बिहीबारदेखि नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव : शुक्रबार र शनिबार भारी वर्षा तथा हिमपातको सम्भावना, १३ जिल्लामा ‘रेड अलर्ट’

बिहीबारदेखि नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव : शुक्रबार र शनिबार भारी वर्षा तथा हिमपातको सम्भावना, १३ जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं : बङ्गालको खाडीमा विकसित भइरहेको 'अर्नब'  नामक चक्रवात थप शक्तिशाली बन्ने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै यस प्रणालीको प्रभाव नेपालमा पनि पर्ने र आगामी केही दिनसम्म देशका विभिन्न भूभागमा भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ।  

महाशाखाका अनुसार यस प्रणालीको प्रभाव आगामीबिहीबारबाटै मौसममा फेरबदल भई सुरु हुनेछ, जसको मुख्य प्रभाव शुक्रबार र शनिबार देखिनेछ।

“हालसम्मको मौसम विश्लेषणअनुसार कार्तिक १२ गते बिहीबारबाट सुरु भई विशेष गरी शुक्रबार र शनिबार कोसी, वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशसम्मको क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

शुक्रबारदेखि शनिबारसम्म कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि चट्याङसहित मध्यम वर्षा र फाट्टफुट्ट भारी वर्षाको आकलन गरिएको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ।  

देशका पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुनाले धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू बिहीबार अघि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरेको छ।

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका हिमपहिरो र हिमआँधीको जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा नजान तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। 

“उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनुहुन तथा पर्यटकहरू उच्च हिमाली भूभागमा नजानुहुन, गएको भए पनि उक्त अवधिमा सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ।

महाशाखाले हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा र धादिङका हिमाली भूभाग, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका निम्ति ‘रेड अलर्ट’ जारी गरेको छ।

यस चक्रवातका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थानहरू एवं सडकको छेउछाउमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने हुनाले सबै निकायलाई पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन महाशाखाले अअनुरोध गरेको छ।  

कात्तिक ९, २०८३ सोमबार १७:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।