प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने छ। महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको छ। अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिसमेत मन्त्रिपरिषद्ले दिएको छ।

यस्तै, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए। 

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ।

त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

भदौ २५, २०८३ बिहीबार १७:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।