सोचले मुलुकको अर्थतन्त्र नबन्ने थापाको भनाइ थियो।
“ती कारखानाहरू चलोस्, नाफा कमाओस्, मेरो शुभकामना छ। तर, राज्य चलाउने मान्छेले सिङ्गो देशको अर्थतन्त्रको संरचना बुझ्नुपर्छ। सबै कुरा सरकारले नै गर्ने हो भन्ने सोच राख्ने हो भने मुलुक अगाडि बढ्न सक्दैन”, थापाले भने।
‘२०४८ देखि २०५१ को समय नेपालको अर्थतन्त्रको गोल्डेन एज’
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई शान्ति प्रक्रिया र २०६२/६३ को आन्दोलनको नायकका रूपमा मात्रै सम्झिने गरिएको तर उनले सबैभन्दा ठूलो योगदान आर्थिक उदारीकरण रहेको थापाले दाबी गरे।
“२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देशको राजस्व मुस्किलले १२/१४ अर्ब उठ्थ्यो, डेढ अर्ब त घाटामा गएका उद्योगहरूलाई तिर्नुपर्थ्यो। वैदेशिक ऋणको भार त्यस्तै थियो,” थापाले स्मरण गरे, “त्यस्तो विषम परिस्थितिमा समाजवादी आन्दोलनबाट आएको नेताले बजार र निजी क्षेत्रमाथि विश्वास गर्ने ऐतिहासिक आँट गर्नुभयो।”
२०४९ सालमा निजी क्षेत्रलाई जलविद्युत्, हवाई सेवा, टेलिफोन, मेडिकल कलेज र बैङ्किङ क्षेत्र खोल्ने गिरिजाबाबुको निर्णयकै जगमा आजको आधुनिक नेपाल उभिएको थापाको दाबी छ।
उनले थपे, “यदि त्यो बेला सबै कुरा राज्यले नै गर्नुपर्छ भनेर बसेको भए, नेपालले कम्तीमा १० वर्ष गुमाउने थियो। भ्याट जस्तो कर प्रणाली ल्याउने आँट पनि त्यही बेला भएको हो।”
‘उद्योग बेचुवा कांग्रेस’ को गाली खायौँ, तर त्यो सही निर्णय थियो
आर्थिक सुधारका क्रममा नेपाली कांग्रेसले ठूलो राजनीतिक मूल्य चुकाउनुपरेको पीडा पनि थापाले पोखे।
“हामी विद्यार्थी राजनीतिमा देश दौडाहामा जाँदा विपक्षी दलका साथीहरूले मञ्चमा उभिएर ‘उद्योग बेचुवा कांग्रेस, उद्योग बेचेर खायो’ भन्दै गाली गर्थे,” थापाले भने, “त्यसको ठूलो चुनावी घाटा कांग्रेसले व्यहोर्यो। तर, गिरिजाबाबुले त्यसको हिसाबकिताब राख्नुभएन। उहाँले देशका लागि त्यो जोखिम लिनुभयो र त्यो निर्णय सही थियो।”
भदौ २६, २०८३ शुक्रबार १३:०३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।