४ कक्षा पढ्दा माओवादीले बन्दुक बोकाएर लगे, आज हुम्लामा जीवन बचाइरहेका छन् डा. उमाकान्त
डा. उमाकान्त तिवारी मेडिकल जनरलिस्ट (एमडीजीपी) चिकित्सक हुन्। हाल उनी हुम्ला अस्पतालमा कार्यरत छन्।
समग्र रोगको औषधिउपचार तथा परामर्शमा खटिनुपर्ने यो विधाका चिकित्सकलाई ‘घरपरिवारको डाक्टर’का रूपमा समेत चिनिन्छ।
उनै डा. उमाकान्तले चिकित्सा पेसाको सिलसिलामा देखे-भोगेका अनुभव उकेरासँग साटेका छन्:
‘चार कक्षामा पढ्दै माओवादीले बन्दुक बोकाएर लगे’
बाल्यकालको एउटा घटना सम्झँदा अहिले पनि डा. उमाकान्त तिवारी स्तब्ध हुन्छन्।
२०४६ सालमा जुम्लाको सिञ्जामा जन्मिएका उनी चार कक्षामा पढ्दाको त्यो घटना जीवनभर भुल्न सक्दैनन्। उनका बुवा त्यतिबेला सामान्य मजदुरीका लागि भारत गएका थिए।
त्यो बेला तत्कालीन विद्रोही माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वले उग्र रूप लिँदै गएको थियो। दैनिकजसो उनका घरमा माओवादीहरू आएर बस्ने र खाने गर्थे। अनि गाउँमा बढेका युवायुवती र वयस्क व्यक्तिहरूलाई लडाकु बनाउन लिएर जान्थे।
त्यो बेला गाउँमा माओवादीको जत्थाले ‘बन्दुक बोक्न जाउँ’ भनेपछि ‘नाइँ, जान्नँ’ भन्न सक्ने कसैको आँट हुँदैनथ्यो। सक्ने जति भागेर सहर पस्थे र लडाकु हुनबाट बच्थे।

भागेर जान नसक्नेहरूलाई माओवादीले लडाकु बनाएर लगिहाल्थे। बन्दुकको अगाडि कसैको केही चल्दैनथ्यो र माओवादीहरूले गाउँका धेरै जनालाई लडाकु बनाइसकेका थिए।
उमाकान्त पनि चार कक्षामा पढ्दा नै माओवादी लडाकुको निशानामा परिहाले। उनलाई सम्झना भएसम्म त्यो जेठ महिनाको कुरा थियो। बुवा भारतमै मजदुरी गर्थे। घरमा आमा, हजुरआमा, मसिना दुई बहिनी र एक जना भाइ थिए। उनी घरको जेठो सन्तान थिए।
उमाकान्त सुतिरहेका थिए। कसैले नदेखून् भनेर माओवादीको एक जत्थाले बिहानको राति ४ बजे नै उनलाई घरबाट उठाएर लिएर हिँड्यो। त्यो बेला चार कक्षामा पढ्ने उनी करिब ११ वर्षका मात्र थिए। उनलाई माओवादीले लडाकु बनाउन लिएर हिँडिहाल्यो।
त्यो लटमा गाउँका ३०-४० जनाभन्दा बढी युवालाई माओवादीले लिएर हिँडेको उनी सम्झन्छन्। दिनभर उमाकान्तको कलिलो हातमा बन्दुक बोकाएर हिँडाइयो। माओवादीको जत्थाले लगेपछि बेलुका एउटा घरमा बास बसाइयो।
बाल्य अवस्थाका उनी दिनभरको हिँडाइले गलेर लखतरान भएका थिए। खुट्टा सुन्निएका थिए, ज्यान गलेको थियो। त्यसैले उनी बास बसेको घरमा केही पनि नखाई भुसुक्कै निदाए।
भोलिपल्ट बिहान झिसमिसेमै उनी ब्युँझिए। ब्युँझिएर उठ्दा त बास बसेका घरका मान्छेहरू त्यति कलिलो उमेरका बालकलाई माओवादीले लगेको देखेर रोइरहेका थिए। तर, ती मानिसहरूको आँसुको के अर्थ! माओवादीहरूले बिहान झिसमिसेमै उनीलगायतको टोलीलाई लिएर फेरि बाटो लागे।
लगातार सात दिनसम्म उमाकान्तलाई बन्दुक बोकाएर हिँडाइयो। उनी रोए। लगातारको हिँडाइ र खानपानको अव्यवस्थाले उनको ज्यान थिलथिलो भयो। गह्रौँ बन्दुक बोक्न त्यो बेला निकै कठिन भएको उनी सम्झन्छन्।
धन्न, यो बालकले बन्दुक बोक्न सक्दैन भन्ने निष्कर्ष माओवादीहरूले निकालेछन्। जुम्लाकै रारालिही भन्ने ठाउँमा माओवादी शिविर रहेछ। उनलाई त्यहाँ बास बसाइयो र सातौँ दिनमा त्यही रारालिहीको शिविरबाट घर फर्कन छोडिदिए।
त्यसपछि खुसी हुँदै हिँडेर उनी घर आइपुगे। छोरो बाँचेर फर्किएको देख्दा आमा लगायत परिवारको खुसीको सीमा रहेन, परिवार खुसीले भावविह्वल भयो।
त्यसपछि पनि गाउँमा बस्ने स्थिति रहेन। सशस्त्र द्वन्द्व झन् चर्किँदै गयो। भारतबाट उनका बुवा पनि फर्किए। माओवादीले लगेको केही महिनापछि परिवारले त्यहाँबाट बसाइँ सर्ने निर्णय लियो।
दुःख गरेर उनका बुवाले कैलालीमा सानो घर बनाएका थिए। उमाकान्तलाई अझै सम्झना छ- २०५८ मंसिर २२ गते बिहानको राति नै उनको परिवार घरबाट निस्किएर कैलालीको टीकापुरतर्फ बसाइँ सर्यो। जतिबेला उनी १२ वर्षका भएका थिए।

गाउँमा पाँच कक्षासम्म पढेका उनले कैलाली सरेपछि एउटा सरकारी विद्यालयमा कक्षा ६ मा भर्ना भएर पढे। सात कक्षा पढेपछि भने काकाको साथ लागेर उनी २०५९ सालमा काठमाडौं आए र कीर्तिपुरस्थित जनसेवा माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भए।
बुवाले भारतमा मजदुरी गरेरै उनलाई पढाएका थिए। उनले २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। उनले एसएलसी दिएपछि २०६२/०६३ को जनआन्दोलन भयो र तत्कालीन माओवादी सशस्त्र विद्रोह पनि सकियो।
एसएलसीपछि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट उनले आईएस्सी गरे। अध्ययनमा अब्बल उनलाई डाक्टरी विषय पढ्ने रहर जाग्यो।
आफू चार कक्षामा पढ्दा माओवादीले बन्दुक बोकाएका ती दिनहरू सम्झिएर पनि उनलाई डाक्टर पढ्ने हुटहुटी चलेको थियो, किनकि त्यो उनको जीवन बाँचेर फर्किएको समय थियो। त्यसैले डाक्टर बनेर बिरामी बचाउने उनले अठोट लिए।
उनले एमबीबीएस अध्ययनका लागि तयारी गरेर प्रवेश परीक्षा दिए। मिहिनेतले उनलाई साथ दियो। सरकारी पूर्ण छात्रवृत्ति कोटामा नै उनले एमबीबीएस अध्ययन गर्ने मौका पाए।
त्यसपछि उमाकान्त त्रिभुवन विश्वविद्यालयअन्तर्गत भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा २०६५ मा भर्ना भए। २०७१ मा इन्टर्नसिपसहित उनको एमबीबीएस अध्ययन पूरा भयो।
सरकारी छात्रवृत्ति कोटामा पढेबापत उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा सरकारले खटाएको स्वास्थ्य संस्थामा काम गर्नुपर्ने थियो। त्यसअनुसार उनलाई कालिकोट जिल्ला अस्पतालमा खटाइयो।
कालिकोटमा करिब एक वर्ष काम गरेपछि उनी सरुवा भएर कैलालीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगे। त्यहाँ केही महिना काम गरेपछि उनी काठमाडौंको कीर्तिपुरस्थित विष्णुदेवी अस्पताल आएर काम गरे। त्यसपछि उनको दुई वर्षे छात्रवृत्ति करारको अवधि सकियो।
छनोटमा दुर्गममा उपचार गर्ने विषय
करार सकिएपछि उमाकान्तले स्वास्थ्य सेवा विभागमा मेडिकल अधिकृतका रूपमा करिब डेढ वर्ष काम गरे। त्यो बेला स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी थिए।
त्यसपछि डा. उमाकान्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७९ मा भर्ना भएर चिकित्सा शास्त्रको स्नातकोत्तर तह अध्ययन गर्न थाले। उनको छनोटको विषय ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपी)’ पर्यो। समग्र रोगको उपचार गर्ने यो विधा दुर्गम जिल्लाका लागि अझ बढी उपयोगी मानिन्छ।

डा. उमाकान्तले २०८१ मा तीन वर्षे एमडीजीपी पूरा गरे। यो पनि सरकारी छात्रवृत्तिमै पढेकाले उनी छात्रवृत्ति करारमा काम गर्न दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। त्यहाँ आफूले एमडीजीपीको कोर्स बनाएर पठनपाठनसमेत सुरु गराएको अनुभव उनले सुनाए।
त्यसपछि कर्णाली प्रदेश लोकसेवा परीक्षामार्फत २०८१ सालमै डा. उमाकान्त आठौँ तहको मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी सेवामा प्रवेश गरे। त्यसपछि उनी पोष्टिङ भएर सुर्खेत प्रादेशिक अस्पताल पुगे। सुर्खेतमा करिब नौ महिना काम गरेपछि उनी सरुवा भएर डेढ वर्षअघि हुम्ला प्रादेशिक अस्पताल पुगे।
हालसम्म उनी हुम्लामै अस्पताल प्रमुख र स्वास्थ्य कार्यालय प्रमुखको दोहोरो भूमिकामा कार्यरत छन्। स्वास्थ्य सेवा कार्यालय प्रमुख नै अस्पताल प्रमुख हुने चलन भएकाले उनी दुवै संस्थाको नेतृत्व सम्हाल्दै काम गरिरहेका छन्।
केही समयअघि अमेरिकाको एउटा विश्वविद्यालयमा गएर उनले नेपालको दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाबारे कार्यपत्रसमेत प्रस्तुत गरेका थिए।
विगत सम्झँदै उनी अहिले मनमनै सोच्छन्, ‘माओवादीले त्यतिबेला नफर्काएको भए कहाँ मरिन्थ्यो होला! तर धन्य, फर्काए र आज डाक्टर बन्न सकियो।
‘मृत्यु घोषणाका ल्याइएका एम्बुलेन्स चालक बाँचे’
डा. उमाकान्तले दुर्गमका धेरै बिरामीलाई बचाउन सफल भएका छन्।
हुम्लामा दैनिकजसो कथा नै बन्न सक्ने खालका बिरामी उपचारका लागि पुग्ने गरेको उनी बताउँछन्। त्यहाँ दैनिकजसो दुःख-पीडाका कथा बोकेका बिरामी पुग्छन्। तर, उपचारको सिलसिलाको एउटा प्रसङ्ग भने उनी कहिल्यै भुल्दैनन्।
प्रसङ्ग गत साउनको मात्रै हो। कर्णालीकै एउटा पालिकाका करिब ४६ वर्षका एम्बुलेन्स चालक दुर्घटनामा परेछन्। एम्बुलेन्स कच्याककुचुक भएको थियो।
दुर्घटनापछि गाउँलेहरूले उद्धार गरेर उनलाई अस्पताल त पुर्याए, तर ती चालक बाँच्ने आशा मारेर केवल ‘मृत्यु घोषणा’ गराउनका लागि मात्र अस्पताल ल्याइएको थियो।
त्यतिबेला अस्पतालमा डा. उमाकान्तको टिम ड्युटीमै खटिएको थियो। उनले घाइतेको स्वास्थ्य अवस्था जाँच गरे। छातीमा पूरै हावा भरिएर उनी सास फेर्न नसक्ने अवस्थामा थिए र पूर्ण रूपमा बेहोस थिए। हेर्दा घाइते चालक मृत मुढो जस्तै देखिएका थिए।
त्यसपछि चिकित्सकको टिमले तुरुन्तै ती चालकको छातीमा भरिएको हावा पाइपको माध्यमबाट बाहिर निकालिदियो।

हावा निस्किएपछि बिस्तारै घाइते चलमलाउन थाले र श्वासप्रश्वास देखिन थाल्यो। चिकित्सकको टिमले कृत्रिम श्वास दिएपछि मुटुको धड्कन फर्कियो र होस खुल्यो।
ती घाइतेलाई भोलिपल्टसम्म आकस्मिक तथा प्राथमिक उपचार गरेर हुम्ला अस्पतालमै राखियो।
प्रतिकूल मौसमका बाबजुद भोलिपल्ट दिउँसो जहाज आएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरियो। काठमाडौंमा करिब तीन महिना उपचार भएपछि उनको ज्यान बाँच्यो र उनी गाउँ फर्किए।
गाउँ पुगेपछि ती एम्बुलेन्स चालकले डा. उमाकान्तलाई फोन गरेर आफ्नो ज्यान बचाइदिएकोमा कृतज्ञ हुँदै भावुक बनेर रोएको उनी सम्झन्छन्। त्यो दिन हुम्लामा प्राथमिक र आकस्मिक उपचार नपाएको भए उनको ज्यान जाने निश्चित थियो।
मृत्युको मुखमा पुगेका ती चालकलाई बचाउन सकेको त्यो क्षण सम्झँदा डा. उमाकान्तलाई चिकित्सा पेसाप्रति बडो आनन्द र सन्तुष्टि मिल्छ।
भदौ ६, २०८३ शनिबार १२:५१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।