कानुन निर्माण ढिलाइबारे कानुनमन्त्रीको दाबीमा झाँक्रीको प्रतिवाद : ‘तथ्य सार्वजनिक गरौँ’

कानुन निर्माण ढिलाइबारे कानुनमन्त्रीको दाबीमा झाँक्रीको प्रतिवाद : ‘तथ्य सार्वजनिक गरौँ’

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा ढिलाइ हुनुमा राष्ट्रिय सभालाई दोष दिएको भन्दै कानुनमन्त्री सोविता गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले सरकारले आफ्नो कमजोरी र अयोग्यता लुकाउन सभामाथि दोष थोपर्न खोजेको आरोप लगाइन्।

मंगलबार कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन्। सोही अभिव्यक्तिको खण्डन गर्दै झाँक्रीले राष्ट्रिय सभामा हालसम्म दर्ता भएका, प्रतिनिधि सभाबाट आएका र राष्ट्रिय सभाले टुङ्गो लगाएका विधेयकहरूको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरिन्। 

उनले भनिन्, "कानुनमन्त्रीको अभिव्यक्तिको विषयमा ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियसभामा यो सरकारले कति कानुन दर्ता गर्यो? प्रतिनिधिसभाबाट कति कानुन प्रतिवेदनसहित आए र हामीले कति कानुनमा काम गर्यौँ, त्यसको विवरण राष्ट्रिय सभाले सार्वजनिक गरोस् र यस्तो झुटो खबर जनताको बीचमा पुर्याउने कानुनमन्त्रीलाई सरकारले कारबाही गरोस्।"

झाँक्रीले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भए त्यसको राजनीतिक जिम्मेवारी आफूहरूले लिनुपर्ने बताइन्। तर, राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व नभएको विषय देखाएर सरकारको कमजोरी ढाक्न नमिल्ने उनको भनाइ थियो।

"यदि हामीले कानुन रोकेका छौँ भने त्यसकाप्रति जनताले दण्डित हामीलाई गर्ने नै छन्। त्यसकारण राष्ट्रियसभाको हौवा देखाएर वा आफ्नो प्रतिनिधित्व छैन भन्ने देखाएर आफ्नो अयोग्यता छोप्ने छुट छैन," उनले भनिन् । 

झाँक्रीले कानुनमन्त्री संसद्को सदस्यसमेत भएकाले राष्ट्रिय सभाबारे दिएको अभिव्यक्तिप्रति सभाबाटै सार्वजनिक रूपमा माफी माग्न लगाउनुपर्ने मागसमेत गरिन्।

राष्ट्रिय सभा अध्यक्षबाट यस विषयमा रुलिङ हुनुपर्ने बताउँदै उनले भनिन्, "कानुनमन्त्री हाम्रो सम्पर्क लियाजो मन्त्री पनि हो। उहाँको अभिव्यक्तिप्रतिको सार्वजनिक माफी पनि सभाबाट नै माग्नको लागि राष्ट्रियसभाले रुलिङ गरोस् भन्न चाहन्छु।"

भदौ २५, २०८३ बिहीबार १४:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।