सप्तरीमा ७ सय रुपैयाँ अपुग हुँदा सडकमै बच्चा जन्माएको घटनामा रास्वपा सांसदले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं : आर्थिक अभावका कारण एक महिलाले अस्पताल परिसरबाहिरै फुटपाथमा बच्चा जन्माउनुपरेको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराजस्थित हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल पुगेको र आर्थिक अभावका कारण अस्पताल परिसरबाहिरै शिशु जन्माउन बाध्य भएको बताए।
उनले भने, "राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल जान्छिन्। अस्पतालले ३२ सयको बिल काट्न भन्छ तर उनीसँग २५ सय मात्र भएको जानकारी गराउँछन्। सात सय अपुग भएपछि उपचार गर्न आनाकानी गरेको थियो।"
सांसद कर्णले गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि त्यही अस्पतालमा आर्थिक अभावका कारण महिलाले सडकमा शिशु जन्माउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताए।
उनले स्वास्थ्य क्षेत्रमा सरकारले ठूला–ठूला कुरा गरिरहे पनि आर्थिक अभावका कारण महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताए।
"एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ, हामी चाहिँ स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ," उनले भने।
सांसद कर्णले उक्त घटनाले सप्तरीका गरिब, पीडित तथा दलित महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थासमेत उजागर गरेको भन्दै सरकारसँग जवाफ समेत मागेका छन्।
भदौ २५, २०८३ बिहीबार १४:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।