ग्रिन आर्मीको नाम र पोसाक खोसिँदै, कम्पनी रजिस्ट्रार कार्यालयले पठायो पत्र
काठमाडौं : स्वयंसेवक संस्थाको रूपमा विवादित नाम राखेर सुरक्षा संगठनको जस्तै क्यामोफ्ल्याग पोसाक प्रयोग गरेपछि विवादमा तानिएको ग्रिन आर्मी नेपालको नाम र पोसाक दुबै बदलिने भएको छ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उनीहरू ठ्याक्कै सुरक्षा संगठनका सदस्य जस्तै देखिने पोसाकसहित खटिएपछि विवाद सुरु भएको थियो। खोजबिनमा गृह मन्त्रालयको निर्णय विपरीत सेना राखेर संस्था दर्ता भएको र स्वीकृत भन्दा फरक रंगको पोसाक प्रयोग गरेको खुलेपछि सरकारी निकायले चासो दिएको थियो।
अन्तमा गृह मन्त्रालयको निर्देशनको आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयले नामबाट सेना शब्द हटाउन र प्रयोग भइरहेको कपडा सेनाको जस्तो नबनाउन पत्र पठाएको छ।
ग्रिन आर्मीका प्रमुख सविन शर्माले कम्पनी रजिस्ट्रार कार्यालयबाट पत्र आएको स्विकार्दै नाम र पोसाक बदल्ने तयारी भइरहेको बताए।
“हामीलाई सेनाको नाम हटाउन पत्र आएको छ । पोसाकको विषयमा त हामीले पहिले नै फेर्ने विषयमा छलफल गरिरहेका थियौँ,” उनले भने, “यस विषयमा के गर्ने हाम्रो छलफल भइरहेको छ।”
वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने भनेर गैरनाफामूलक संस्थाको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा यो दर्ता भएको थियो। शर्माले नाम परिवर्तनको विषयमा भदौ २२ गते पत्र आएको बताए ।
यसबारे सार्वजनिक भएपछि गृह मन्त्रालयले २०८३ भदौ २८ मा जिल्ला प्रशासन कार्यालय लाई ‘सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोसाक, संकेत, चिन्ह लगायत रहेको संस्था दर्ता वा नवीकरण नगराउन परिपत्र गरेको गरेको थियो।
यो संघ संस्था दर्ता ऐन अनुसार नभई कम्पनी कानुन अनुसार २०७७ भदौ ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको खुलेको थियो।
संस्थाको उद्देश्यमा ‘गाँसबासबाहेकका अन्य सामाजिक क्रियाकलाप र प्राकृतिक प्रकोपमा उद्धार’ भनी लेखिएको छ। उसले २०७७ माघ २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पोसाक स्वीकृतिका लागि निवेदन दिएर सैनिक मुख्यालयको सहमतीमै सैन्य र अर्धसैन्य संगठनले प्रयोग गर्ने जस्तै क्यामोफ्ल्याग पोसाक प्रयोग गर्न स्वीकृत पाएको थियो।
स्वीकृत पाएको नमुनामा चहकिलो हरियो रङ्गमा पातहरू रहेको भए पनि उनीहरूले सैन्य पोसाककै शैलीमा सिलाएर चहकिलो हरियोको ठाउँमा अँध्यारो प्रयोग गर्दा पातको चिन्हले पोसाकलाई सैन्य पोसाक जस्तै देखायो।
उनीहरूले सिलाई पनि सेनाकै शैलीमा गरेका थिए भने काँधमा राखिने दर्ज्यानी चिन्ह, छातीमा हुने नाम रहेको ट्याग र संस्थाको पदको नाम समेत सेना जस्तै राखेका थिए।
भदौ २४, २०८३ बुधबार २०:२२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
ग्रिन आर्मीलाई सैन्य शैलीको क्यामोफ्ल्याग लगाउन सेनाको साथ, गृह मन्त्रालयको समर्थन