मन्त्री गौतमको प्रष्टीकरण- 'राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनेर बोलेकी छैन'

मन्त्री गौतमको प्रष्टीकरण- 'राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनेर बोलेकी छैन'

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाले कानुन बनाउन सहयोग नगरेको भनेर आफूले नबोलेको बताएकी छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारीन्।

जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो दल (राष्ट्रिय स्वतन्त्र पार्टी) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिको सभाको आजको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले आपत्ति जनाएका थिए।  

मन्त्री गौतमले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत हुँदैमा मात्रै कानुन नबन्ने भन्दै कानुन निर्माणको जटिल प्रक्रियाबारे मात्रै आफूले प्रस्ट्याउन खोजेको दाबी गरिन्।

“यहाँहरूलाई चोट पुग्ने गरी मैले केही भनेकी छैन, कानुन बनाउनु जटिल प्रक्रिया हो, राष्ट्रियसभाले कानुन बनाउन असहयोग गरेको भनेकी छैन, समाचार र सामाजिक सञ्जालमा तोडमोड गरेर आएका विषयले त्यस्तो परेको भए अब चोट नपुग्ने गरी नै बोल्ने छु, मैले बोलेको विषयमा जिम्मेवारी लिन्छु, नबोलेको विषयमा मैले भन्न सक्दिन, मैले बोलेको कुराले चोट पुगेको भए क्षमा चाहन्छु”, मन्त्री गौतमले भनिन्।

भदौ २५, २०८३ बिहीबार १६:४५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।