गगनको सन्देश : ‘पार्टी एकताका लागि नरम, कमजोरी सुधार्न निर्मम बन्छु’

गगनको सन्देश : ‘पार्टी एकताका लागि नरम, कमजोरी सुधार्न निर्मम बन्छु’

वालिङ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्न र सांगठनिक कमजोरी हटाउन आवश्यकताअनुसार नरम र निर्मम बन्न तयार रहेको बताएका छन्।

कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा बिहीबार आयोजित शोक सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई मजबुत बनाउनका लागि सभापतिको हैसियतले जिम्मेवार पूर्वक अगाडि बढ्ने बताए।

“पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु”, उनले भने, “नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ, त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु।”

पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोहीअनुसार अगाडि बढ्नका लागि लागिपर्ने उनले बताए। देशमा आइपरेका जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समस्या समाधान गर्दै आइरहेको बताउँदै उनले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताए।  

भदौ २५, २०८३ बिहीबार १५:३७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।