पार्टीको ह्वीप उल्लङ्घन गर्ने जसपा सांसद अम्बिका काफ्ले पदमुक्त, प्रदेश सभा सचिवालयद्वारा सूचना जारी

पार्टीको ह्वीप उल्लङ्घन गर्ने जसपा सांसद अम्बिका काफ्ले पदमुक्त, प्रदेश सभा सचिवालयद्वारा सूचना जारी

बुटवल : जनता समाजवादी पार्टी (जसपा), नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन्।

पार्टीको निर्णय र ह्वीप विपरीत कार्य गरेको भन्दै जसपाले गरेको कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले उनी पदमुक्त भएको सूचना जारी गरेको छ।

जसपाका अनुसार पार्टीले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणसहित निरन्तरता दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मुख्यमन्त्री आचार्यलाई समर्थन गर्न र १ भदौमा प्रदेश सभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न जसपाले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो।

तर, प्रदेश सभा सदस्य काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित रहेको संसदीय दलको आरोप छ। दलको निर्देशन उल्लङ्घन गरेपछि २ भदौमा उनीसँग स्पष्टीकरण माग गरिएको थियो। त्यसपछि ५ भदौमा २४ घण्टे स्पष्टीकरणको मौका दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ वा स्पष्टीकरण नदिएको जसपा नेपाल संसदीय दलले जनाएको छ। 

दलको निर्देशन उल्लंघन गरी सिंगो संसदीय दलको अवहेलना गरेको ठहर गर्दै जसपाले काफ्लेलाई दलबाट निष्कासन गर्ने र प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरेको थियो। सो निर्णयको पत्र जसपा संसदीय दलको कार्यालयले प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो।

हाल प्रदेश सभाको अधिवेशन चालु नरहेकाले सभामुखको निर्देशनमा कानुनी प्रक्रिया अघि बढाइएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हाे।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ। सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानुनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ।

भदौ २४, २०८३ बुधबार १८:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।